NP EN

प्रधानमन्त्री ओलीसँग चीनका विदेशमन्त्री वाङको शिष्टाचार भेट

१० असोज (२०८१), न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुखहरू र शीर्ष नेताहरूले भेटवार्ता गर्नुभएको छ । 
यस क्रममा बिहीबार चीनका विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गर्नुभयो । 
भेटका अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको स्थापना हुनुभन्दा अगाडिदेखि नेपाल–चीन सम्बन्ध कायम भएको बताउँदै प्राचीन ऋषिमुनी र बौद्धमार्गीहरूले जनस्तरमा समेत सम्बन्ध विस्तार गरेको स्मरण गर्नुभयो । 
नेपालको समृद्धि र विकासका लागि चिनियाँ सहयोग महत्वपूर्ण हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा थप सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । 
चीनका विदेशमन्त्री वाङले नेपाल–चीनको पुरानो छिमेकी भएकाले आपसी सहकार्यलाई बढाउँदै नेपालको समृद्धिको यात्रामा सक्दो सघाउन चीन तयार रहेको बताउनुभयो । विदेशमन्त्री वाङ चीनको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिँदै हुनुहुन्छ । 
न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी हुनुुहुन्थ्यो । 
यसैगरी प्रधानमन्त्री ओलीसँग पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफ, कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानी, लाओसका प्रधानमन्त्री सेनोक्साइ सिफानदोनबीच भेटवार्ता भएको छ ।


सम्बन्धित