७ चैत (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग आज टेलिफोन सम्वाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारबाट प्रधानमन्त्री ओलीले सम्वाद गरी सो आग्रह गर्नुभएको हो । जवाफमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रूपमा लिई पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोन कुराकानी गर्नुभएको थियो ।
आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराउनुभयो ।
सम्वादका क्रममा आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै दुई देशबीचको परस्पर सम्बन्ध विस्तारबारे कुराकानी भएको थियो ।