NP EN

प्रधानमन्त्रीद्वारा उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्न आग्रह

लुम्बिनी प्रदेशका मुख्यमन्त्री/मन्त्रीहरूसँग छलफल
२७ साउन (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।
सो प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरूसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगिकीकरण गर्दै त्यसको बजार विस्तार गर्न सुझाव दिनुुभएको हो । 
प्रधानमन्त्री ओलीले भन्नुभयो– अहिले समग्र अर्थतन्त्र ओरालो लागेको छ । भवन, कार्यालय आदि संरचनामा खर्च गरेर तत्काल उत्पादन वृद्धि हुन सक्दैन । हामीसँग ऊर्बर धर्ती, पानी र हावापानी छ ।  मेहनत गरेर उत्पादन र रोजगारी बढाउन सकिने धेरै आधारहरू छन् । यस्ता काममा हाम्रा राजनीतिक दलका सङ्गठन र कार्यकर्ता पनि लाग्नुपर्छ । तिनीहरूले जनतासँग नङ र मासुको सम्बन्ध बनाउनुपर्छ । हामीहरू नियुक्तिमा को जाने/नजाने खालको साना विषयमा अल्झनु हुँदैन । मुख्य कुरा, देशको विद्यमान समस्याको समाधान कसरी गर्ने भन्नेमा हाम्रो ध्यान जानुपर्छ ।
उहाँले अशुद्ध र विषादीयुक्त खाद्य पदार्थ/तरकारी आयात र निर्यात नगर्न ध्यानाकर्षण गराउनुभयो । 
अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्दै उहाँले एमाले र कांग्रेस मिल्दा पनि देश बनाउन नसकिए कस्ले बनाउँछ ? भन्ने प्रश्न गर्नुभयो । प्रधानमन्त्री ओलीले हाल घाटा बजेटमा सरकारहरू सञ्चालन भएकाले आफूहरूले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउने गरी काम गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्दा कसले कति भाग लिने भन्ने खालको विवाद नगरी सहमति/सहकार्य र जनताका लागि परिणाम दिने मुख्य विषयलाई ध्यान दिन पनि आग्रह गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले प्रदेशको राजधानी रुपन्देहीबाट दाङ सार्न बजेटको प्रबन्ध र समग्र पूर्वाधार विकासमा केन्द्र सरकारको सहयोगको अपेक्षा गर्नुभएको थियो । 
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित