NP EN

प्रधानमन्त्रीको चीन भ्रमण अत्यन्त सफल र उपलब्धिपूर्णः एमाले

२५ मङ्सिर (२०८१), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको ४१औं बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्यो । 
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले गत साता (२०८१ मङ्सिर १७ देखि २० सम्म) गर्नुभएको छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण र मङ्सिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा गरिएको छ । 
बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको चीन भ्रमण ऐतिहासिक रूपमा सफल भएको निष्कर्ष निकालेको छ । बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण फलदायी र सफल हुनुका साथै बीआरआई कार्यान्वयन फ्रेमवर्कमा भएको सहमति नेपालको दीर्घकालीन विकासका लागि निकै महत्वपूर्ण उपलब्धि हो भन्ने निष्कर्ष बैठकले निकालेको जानकारी गराउनुभयो ।  
सत्तामा रहेका दुई प्रमुख दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच बीआरआईका सन्दर्भमा भएको सहमतिले बीआरआईलाई निष्कर्षमा पुर्याउनका लागि निर्णायक भूमिका खेल्नुका साथै भोलिका दिनमा देशको परराष्ट्र नीति सञ्चालन गर्दा, हाम्रा बाह्य सम्बन्ध सञ्चालन गर्दा दिगोपन र राष्ट्रिय सहमति निर्माण हुने आधार पनि सिर्जना गरेको बैठकले निष्कर्ष निकालेको छ । 
सफल र उपलब्धिपूर्ण चीन भ्रमणका निम्ति प्रधानमन्त्री तथा पार्टी अध्यक्ष  ओलीलाई सचिवालय बैठकले बधाई ज्ञापन गरेको छ ।  
नेपाल र चीनबीच भएका सहमति दृढतापूर्वक, शीघ्र र प्रभावकारी कार्यान्वययन हुनुपर्छ, दुबै देश त्यसतर्फ लाग्नुपर्छ भन्ने मान्यतामा नेकपा (एमाले) रहेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । 
बैठकले स्थानीय तह उपनिर्वाचनको पनि समीक्षा गरेको छ । निर्वाचनमा नेकपा (एमाले)ले एक अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडाध्यक्ष गरी आठ पदमा विजय प्राप्त गरी तुलनात्मकरूपमा थप उपलब्धि हासिल गरेको छ । यति हुँदाहुँदै पनि यो परिणामलाई पार्टीले गम्भीरतापूर्वक लिएको जानकारी उपमहासचिव ज्ञवालीले गराउनुभयो । खासगरी शहरी क्षेत्रमा पार्टीले गरेको अपेक्षाका साथै समग्रमा निर्वाचनमा देखिएको मतदाताको मत परिवर्तन गर्ने प्रवृत्तिलाई गम्भीरतापूर्वक लिँदै जनप्रतिनिधिले जनताको मन जित्नेगरी काम गर्नुपर्छ भन्ने निष्कर्ष बैठकले निकालेको उहाँले बताउनुभयो । 

सम्बन्धित