NP EN

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

१९ असार ( २०८२), मेड्रिड (स्पेन)  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी र प्रतिनिधिसँग अन्तरक्रिया गर्नुभएको छ ।

स्पेनको सेभियामा संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्त सम्मेलनसँग सम्बन्धित कार्यक्रम सकिएपछि हाल मेड्रिडमा रहनुभएका प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष ओलीसँग गएराति भेटघाट भएको हो ।

स्पेनका लागि नेपाली राजदूतको निवासमा भएको भेटमा एमाले निकट मञ्चका पदाधिकारीहरूले प्रधानमन्त्री ओलीलाई स्पेनमा स्वागत र सम्मानसहित प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालमा भइरहेको विकास र समृद्धिको यात्राको सफलताको कामना पनि गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले विदेशमा सिकेको ज्ञान, अनुभव र पुँजीलाई स्वदेशको विकास र समृद्धितर्फ प्रयोग गर्नेक्रम चलिरहेकाले नेपालमा फर्केर उपयुक्त पेसा व्यवसायमा संलग्न हुन आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले मुलुकमा स्थिरता र विकासका लागि दुई ठुला दलको सहकार्यमा वर्तमान सरकार बनेको स्पष्ट गर्दै आफूहरूबीच भएको समझदारीबमोजिम समय आउनु केही साता अघि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले विषम परिस्थितिमा पनि आफूहरुले मुलुकलाई राजनीतिक निकास र स्थायित्व दिँदै आएको विगतलाई स्मरण गर्दै आगामी दिनमा पनि सहज निकास दिइने बताउनुभयो ।

अहिलेको गठबन्धन र आफ्नो पार्टीभित्र बाहिर चर्चामा आएजस्तो कुनै समस्या र विवाद नभएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

भेटका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवम् एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाल, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, प्रवासी नेपाली मञ्च, अन्तरराष्ट्रिय कमिटीका सचिव एवं सङ्गठन विभाग प्रमुख हेम शेर्पा, युरोप महादेश कमिटीका संयोजक मुक्तबहादुर गुरुङ, मञ्चका स्पेन अध्यक्ष केदार ढुङ्गाना, मेड्रिड कमिटीका अध्यक्ष शिवराज सिग्देल र पोर्चुगलका अध्यक्ष दीपक क्षेत्रीलगायत सहभागी हुनुहुन्थ्यो ।

नेपाली दूतावास कार्यालयको निरीक्षण

प्रधानमन्त्री ओलीले स्पेनको मेड्रिडस्थित नेपाली दूतावास कार्यालयको निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले स्वागत गर्दै कार्यालयको गतिविधिबारे अवगत गराउनुभएको थियो ।

स्पेनमा हाल करिव १५ हजार नेपाली विभिन्न पेसा व्यवसायमा कार्यरत छन् । त्यस अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानीमन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले आज मेड्रिडस्थित प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । युरोपकै पुरानो मध्येको सो कला सङ्ग्रहालयका अध्यक्ष जाबियर सोलानेले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुभएको थियो ।

सङ्ग्रहालयमा युरोप र स्पेनका इतिहास, संस्कृतिसँग सम्बन्धित घटना क्रमलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । अवलोकनका क्रममा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानीमन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।

स्पेनको सेभियामा आयोजना भएको संयुक्त राष्ट्रसङ्घको विकासका लागि लगानीसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली मेड्रिडका कार्यक्रममा सहभागी हुनुभएको हो । प्रधानमन्त्री ओली शुक्रबार साँझ ५ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

रियल मेड्रिडको रङ्गशालाअवलोकन

प्रधानमन्त्री ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको आज अवलोकन भ्रमण गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रङ्गशालाको भ्रमण गराउनुभएको हो ।

उहाँले आफू रियल मेड्रिडको फ्यान रहेको उल्लेख गर्दै सुविधासम्पन्न रङ्गशाला देखेर खुसी लागेको प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्री ओलीलाई अन्तर्राष्ट्रिय निर्देशक मिगेलले क्लबको जर्सी उपहार दिनुभएको थियो । निर्देशक मिगेलले क्लबको तालिम र भर्नामा सहभागी हुन नेपाली विद्यार्थीलाई प्रोत्साहन  गर्नुभयो ।

रङ्गशाला अवलोकनका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानी मन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललगायत सहभागी हुनुहुन्थ्यो । 

सम्बन्धित