NP EN

प्रधानमन्त्रीबाट मनसुनजन्य विपद् जोखिम न्यूनीकरण तयारीबारे विभाग पुगेर जानकारी

१३ जेठ (२०८२), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी लिनुभएको छ ।
यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान÷सूचना प्रवाह कसरी भइरहेको छ र यसलाई थप प्रभावकारी बनाई जनधनको क्षति कसरी रोक्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्री ओलीले चासो लिनुुभएको हो । 
विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले विभागको पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने सरल भाषामा प्रभावकारीरूपमा सम्प्रेषण गर्न निर्देशन दिनुभयो । 
विभागका सबै स्टेशनहरू तन्दुरुस्त हालतमा राख्न र अतिवृष्टि हुने खास क्षेत्रबारे स्थानीय तह, सुरक्षा निकाय र आमसञ्चारका माध्यमबाट समेत सुसूचित गरेर मानवीय र भौतिक क्षति हुन नदिनेतर्फ सचेत हुन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।
विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि असोज १४ गतेसम्म मनसुन अवधि हुने र गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराउनुभयो । विभागको कार्यालयमा स्थलगतरूपमा यसरी पहिलो पटक प्रधानमन्त्री तहबाट अवलोकन र अनुगमन भएको उल्लेख गर्दै उहाँले आफूहरूले उपलब्ध प्रविधि र स्रोत साधनको अधिकतम प्रयोग गरी पूर्वानुमानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
अवलोकनका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजालगायत सम्बन्धित उच्चाधिकारी सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित