१२ मङ्सिर (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा दुईपक्षीय हित र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो ।
मन्त्री ताभियोले नेपालको जलविद्युत, फोहोरमैला व्यवस्थापन र पूर्वाधार विकासका क्षेत्रमा सहयोग बढाउन आफूहरू तत्पर रहेको प्रधानमन्त्री ओलीलाई अवगत गराउनुभयो ।
प्रधानमन्त्री ओलीले फिनल्याण्डबाट नेपालको विकासमा हुँदै आएको सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।
नेपाल र फिनल्याण्डको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षगाँठका अवसरमा मन्त्री ताभियोको नेपाल भ्रमण भएको हो ।