NP EN

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घको हानीनोक्सानी कोषका कार्यकारी निर्देशकद्वारा शिष्टाचार भेट

४ जेठ (२०८२), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको हानीनोक्सानी कोष (फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज)का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले आज शिष्टाचार भेट गर्नुभएको छ । 
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागी भएकामा धन्यवाद दिँदै हिमाल र वातावरणको रक्षा हुन नसके मानवीय जीवनमा असुरक्षा हुने भएकाले यसमा विश्व समुदायको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो । 
कतिपय ठूला धनी मुलुक पेरिस सम्झौताबाट पछाडि हट्न खोजेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालमा रहेको सगरमाथा र अन्य हिमालहरूको रक्षा नेपालका साथै विश्वका लागि उत्तिकै महत्वको सवाल भएको बताउनुुभयो । कार्यकारी निर्देशक  डाइओङले सगरमाथा संवादजस्तो महत्वपूर्ण सम्मेलन आयोजनाका लागि नेपाललाई बधाई दिँदै कोषका तर्फबाट आगामी दिनमा रकम परिचालन गर्दा नेपालजस्ता मुलुकलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
भेटका अवसरमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल र वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाललगायत सहभागी हुनुहुन्थ्यो । 
कोप–२७ को निर्णयका आधारमा जलवायु परिवर्तनको मार खेपिरहेका विकासोन्मुख मुलुकलाई सहयोग गर्न उक्त कोष खडा गरिएको हो । कोषको बोर्डमा पेरिस सम्झौतामा हस्ताक्षरकर्ता मुलुकबाट २६, विकसित  मुलुकबाट १२ र विकासोन्मुख मुलुकबाट १४ सदस्य रहनेछन् । अल्पविकसित मुलुकका तर्फबाट नेपालका वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. ढकाल बोर्डको आमन्त्रित सदस्य रहनुभएको छ ।

जापानका उपविदेशमन्त्रीद्वारा शिष्टाचार भेट

यसैगरी, प्रधानमन्त्री ओलीसँग सगरमाथा संवादका लागि नेपालमा रहनुभएका जापानका उपविदेशमन्त्री इक्युना आकिकोले शनिबार (जेठ ३ गते) शिष्टाचार भेट गर्नुभएको थियो ।
प्रधाननमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच समस्यारहित मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै जलवायु परिवर्तन अहिलेको समयको एक जल्दोल्दो समस्या भएकाले सगरमाथा संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युनालाई धन्यवाद दिनुभयो ।
प्रधानमन्त्री ओलीले अनुकूल पूर्वाधार निर्माण, वातावरणीय दिगोपना र विपद् जोखिम न्यूनीकरणमा जापानी अनुभव आफूहरूका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उपमन्त्री इक्युनाले आर्थिक विकास, शिक्षा, मानवीय स्रोत र वातावरण एवं संस्कृति संरक्षणमा जापानबाट हुँदै बहुपक्षीय र प्राविधिक सहयोग निरन्तर रहने बताउनुभयो । भेटका अवसरमा नेपालका लागि जापानी राजदूत माइदा तोरु, पराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।


प्रधानमन्त्रीसँग भारतका वनमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवले शुक्रबार (जेठ २ गते) शिष्टाचार भेट गर्नुभएको थियो ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा मन्त्री यादवले नेपालमा सगरमाथा संवाद कार्यक्रमका लागि आमन्त्रण गरेकामा धन्यवाद दिँदै सगरमाथा विश्वकै छानो भएकाले यसको सुरक्षामा सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संवाद कार्यक्रममा सहभागिता र उद्घाटन समारोहमा सन्देशयुक्त मन्तव्यका लागि मन्त्री यादवलाई धन्यवाद दिनुभयो ।
उहाँले हिमालहरूको रक्षा, डढाइएका छ्वालीको धुवाँबाट वातावरणीय असरका विषयमा नेपाल, भारत, बंगलादेशलगायत मुलुक मिलेर क्षेत्रीय खालका यस्ता सम्मेलन आयोजना गर्न प्रस्ताव गर्नुभयो ।
भेटका अवसरमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।


बंगलादेशका समाजकल्याण मन्त्रीद्वारा शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग बंगलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुर्सिदले शुक्रबार (जेठ २ गते) शिष्टाचार भेट गर्नुभएको थियो ।
नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमा बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउनुभएका मुर्सिदले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो । भेटका अवसरमा दुई देशबीच रहँदै आएको आपसी र मित्रवत सम्बन्ध र सहकार्यका विविध आयामबारे छलफल भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।


प्रधानमन्त्रीसँग विश्व बैँकका दक्षिण एसिया उपाध्यक्षद्वारा शिष्टाचार भेट
यस्तै,  प्रधानमन्त्री ओलीसँग विश्व बैँकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरले जेठ २ गते शिष्टाचार भेट गर्नुभएको थियो ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा हुँदै आएको सहकार्य, काठमाडौँमा जारी सगरमाथा संवादको सार्थकता आदि विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले नेपालको आर्थिक वृद्धि, गरिबी निवारण र नेपालीको जीवनस्तर उकास्न विश्व बैँकले गर्दै आएको महत्वपूर्ण सहयोगको प्रशंसा गर्दै उचित राजस्व परिचालन र विकासका खर्चका लागि प्रभावकारी व्यवस्थापन सरकारको प्राथमिकता रहेको सुनाउनुभयो ।
उहाँले उत्पादन र उत्पादकत्व वृद्धिका लागि थालेका काम सक्ने नीति अनुरूप आगामी बजेटबाट समयमा परियोजनाहरू सम्पन्न गर्ने गरी प्रबन्ध गरिने अवगत गराउनुभयो ।
उपाध्यक्ष रायसरले बैँकको सहकार्यको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्दै वातावरणीय मुद्धामा प्राथमिकता दिएर नेपालले सगरमाथा संवादको आयोजना गरेकामा सफलताको कामना गर्नुभयो ।
बैँकले नेपालमा यातायात, ऊर्जा, शिक्षा र स्वास्थ्यलगायत १९ क्षेत्रमा गरी दुई मिलियन अमेरिकी डलरको लगानी गरेको छ । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, बैँकका देशीय निर्देशक डेभिड एन सिस्लेनलगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित