NP EN

हामी पार्टीलाई सुदृढ राष्ट्रिय शक्ति बनाउने उद्देश्यका साथ अगाडि बढेका छौंः प्रधानमन्त्री

पोलिटव्यूरो बैठक सम्पन्न 

१९ भदौ (२०८१), काठमाडौं । नेकपा (एमाले)को पोलिटव्यूरो बैठक बार्षिक कार्ययोजनामाथि छलफल र विभिन्न समसामयिक प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको छ । 
बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज सम्पन्न भएको हो ।
हिजो र आज (भदौ १८ र १९) गते दुईदिन बसेको बैठकमा अध्यक्ष ओलीले दुबै दिन मुलुकको बदलिएको राजनीतिक परिस्थिति, सरकारका काम र पार्टीको आगामी कार्यभारका बारेमा सम्बोधन गर्नुभएको थियो । 
अध्यक्ष ओलीले पार्टीले अगाडि सारेको मिसन–२०८४ सफल बनाउन सिङ्गो पार्टीपङ्तीमाथि ठूलो   र महत्वपूर्ण अभिभारा रहेको स्मरण गराउँदै सोही बमोजिम एकताबद्धरूपमा पार्टी काममा जुट्न आग्रह गर्नुभएको थियो । 
अध्यक्ष ओलीले पार्टीलाई स्वतन्त्रतापूर्वक निर्णय गर्नसक्ने गरी सुदृढ, बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ हामी अगाडि बढेका छौं भन्नुहुँदै पार्टी राजनीतिक,वैैचारिक र सैद्धान्तिक रूपमा सुस्पष्ट रहेको बताउनुभयो । 
उहाँले सम्बोधनका क्रममा पार्टी शुद्धीकरण र सुदृढीकरणको प्रसङ्गमा विशेष जोड दिनुभएको थियो । 
बैठकमा महासचिव शंकर पोखरेलले यसबर्षका लागि तयार गरिएको बार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । 
बैठकमा बार्षिक कार्ययोजनामाथि छलफल गरिएको र यसक्रममा पोलिटव्यूरोका ५१ जना सदस्यहरूले आ–आफ्ना सुझाव राख्नुभएको थियो । कार्ययोजनामाथि आएका सुझावहरू समेटेर सचिवालय बैठकले कार्यान्वयनको निर्णय गर्ने भएको छ । 
कार्ययोजना पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित  
बार्षिक कार्ययोजना पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने योजनामा केन्द्रित रहेको छ । विगतमा पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण अभियान) का साथै ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने मान्यता अनुरुप पार्टीलाई जनस्तरमा स्थापित गर्नका लागि सम्पन्न गरिएको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’को विशिष्ट अनुभवसमेतका आधारमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यसहितको कार्ययोजना निर्माण गरिएको हो । 
बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण अन्तर्गत नेतृत्व विकास, स्थानीय तहसम्म जनसङ्गठन सुदृढीकरण र विस्तार, नयाँ पुस्तामा पार्टी काम, जनसम्बन्ध विस्तार र प्रवासमा समेत पार्टी कामलाई प्रभावकारी बनाउने विषयलाई विशेष जोड दिइने भएको छ । 
कार्ययोजनामा पार्टी सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण, नियमितरूपमा अधिवेशन आयोजना र व्यवस्थापन, पार्टी प्रवेश र पार्टीबाट बाहिरिएका÷विदा भएकाहरूको व्यवस्थापन, पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कन, विधिसम्मत रूपमा पार्टी कमिटीको परिचालन र अन्तरविरोधको व्यवस्थापन, स्थायी रूपमा पार्टी स्कुल सञ्चालन र अभियानका रूपमा प्रशिक्षण, सरकार र जनप्रतिनिधिको प्रभावकारी परिचालन, पार्टी कार्यालयको व्यवस्थापन र सञ्चालन, व्यवस्थित प्रचार कार्य र प्रचार सञ्जालको विस्तार, कामका नयाँ क्षेत्रहरूको खोजी र जिम्मेवारी नपाएका कार्यकर्ताको परिचालन, बजेट निर्माण र स्रोत परिचालन, पार्टी जीवनको शुद्धीकरण, आर्थिक, सामाजिक रूपान्तरण र जनचासोका विषय सम्बोधन लगायत रहेका छन् । 
हीरक बर्षका लागि तय भएका काम यस बर्ष सम्पन्न गरिने
कार्ययोजनामा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औं(हीरक)बर्ष समारोहका लागि तय भएका र बाँकी रहेका कामहरू यसबर्ष सम्पन्न गर्ने उल्लेख गरिएको छ । सो अनुसार नेपाली कम्युनिष्ट आन्दोलनको आधिकारिक इतिहास लेखनको कामलाई तिब्रता दिने, ‘शेल्टर’ पुस्तक प्रकाशन गर्ने, माक्र्सवादको सिर्जनात्मक प्रयोग र सम्बन्धित मुलुकका अनुभवहरूमा केन्द्रित रहेर भाइचारा कम्युनिष्ट पार्टी, श्रमिक पार्टी र बामपन्थीहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने, कम्युनिष्ट आन्दोलनका क्रममा ऐतिहासिक महत्व राख्ने स्थलहरूको संरक्षण र सम्बद्र्धन गर्ने काम पनि यसबर्ष सम्पन्न गरिने भएको छ ।  बैठकले समसामयिक महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ । प्रस्ताव यस प्रकार छन्ः

सरकारलाई सफलताका लागि शुभकामना
१.गत असार १७ गते मुलुकका मुख्य राजनीतिक शक्तिहरू नेकपा (एमाले) र नेपाली काङ्ग्रेस बीच भएको सातबुँदे सहमतिका आधारमा असार ३१ गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । दुई दल बीच राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउँदै अवरुद्ध विकास निर्माणलाई तिब्रता दिने, राष्ट्रिय हितको रक्षा गर्ने, सुशासन कायम गर्ने, जनतामा आशा भरोसा जगाउने र राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने समझदारी बनेको छ । सरकार गठन भएको डेढ महिनाको अवधिमा पुँजीबजारमा उत्साहजनक वृद्धि, लामो समयदेखि अवरुद्ध सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति र प्रमाणीकरण जस्ता उपलब्धिहरूले जनतामा  आशाको सञ्चार भएको छ । मुख्य राजनीतिक दल बीचको यस्तो सहकार्य र संयुक्त सरकारको निर्माण लोकतन्त्रमा यदाकदा मात्रै हुने राजनीतिक परिघटना हो । यससँगै थुप्रै जिम्मेवारी र जोखिम समेत जोडिएका छन् । लोकतन्त्र रक्षाको कठिन विकल्पका रूपमा निर्माण भएको यस सहमतिलाई पार्टी पोलिटब्युरो बैठक हार्दिक स्वागत गर्दछ र मुलुकमा विद्यमान समस्याको समाधानका लागि सरकारलाई सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछ ।

२.विभिन्न विचार, मत र दृष्टिकोण बीच रचनात्मक बहस हुने, राजनीतिक दलहरू बीच स्वस्थ प्रतिष्पर्धा हुने एवं  असहमति र विरोधलाई मर्यादित, संयमित एवं सभ्य ढङ्गमा प्रस्तुत गर्ने र उचित विषयलाई राज्यले सम्बोधन गर्ने कुरा लोकतन्त्रका आधारभूत विशेषताहरू हुन् । विभिन्न जातजाति, भाषाभाषी, धर्मावलम्बी र संस्कृतिका जनसमुदायका बीचमा सहअस्तित्व, सहिष्णुता, पारस्परिक सम्मान र सहयोग नेपाल राष्ट्रका चारित्रिक विशेषता तथा नेपाली समाजका अन्तरनिहित गुणहरू हुन् । पछिल्लो समय हाम्रा यी विशेषता र गुणहरूलाई कमजोर पार्ने, समाजमा अस्वस्थता, तिक्तता र नैराश्य भरिदिने एवं सामाजिक सद्भाव तथा एकतालाई कमजोर पार्ने प्रवृत्तिहरू देखापरेका छन् । अराजकता लोकतन्त्र होइन र असहिष्णुता सभ्यता होइन । पोलिटब्युरोको यो बैठक सामाजिक सद्भाव, रचनात्मक बहस र स्वस्थ प्रतिष्पर्धा जस्ता नेपाली समाजका विशेषताहरूको सम्बद्र्धन गर्न तथा लोकतान्त्रिक संस्कारको विकास गर्न लागिपर्ने सङ्कल्प गर्दछ र सम्बद्ध सबैलाई यसमा योगदान गर्न आह्वान गर्दछ ।
सबैलाई जिम्मेवार र संयमित बन्न आह्वान
३.कतिपय राजनीतिक दल एवं नेताहरूबाट अभिव्यक्त आवेगपूर्ण अभिव्यक्तिप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । सत्ता पक्ष होस् या विपक्ष, हामी सबै वर्तमान लोकतान्त्रिक प्रणालीका पक्ष नै हौं र यसको रक्षा, विकास र सफलता हामी सबैको दायित्व हो । मुलुकमा अनेकौं चुनौतीहरू छन् र यसलाई सामना गर्ने पनि हामी सबैको साझा दायित्व हो । भूमिका बदलिनासाथ मुलुकको अवस्थालाई हेर्ने दृष्टिकोण समेत बदल्ने द्वैध चरित्र लोकतान्त्रिक आचरणभित्र पर्दैन । यो बैठक मुलुकका सबै राजनीतिक दलहरूलाई जिम्मेवार र संयमित बन्न एवं देश तथा जनताप्रति उत्तरदायी भूमिकाका साथ अगाडि बढ्न आह्वान गर्दछ ।
सरकारप्रति जनताको ठूलो आशा र भरोसा
४.यस सरकारप्रति जनताको ठूलो आशा र भरोसा छ । यो बैठक सरकारलाई दुध उत्पादक किसानहरूको बक्यौता रकम तत्काल उपलब्ध गराउन, उखु किसानहरूका समस्या सम्बोधन गर्न, सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्न, सहकारीको रकम अपचलनमा सङ्लग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउन, जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछिको पुनर्निर्माणको कामलाई तिब्रता दिन, चाडबाडको मुखमा कालोबजारी, कृत्रिम अभाव र मिसावटका माध्यमबाट उपभोक्ताहरू ठगिने स्थिति अन्त्य गर्न, कर्णाली राजमार्ग लगायत बिग्रे भत्केका सडकहरूको यथाशीघ्र मरम्मत सम्भार गरी नागरिकहरूको आवागमन सहज र वस्तु तथा सेवाहरूको निर्बाध आपूर्ति गर्न तथा डेङ्गु प्रकोपलाई नियन्त्रण गर्न  ध्यानाकर्षण गर्दछ । 
केन्द्रीय विभागहरूका तर्फबाट तयार गरी गत साउन ४ गते सम्माननीय प्रधानमन्त्री समक्ष प्रस्तुत गरिएका पार्टीका सुझावहरू तथा ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’का क्रममा नागरिकहरूबाट प्राप्त गरी तत्कालीन सरकारलाई बुझाइएका मागहरूको योजनाबद्ध, प्रभावकारी र शीघ्र कार्यान्वयनका लागि पनि सरकारको ध्यानाकर्षण गर्दछ ।

५.यस वर्ष मुलुकमा बाढी, पहिरो, डुबान र हिमताल विस्फोटका घटनामा परी जनधनको ठूलो क्षति भएको छ । पोलिटब्युरोको यो बैठक प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दछ र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछ । विपद्जन्य घटनाहरू बढ्दै जानु, जलवायु सङ्कटले हिमाली क्षेत्रमा नसोचेका जोखिमहरू  थपिँदै जानु र ठूलो लगानी गरेर निर्माण गरिएका पूर्वाधार एवं नागरिकहरूको जिउधनको क्षति बढ्दै जानु गम्भीर चिन्ताको विषय हो । तसर्थ यो बैठक, जलवायु सङ्कटसँग जुध्न अन्तर्राष्ट्रिय सहकार्य बढाउन, विपत्तिको पूर्वसूचना एवं विपद् पूर्वतयारीका काममा अझ बढी ध्यान दिन एवं विपत्तिका कारण घरबारविहीन बन्न पुगेका नागरिकहरूको पुनस्र्थापनाका लागि सरकारको ध्यानाकर्षण गर्दछ ।

६.विगत केही समय यता हवाइ र सडक दुर्घटनाहरू बढ्दै गएकोप्रति बैठक गहिरो चिन्ता व्यक्त गर्दछ । केही समय अगाडि भएको सौर्य एयरलाइन्स तथा एयर डायनेस्टी हेलिकप्टर दुर्घटना तथा सिमलताल, ऐनाभिर लगायत विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी धेरै यात्रुहरूको ज्यान गएकोमा पार्टी गहिरो दुःख व्यक्त गर्दछ । मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यो बैठक हवाइ र सडक सुरक्षामा गम्भीर ध्यान दिन, नियामक निकायहरूको भूमिकालाई प्रभावकारी बनाउन, सडकहरूको मर्मत सम्भारमा लगानी वृद्धि गर्न र यात्रुहरूको सुरक्षाप्रति थप सम्वेदनशील बन्न सम्बद्ध निकायहरूको ध्यानाकर्षण गर्दछ ।
हिंसाको महिमामण्डन नगर्न आह्वान
७.केही दिन अगाडि पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं ५ डाँडागाउँमा आइतराज केरुङको घरमा द्वन्द्वकालमा बेवारिसे छाडिएको बम विस्फोटको त्रासद घटनामा परी दुई जना बालबालिका दिप्सन साँवा (वर्ष ११) र प्रिन्सा साँवा (वर्ष २) को निधन भएको घटनाबाट पार्टी असाध्यै दुखित भएको छ । ज्यान गुमाउनुहुने दुबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो बैठक परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ र घाइते बालकहरू पवन राई (वर्ष १३) र दिप्सन राईको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यस दुःखद घटनाले हिंसाको भयावहता र त्यसको असरले समाजलाई कति लामो समयसम्म आहत तुल्याइरहन्छ भन्ने  स्पष्ट पारेको छ । मुलुक सशस्त्र द्वन्द्वको पीडादायी अतितलाई बिर्सेर दिगो शान्ति, मेलमिलाप र नयाँ भविष्यतिर अगाडि बढ्न लागिरहेको सन्दर्भमा हिंसाको महिमामण्डन गर्ने, त्यसको औचित्य पुष्टि गर्न खोज्ने र हिंसाका अवशेषहरूलाई कायमै राख्ने काम कतैबाट पनि नगर्न आह्वान गर्दछ ।
सर्वोच्चको परमादेशविरूद्ध पुनरावलोकनमा जान ध्यानाकर्षण 
८.सर्वोच्च अदालतको २०८० पुस ३ गतेको परमादेशका कारण काठमाडौं उपत्यकाभित्रका नदी, सहायक नदी र खोला लगायतका तटीय क्षेत्रमा नक्सा पास गरी वैध संरचना बनाएर बसोवास गरिरहेका र व्यवसाय सञ्चालन गरिरहेका हजारौं परिवारहरू प्रभावित हुने, कतिपय धार्मिक– सांस्कृतिक– सामाजिक संरचनाहरू समेत हटाउनुपर्ने जटिल स्थिति देखापरेको छ । मुआब्जा दिएर ती संरचना खाली गराउन पनि वर्तमान अवस्थामा सम्भव देखिँदैन । यो बैठक सर्वोच्च अदालतको उक्त परमादेशका  दूरगामी र जटिल असरलाई ध्यानमा राख्दै यसको पुनरावलोकनका लागि आवश्यक कानुनी प्रबन्धका निम्ति सरकारको ध्यानाकर्षण गर्दछ ।
९.हालै मित्र राष्ट्र बङ्गलादेशमा विकसित घटनाप्रति पार्टीको गहिरो ध्यानाकर्षण भएको छ । पोलिटब्युरो बैठक बङ्गलादेश छिटै सामान्य लोकतान्त्रिक प्रक्रियामा फर्कने, त्यहाँका जनताले आफ्नो भविष्यको फैसला आफै गर्न सफल हुने र त्यहाँ राजनीतिक स्थायित्व, शान्ति र सामाजिक सद्भाव स्थापित हुने विश्वास गर्दछ ।
शान्तिपूर्ण समाधान नखोजिनु दुःखद
१०.प्यालेस्टाइनको गाजा क्षेत्रमा भएको हिंसा र प्रतिहिंसाको शृङ्खलामा परी ४० हजार भन्दा बढी नागरिकको ज्यान गएको, हमाशको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी लगायत बन्धकहरूको अझै पनि सुरक्षित रिहाई हुन नसकेको र त्यसले भयावह मानवीय सङ्कट निम्त्याउँदै क्षेत्रीय द्वन्द्वको समेत आशङ्का बढ्दै गएकोप्रति बैठक गहिरो चिन्ता व्यक्त गर्दछ । यो बैठक तत्काल युद्धविराम गर्न, मानवीय सहायता उपलव्ध गराउन र ‘दुई राज्य समाधान‘ को विकल्प मार्फत् यस द्वन्द्वको दिगो समाधान खोज्नुपर्ने पार्टीको पूर्वस्थापित मान्यतालाई पुनः दोहोर्याउन चाहन्छ ।

११.तेस्रो वर्ष प्रवेश गरिसक्दा समेत रुस– युक्रेन युद्धको शान्तिपूर्ण समाधान नखोजिनु दुःखद विषय हो । यस युद्धमा परी हजारौंको ज्यान गएको छ, अर्बौंको भौतिक क्षति भएको छ भने युक्रेन शक्ति राष्ट्रहरूको छद्म युद्ध (प्रोक्सी वार)को शिकार बनिरहेको छ । यस युद्धमा विभिन्न कारणले सङ्लग्न हुन पुगेका ४० भन्दा बढी नेपाली युवाहरूको समेत ज्यान गइसकेको छ र केही युद्ध बन्दी बनाइएका छन् । यो बैठक रुस– युक्रेन बीच शीघ्र युद्धविराम गर्न, यसलाई छद्म युद्धको थलो नबनाउन, विभिन्न कारणवस रुसी सेनामा भर्ती हुन पुगेका नेपाली युवाहरूलाई स्वदेश फर्काउन र युक्रेनमा बन्दी बनाइएका नेपाली युवाहरूलाई रिहा गर्न माग गर्दछ ।
१२.यो बैठक जारी पेरिस प्याराओलम्पिकमा नेपाललाई पहिलो ऐतिहासिक कास्य पदक दिलाउने पलेशा गोबर्धनलाई हार्दिक वधाई ज्ञापन तथा उहाँको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्दछ ।
१३.नेपाली महिलाहरूको महान चाड तीजको सुखद अवसरमा यो बैठक देश र विदेशमा रहने सबै नेपाली दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।

सम्बन्धित