चिनियाँ जनमुक्ति सेनाद्वारा ‘गार्ड अफ अनर’ प्रस्तुत
१८ मङ्सिर (२०८१), बेइजिङ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज स्वागत गर्नुभएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी हुनुहुुन्थ्यो ।
प्रधानमन्त्री ओलीले समकक्षी लीलाई आफ्नो भ्रमण दलका सदस्यहरूको परिचय गराउनुभएको थियो । चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराउनुभएको थियो ।
नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर
यसैबीच दुबै देशका प्रधानमन्त्रीबीच भेटवार्ता सम्पन्न भएको छ । नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुईपक्षीय वार्तापछि उहाँहरूको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुबै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । त्यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौंको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्रको आदानप्रदानका भएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार विकास आयोजनासम्बन्धी सम्झौता, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको छ भने स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रूपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रवक्ता ढकालले भन्नुभयो– सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा सहकार्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकूद, प्राकृतिक प्रकोप व्यवस्थापन, दुई देशबीचको जनस्तरको सम्बन्ध, गरिबी निवारणलगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुनेछ ।
शहिदहरूको स्मारकमा पुष्पहार अर्पण
चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका शहिदहरूको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्री ओली यही मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुग्नुभएको हो ।
प्रधानमन्त्री ओलीलाई हिजो बेइजिङ पुग्नुहुँदा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सङ्घीय सांसद्हरू, मुख्यसचिवसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत हुनुहुन्छ ।
प्रधानमन्त्री र भ्रमण दलका सदस्यहरू बेइजिङस्थित सरकारी अतिथि गृह देउताइ स्टेट गेष्ट हाउसमा रहनुभएको छ ।