NP EN

प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेश

२५ भदौ (२०८१), काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को पछिल्ला दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले परिषद्को आर्थिक वर्षका २०७९÷०८० र २०८०÷०८१ को वार्षिक  प्रतिवेदन पेश गर्नुभएको हो । 
प्रधानमन्त्री ओलीले प्रतिवेदनमा समाविष्ट मुख्य विषयबारे प्रकाश पार्दै राष्ट्रिय÷क्षेत्रीय÷अन्तर्राष्ट्रिय सुरक्षा स्थिति र चुनौतीको विश्लेषण प्रतिवेदनमा गरिएको जानकारी गराउनुभयो । 
उहाँले प्रतिवेदनमाथि सङ्घीय संसद्बाट प्राप्त हुने सुझावलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहने स्पष्ट गर्नुभयो । 
कार्यक्रममा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो । 
परिषद्को यही भदौ ९ गतेको ३४ औं बैठकले ती प्रतिवेदनको मस्यौदामाथि छलफलसहित पारित गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित