८ चैत (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गर्नु भएको छ ।
नेकपा (एमाले)को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेको बताउनुभयो ।
राजनीतिको प्रमुख कार्यभार आर्थिक समृद्धि र रूपान्तरण
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका महासचिव शंकर पोखरेलले मुलुकको राजनीतिको प्रमुख कार्यभार आर्थिक समृद्धि र रूपान्तरण भएको बताउनुभयो ।
उहाँले अहिले भइरहेका प्रतिगामी हरकतको सामना गर्नुपर्ने भए पनि यो मुख्य विषय नभएको बताउनुभयो । ‘मुख्य विषय संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र मुलुकलाई आर्थिक, सामाजिक रूपान्तरणको दिशामा लिएर जाने हो’, महासचिव पोखरेलले भन्नुभयो ।
मुलुकका मुख्य चुनौती र बाधा के हुन् भन्ने बुझेर हाम्रा योजना त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिँदै उहाँले आर्थिक, राजनीतिक रूपान्तरणको मुख्य बाधक मुलुकमा विद्यमान अराजकता र राजनीतिक अस्थिरता भएको बताउनुभयो । यसले विकास र समृद्धिको आकाङ्क्षालाई अवरोध गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
मुलुक बनाउनको लागि राजनीतिक स्थिरता आवश्यक पर्ने बताउँदै महासचिव पोखरेलले भन्नुभयो– राजनीतिक स्थायित्वको अभावमा मुलुक बन्न सकेन, हाम्रो यथार्थ यही हो ।
अब नेपालमा धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दल आवश्यक रहेको र त्यसका लागि नेकपा (एमाले)लाई निर्णायक राजनीतिक शक्ति बनाउन आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।
राजनीतिक स्थायित्वबाट मात्र उद्योग व्यवसाय क्षेत्र पनि अघि बढ्ने महासचिव पोखरेलले बताउनुभयो ।
व्यावसायिक कृषि क्षेत्रको विकास गर्नुपर्नेमा जोड
नेपालको कृषि क्षेत्रलाई परम्परागत र निर्वाहमुखी बनाई रहँदासम्म नेपालका रोजगारी सिर्जना गर्न नसकिने उहाँको धारणा छ । नयाँ प्रविधिको प्रयोगबाट कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न सक्दा मात्र युवा पलायन रोकिने र देशमा उद्यम÷व्यवसाय प्रवद्र्धन गर्न सकिने बताउँदै महासचिव पोखरेलले भन्नुभयो– सबै क्षेत्रको विकासको निर्णायक कृषि क्षेत्र हो, मुलुकको आर्थिक, सामाजिक रूपान्तरणको आधार कृषि क्षेत्र नै हो ।
निर्वाहमुखी कृषिले युवालाई आकर्षण गर्न नसकिने बताउँदै उहाँले यसका लागि व्यावसायिक कृषि क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो । महासचिव पोखरेलले व्यवसायीलाई पनि कृषिमा व्यावसायीकरणका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।
आर्थिक, सामाजिक क्षेत्रमा परिवर्तनका सङ्केत
पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि जनताको निराशालाई आशामा परिणत गर्ने काम सुरु गरेको उहाँले बताउनुभयो । देशको आर्थिक, सामाजिक क्षेत्रमा बिस्तारै परिवर्तनका सङ्केत देखिएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । देशको आर्थिक, सामाजिक रूपान्तरणकै लागि देशका दुई प्रमुख पार्टीहरू मिलेका उहाँले बताउनुभयो ।
सरकार ढल्छ भनि प्रचार गरेर समाजमा अस्थिरताको खेती गर्ने काम भइरहेको भए पनि नेपाली कांग्रेस र एमालेका दुई प्रमुख नेता बीच समझदारी हुँदासम्म सरकार नढल्ने र अहिले उहाँहरू बीच राम्रो समझदारी रहेको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।
व्यवसायीहरूलाई लगानी गर्न आग्रह
देशमा व्यवसायी, औद्योगिक र लगानीमैत्री वातावरण बनाउने कुरामा अहिलेको सरकार लागेको र त्यही अनुसार विभिन्न अध्यादेश ल्याइएको उहाँले बताउनुभयो । उहाँले सरकार ठोस योजनाका साथ अघि बढ्ने बताउँदै सरकारले वातावरण तयार गरेकाले व्यवसायीहरूलाई लगानी गर्न आग्रह गर्नुभयो ।
२०८४ सालको निर्वाचनसम्म दुई पार्टीबीच मिलेर अघि बढ्ने समझदारी भएकाले त्यसमा कुनै तलमाथि नहुने उहाँले स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले अब संविधानमाथिको खेलबाड सम्भव नभएको स्पष्ट गर्दै प्रतिगमनकारीलाई जवाफ दिन संविधानको पक्षमा नेकपा (एमाले)ले देशैभरि कार्यक्रम गर्न लागेको बताउनुभयो ।