NP EN

प्रधानमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीद्वारा शिष्टाचार भेट

३२ साउन(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर बर्माले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको छ । 
सो अवसरमा प्रधानमन्त्री ओलीले अमेरिकी सरकारले नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि गर्दै आएको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्नुभयो । 
प्रधानमन्त्री ओलीले नेपालको विकासका विविध क्षेत्रमा सहयोगको अपेक्षा गर्नुभयो । 
नेपाल सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुङ्गो लाग्ने क्रममा रहेको प्रधानमन्त्रीले जानकारी गराउनुभयो । 
सो क्रममा उपमन्त्री बर्माले दुई देशबीचको विगत ७७ वर्षदेखिको दुईपक्षीय सम्बन्धको स्मरण गर्दै नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाको लागि खुसीको विषय भएको बताउनुभयो । 
उहाँले नेपालको संक्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेकामा बधाई दिनुभयो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, पराराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

 

सम्बन्धित