२७ चैत (२०८१), अर्घाखाँची । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि तपोभूमि सम्मेलनको आज उद्घाटन गर्नुभएको छ ।
ऐतिहासिक पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले महर्षि पाणिनिलाई श्रद्धा र सम्मान गर्दै पाणिनि क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यान जाने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले उक्त स्थललाई धार्मिक र पर्यटकीय स्थलका रूपमा विकसित गर्न सरकार तत्पर रहेको बताउनुभयो ।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस्थिति रहेको छ । कार्यक्रम लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा भएको हो ।
विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य र तपोभूमि पाणिनिलाई विश्वसामु चिनाउन पाणिनि तपोभूमि सम्मेलन आयोजना गरिएको हो । अर्घाखाँचीको पणेना (हालको पाणिनि गाउँपालिका)मा सिद्धेश्वर दह नजिकै पाणिनि ऋषिले २८ दिनसम्म कठोर तपस्या गर्नुभएको थियो । पहिले सागपात, पछि जल र अन्तमा वायु मात्र सेवन गरेर गरेको तपस्याले महादेव प्रसन्न भई ताण्डव नृत्यका क्रममा डमरुको तालमा १४ माहेश्वर सूत्रहरू प्रदान गरेको किम्वदन्ती रहेको छ ।