NP EN

प्रधानमन्त्री ओलीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

२७ भदौ (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरिएको छ । यसैगरी प्रधानमन्त्रीसँग नेपाल सरकारका मुख्यसचिवले पनि  कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो । 
अनुसूचीसहित विभिन्न खण्डमा विभाजित कार्यसम्पादन सम्झौतामा सरकार गठन भएको पहिलो सय दिन (२०८१ कात्तिक ६ गतेसम्म)मा गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो सय दिन (२०८१ माघ १७ गते)सम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, आर्थिक वर्ष २०८१–०८२ को बाँकी अवधिमा गर्नुपर्ने काम र हासिल हुने उपलब्धिका विषय समावेश छन् । 
प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्ने योजना रहेको छ । लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्याङ्कन गर्न यस प्रकारको सम्झौताको पद्धति प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ भएको थियो ।
नेपाल बाहिर रहेका कारण आज अनुपस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसँगको कार्यसम्पादन सम्झौतामा पछि सम्पन्न हुने छ । 
कार्यसम्पादन सम्झौतापछि कार्यक्रमलाई सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढङ्गले पूरा गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ओलीले के काम गर्ने, के हासिल गर्ने भन्ने थाहा नभइकन कार्यालय आउने र जाने प्रथालाई अन्त्य गर्दै विगतमा आफू प्रधानमन्त्री हुँदा यस प्रकारको पद्धति बसालेको बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो– हामी टिम स्पिरिटमा काम गर्छौं, एकअर्कालाई सहयोग गर्छौं । लोकतन्त्र र जनताको हित गर्दै सुशासन र सुरक्षा कायम गर्न प्रतिबद्ध छौं भन्ने यी सम्झौतामा समावेश गरिएका छ । हामीले यस बमोजिम थप दृढताका साथ काम गर्नुपर्ने छ ।
उहाँले पूर्वमन्त्रीहरूसँगका काम लाग्ने अनुभवबाट पनि सिक्ने र सम्झौतामा नभएका तर देशका लागि गर्नुपर्ने देखिएका काम गर्न आग्रह गर्नुभयो ।

सम्बन्धित