७ मङ्सिर (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबीच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले दुई मुलुकबीचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको मानार्थ सेनापति हुन पाउँदा गर्वको महसुस गर्दै आफूलाई भाग्यमानी ठानेको बताउँदै दुई देशको सम्बन्धलाई थप विस्तारमा आफूले सक्दो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।