२२ फागुन (२०८१), महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको आज उद्घाटन गर्नुभएको छ । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गर्नुभएको हो ।उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको बताउनुभयो । उहाँले औद्योगिक विकास र रोजगारी सिर्जनामा प्राथमिकता दिइने बताउनुभयो । प्रधानमन्त्री ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर देश बनाउन आएको बताउनुभयो । उहाँले हुलाकी राजमार्ग, सुनकोसी मरिन डाइभर्सनलगायतका योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री ओलीले उद्योग स्थापनाले चुलो चौकोमा सीमित रहनेहरूका लागि पनि सीपका साथै रोजगारी सिर्जना गर्ने बताउनुभयो । उहाँले आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यसले योगदान दिई आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयासबिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेकाले औद्योगिक विकास र रोजगारी सिर्जनामा प्राथमिकता दिइने जनाउनुभयो । उहाँले भन्नुभयो– अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन् । यसमा प्रदेश सरकारहरू पनि अघि सरुन् । प्रधानमन्त्रीले भन्नुभयो– अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन । उहाँले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिनुभयो ।आइएमई ग्रूपको यो उद्योग स्थापना भएसँगै नेपालमा पहिलो पटक नष्ट भएका कागजबाट नयाँ कागज उत्पादन भई आयात कम गर्न सहयोग पुग्नेछ । यस उद्योगले करिब तीन सय जनालाई रोजगारी दिनेछ । नेपालमा वार्षिक करिब डेढ लाख मेट्रिक टन कागज खपत हुने गरेको छ ।