NP EN

प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतको भेटवार्ता

२३ साउन(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरोपियन युनियनको सहयोगको प्रशंसा गर्नुभयो । 
प्रधानमन्त्री ओलीले राजदूत लोरेञ्जोलाई शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन लागिएको जानकारी गराउनुभयो । 
उहाँले विस्तृत शान्ति सम्झौताको मर्म, सर्वोच्च अदालतका आदेश, अन्तर्राष्ट्रिय अभ्यास र पीडितका विषयलाई केन्द्रमा राखेर बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक अघि बढ्ने प्रक्रियामा रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल र युरोपियन युनियनबीचको कूटनीतिक सम्बन्धको ५०औं वर्ष प्रवेशको स्मरण गर्दै नेपाल सन् २०२६ सम्ममा विकासशील र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेकाले  यसमा विकास साझेदारहरूको सहयोग अपेक्षित भएको बताउनुभयो ।
उहाँले लोकतन्त्र र मानव अधिकारको प्रत्याभूतिप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रही गरिबी निवारण र आर्थिक सामाजिक विकासमा क्रियाशील रहने स्पष्ट गर्नुभयो । 
राजदूत लोरेञ्जोले सरकारका प्राथमिकता र लक्ष्यहरू सफलतामा पुगुन् भन्ने कामना गर्दै प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

सम्बन्धित