NP EN

प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षद्वारा शिष्टाचार भेट

१ जेठ (२०८२), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा चिनियाँ टोलीले यही जेठ २ गतेदेखि काठमाडौंमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबीचको लामो र मित्रवत सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताउनुभयो ।
उहाँले नेपालको विकास र समृद्धिका लागि चिनियाँ नेतृत्वको शुभेच्छा रहेको अवगत गराउँदै गत डिसेम्बरमा प्रधानमन्त्री ओलीबाट भएको चीनको औपचारिक भ्रमण सफल रहेको स्मरण गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि मित्रवत र समस्यारहित एवं हार्दिक सम्बन्ध रहिआएको उल्लेख गर्दै चीनले विकास र प्रविधिका क्षेत्रमा तीब्ररूपमा गरेको विकास र त्यसको विश्वव्यापी प्रभावबाट आफू प्रशन्न रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङको पछिल्लो नेपाल भ्रमणको स्मरण गर्दै उक्त भ्रमण बहुआयामिक र ऐतिहासिक रहेको बताउनुभयो । उहाँले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्याउँदै दुई देशबीच भएका सहकार्यका सम्झौताको कार्यान्वयनका लागि सबै पक्षबाट अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि चिनियाँ राजदूत चन सोङ र चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित