NP EN

प्रधानमन्त्रीद्वारा युवाका लागि उद्यमशीलता विकास गर्ने प्रतिबद्धता

२९ साउन (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाका लागि उद्यमशीलता विकास गर्न सरकारले योजना बनाइरहेको बताउनुभएको छ । 
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन–२०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन साना–साना उद्यमशीलताका कार्यक्रमसहित विकासको लहर ल्याउन सरकारले सोचिरहेको जानकारी दिनुभयो ।
देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरू विदेशिने क्रम चलेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेकाले युवाले यसका  लागि सोच्नुपर्ने बताउनुभयो । 
उहाँले हाल जनसङ्ख्या वृद्धिदर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवालाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनी रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउन सक्नुपर्ने बताउनुभयो । 
उहाँले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले हाम्रा बच्चाहरू अभिभावकबिहीन भएर सडकमा बस्न नमिल्ने स्पष्ट गर्नुभयो ।
सम्मेलनबाट पारित घोषणापत्रका विषयहरूलाई सरकारले कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले आगामी असोजमा हुने राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दा पनि घोषणापत्रका विषय प्रतिबिम्बित गर्ने जनाउनुभयो ।

सम्बन्धित