NP EN

नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति

२९ भदौ(२०८१), काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति भएको बताउनुभएको छ ।
ज्यापु समाज यलको ३१औं वार्षिकोत्सव तथा ११औं साधारणसभाका अवसरमा आज ललितपुरको मङ्गलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेवाः संस्कृतिकै कारण नेपाल सांस्कृतिक हिसाबले सम्पन्न भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेवार समुदायमा पाइने खानाका अनेकौं परिकार, मन्दिरहरूका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यता गरिमायुक्त रहेको बताउँदै संस्कृति र सभ्यता बिग्रिएमा सयौं वर्षसम्म पनि बनाउन नसकिने उल्लेख गर्नुभयो । 
प्रधानमन्त्रीले भन्नुभयो– राजनीतिक र आर्थिक स्थिति बिग्रिएमा केही वर्षमा बनाउन सकिन्छ । संस्कृति र सभ्यता बिग्रिएमा फेरि जगेर्ना गर्न सकिँदैन । हाम्रो संस्कृति र सभ्यता अमर रहोस् भनेर ज्येष्ठ नागरिकहरूले कामना गरिरहनुभएको छ । संस्कृति र सभ्यतालाई युवा पुस्तामा पुस्तान्तरण गर्दै जानु हामी सबैको दायित्व हो । यस दायित्वमा ज्यापु समाजको योगदानलाई म धन्यवाद भन्न चाहन्छु ।
प्रथम महिला राधिका शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्यापु समाजका सदस्य रहेर समाजका विभिन्न पेशा र क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तित्वहरूलाई सम्मान गर्नुभएको थियो ।

सम्बन्धित