२७ फागुन (२०८१), विराटनगर । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह सम्पन्न भएको छ ।
समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आम युवा विद्यार्थीलाई पलायन हुने नभई देश निर्माणमा लाग्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले देश र जनताका लागि ईमान्दारीपूर्वक सेवा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयमा आर्जेको ज्ञान देशकै हितमा लगाउनुपर्ने र त्यसका लागि सहज वातावरण बनाउन सरकारले सम्पूर्ण रूपमा प्रयत्न गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले विश्वविद्यालयको विकासका लागि सङ्घीय सरकारको पूर्ण साथ र सहयोग रहने बताउनुभयो ।
दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा कला सङ्कायका २०४, कानुनका ४०७, शिक्षाशास्त्र सङ्कायका ९०६, व्यवस्थापन सङ्कायका दुई हजार २४९, चिकित्साशास्त्र सङ्कायका दुई हजार १९८, विज्ञान तथा प्रविधि सङ्कायका ६५४ तथा इन्जिनियरिङ सङ्कायका एक हजार ४४२ विद्यार्थी रहेका छन् ।