२३ मङ्सिर (२०८१), झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको बताउनुभएको छ ।
भव्य जनसहभागितामा १०० मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने बताउनुभयो ।
विश्वका ठुला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गर्नुभयो ।
उहाँले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने कुरा अरुलाई गाली गरे जस्तो र सहकारी ठगीजस्तो नहुने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले भर्खर सम्पन्न चीन भ्रमण देशका लागि उपलक्धिपूर्ण भएको बताउँदै केही समयपछि भारत जाने जानकारी गराउनुभयो ।
झापाको दमक नगरपालिका–३, दापगाछीमा निर्माण गरिएको व्यापारिक कम्प्लेक्स मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्छ । सो कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजारको लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेकोे छ ।
उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी हुनुहुन्छ ।