NP EN

प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपतिद्वारा आयोजित स्वागत समारोहमा

११ असोज (२०८१) न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो वाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ । 
स्वागत समारोहमा नेपालका प्रथम महिला राधिका शाक्य पनि सहभागी हुनुभयो । 
यसैगरी, संयुक्त राष्ट्रसङ्घको ७९औं महासभाका क्रममा संयुक्त राज्य अमेरिकी प्रथम महिलाद्वारा बुधबार आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी हुनुभएको छ ।
अमेरिकी राष्ट्रपति वाइडेनका पत्नी डा. जिल वाइडेनद्वारा आयोेजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री ओलीका पत्नी राधिका शाक्य सहभागी हुनुभएको थियोे । न्युयोर्कको म्यानहाटनसिटीमा आयोजित कार्यक्रममा महासभामा भाग लिएका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका प्रथम महिलाको सहभागिता रहेको थियो ।
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता
यसैगरी, प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घको ७९औं महासभाका अध्यक्ष फिलेमोन याङबीच भेटवार्ता भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयमा अध्यक्ष याङसँग भेट गर्नुभएको हो । 
भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ । भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित