२३ भदौ (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिवहरू र दुवै सङ्गठनका प्रमुुखहरूसहित आज साँझ भएको छलफलमा प्रधानमन्त्री ओलीले ती कानुनलाई समयानुुकूल वस्तुनिष्ट बनाउनुपर्ने बताउनुुभएको हो ।
उहाँले मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न तथा सङ्गठनभित्र सानो तहदेखि माथिल्लो तहसम्मको सुविधासमेतलाई ध्यान दिएर प्रस्ताव ल्याउन आग्रह गर्नुभयो । ती दुबै कानुनलाई संशोधन गर्ने विधेयकको मस्यौदा रायका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पेस गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले आर्थिक र प्रशासनिक पक्षलाई अध्ययन गरेर छिटो विधेयक अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देश गर्नुभयो । ती दुबै विधेयक संसद्मा पेस गर्ने विषय सरकारको सय दिनभित्रको प्राथमिकतामा परेको छ ।
छलफलमा अर्थमन्त्री पौडेलले विधेयकलाई समग्ररूपमा अध्ययन गरेर छिटो निष्कर्ष निकालिने बताउनुुभयो भने गृहमन्त्री लेखकले प्रस्तावित विधेयक ल्याउँदा प्रहरी सङ्गठनमा ऊर्जा थपिनुका साथै मुुलुकको आर्थिक दायित्व बचत हुने स्पष्ट गर्नुभयो ।