NP EN

प्रधानमन्त्रीबाट माइती नेपालको अक्षय कोषका लागि रु. एक करोड सहयोग गर्ने घोषणा

२९ पुस (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयको आज स्थलगत अवलोकन गरी उक्त संस्थाको अक्षय कोषमा रु. एक करोड सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँगको छलफलपछि सरकारले नै गर्नुपर्ने काममा यस संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले अवलोकनमा क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउँदै सो संस्थाका काम र प्रयासप्रति प्रशंसा व्यक्त गर्नुभयो ।
उहाँले नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकामा सन्तोष व्यक्त गर्नुभयो ।
अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले संस्थामा उद्धार गरी ल्याइएका महिलाका लागि सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुललगायत स्थल पुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई आफूसँग पाउँदा त्यहाँस्थित प्रभावित महिला, बालबालिका र विद्यार्थीले गौरवबोध गर्नुभएको थियो ।

सम्बन्धित