केपी शर्मा ओली
प्रधानमन्त्री
आज खुशीको कुरा हो । पहिलो फ्लाईओभर नेपालमै पहिलो पटक निर्माण भएको छ र आज सफलतापूर्वक उद्घाटन भएको छ । अब ग्वार्कोमा सवारी जामलगायतका समस्याहरू समाधान हुने छन् वा अब समाधान भएका छन् ।
यस अवसरमा म सबै साथीहरूलाई बधाई र धन्यवाद भन्न चाहन्छु । खासगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागल, ठेकदार कम्पनीलगायत सम्पूर्ण यसमा योगदान पुर्याउने महानुभावहरू सबैलाई धन्यवाद भन्न चाहन्छु ।
अघि ठेकदार कम्पनीको तर्फबाट भन्नुभए जस्तै, निर्माणमा केही बिलम्ब पनि भयो, यसमा समझदारी राख्ने दिदीबहिनी तथा दाजुभाइ सबैप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु र धन्यवाद भन्न चाहन्छु ।
नेपालमा यस प्रकारको काम अत्यन्त सफलताका साथ भएको छ । पहिलो अनुभव, पहिलो प्रयास, लगभग समयमै भन्नुपर्छ, सिध्याउनु भएकोमा ठेकेदार कम्पनीलाई म विशेष धन्यवाद भन्न चाहन्छु । उहाँहरूलाई हामीले प्रशंसा गरेका छौं । प्रशंसा उपयुक्त छ भन्ने लाग्छ ।
हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौं । हिजो मात्रै एउटा समाचार आयो, आज अखबारहरूमा व्यापक महत्वका साथ स्थान पायो । दैलेखमा नेपाललाई ५० वर्ष कमसेकम पुग्ने मिथेन ग्यास पत्ता लाग्यो । तीन वटा कुवामध्ये एउटा कुवाबाट ११२ अर्ब घनमिटर अर्थात् नेपाललाई ५० वर्षसम्म पुग्ने गरी ग्यास रहेको पाइएको छ । यो खुशीको खबर पनि हामीले थाहा पायौं, जुन कुरा यो फ्लाइओभर सुरु गरे जस्तै त्यसको पनि सुरुवात मैले नै गरेको हुँ ।
हामी धौवादी फलाम कारखाना अगाडि बढाउँदै छौं । धौवादी फलाम कारखाना सम्पन्न हुने बित्तिकै हामीले नेपाललाई सयौ वर्षलाई पुग्ने फलाम, स्टिल आदि कारखानाहरू यहाँ स्थापना गर्नेछौं र प्रशोधन कारखाना स्थापना गर्नेछौं । त्यसले देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउने छ ।
दैलेखको मिथेन ग्यासको उत्खनन हुनेछ, प्रोडक्सन हुनेछ र त्यसले विदेश जाने मुद्रा नेपालमै रहन्छ, विदेशबाट अप्रशोधित खालका अथवा कम प्रशोधित, कम गुणस्तरका चिजहरू हामीले ल्याउनुपर्ने छैन । हामीलाई त्यहाँबाट ठूलो आर्थिक लाभ हुनेछ । धेरैले रोजगारी, धेरैले काम नेपालभित्र पाउनेछन् । यस्तै गरेर अरु कारखानाहरू, अरु खनिजहरूको पनि हामी उद्घाटन गर्नेछौं । यतापट्टि पनि हामी काम गरिरहेका छौं ।
कृषिको आधुनिकीकरणतर्फ त्यसैगरी व्यापक रूपमा हामी काम गरिरहेका छौं र कृषिको आधुनिकीकरण भइराखेको छ । देश एउटा नयाँ चरणमा प्रवेश गरिरहेको छ । यो अर्को पक्ष छ ।
उद्योगतर्फ पहिलेभन्दा धेरै उद्योगहरू अहिले स्थापना भएका छन् र अगाडि बढिरहेका छन् । परम्परागत उद्योगहरू कतिपय उद्योगहरू स्वाभाविक रुपमा नचलेका होलान् । ती कतिपय उद्योगहरू आउटडेटेड पनि भए, कतिपय आउटडेटेड नभएका उद्योगहरू चल्दै छन् । म्याग्नेसियम उद्योग, त्यसलाई अहिले फेरि हामी सञ्चालन गर्ने प्रयासमा अगाडि बढिरहेका छौं । त्यो म्याग्नेसियम उद्योगलाई पनि हामी अगाडि बढाउने छौं ।
बाटाघाटाको सन्दर्भमा भन्ने हो भने हुलाकी राजमार्गले तराईको दक्षिणी मुहार फेर्दै छ, सिङ्गै तराईको मुहार फेर्दैछ । केही केही पुलहरूमा समस्या भएको छ । केही केही निकुञ्जका कारणले बाटो अलिकति तयारी हुन सकेको छैन । त्यो केही समयभित्र तयारी गर्नेछौं र मेचीदेखि महाकालीसम्मको सिङ्गै तराईको त्यसले कायाकल्प गर्ने छ । ठूलो परिवर्तन ल्याउने छ । हामीले ठूलाठूला सिंचाइ आयोजनाहरूको काम गरेका छौं । सुनकोशी मरिन डाइभर्सन र तराईका विभिन्न जिल्लाहरू खासगरी पाँच वटा जिल्लामा एक लाख ८५ हजार बिगा अथवा एक लाख २२ हजार हेक्टर जमिन सिंचाई गर्ने र तराईमा एक बाली लाग्ने ठाउँमा तीन बाली लगाउने र उत्पादनलाई डबल भन्दा बढीका दरले बृद्धि गर्ने त्यो काम पनि हामी गर्दैछौं । अरु त्यस्ता अनेक कामहरू हामी अगाडि बढाइरहेका छौं ।
सामाजिक क्षेत्रमा, शिक्षाको क्षेत्रमा, स्वास्थ्यका क्षेत्रमा काम भइरहेका छन् । हामी अस्पतालहरू बनाइरहेका छौं । अहिले अस्पतालहरूको अवस्था पहिलेको जस्तै छैन । तसर्थ यस स्थितिलाई हामीले सामान्य रूपमा होइन, एउटा देशले गति लिन चाहेको, फड्को मार्न चाहेको अवस्थाका रूपमा हामी बुझिरहेका छौं र त्यसलाई त्यसरी नै अगाडि बढाइरहेका छौं ।
मदन भण्डारी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) राजमार्ग, एसियाली स्ट्यान्डरमा पूर्व–पश्चिम राजमार्गलाई विकास गर्ने, चार लेन, छ लेनको हाइवेको रूपमा त्यसलाई विकास गर्ने, यी कामहरू हामी गरिरहेका छौं ।
यसरी हामी बहुआयामिक ढङ्गले र चौतर्फी ढङ्गले देशको विकास गरिरहेका छौं र गर्दै जानेछौं । म सबै दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु, एउटा क्षेत्रमा मात्र हैन, अनेक क्षेत्रमा त्यसो गर्दैछौं, विकास गर्दै छौं ।
यो चक्रपथ विस्तार गर्ने कुरा, यसको कलङ्कीदेखि महाराजगञ्जसम्मको दोस्रो फेजलाई विस्तार गर्ने कुरामा, त्यस्तै अन्य ठाउँमा पनि फ्लाइओभर, ओभरपास वा अन्डरपास दुईवटै प्रकारका तरिकाहरूबाट हामी ट्राफिक जामलाई अन्त्य गर्ने कोसिस गरिरहेका छौं । यो कुरामा आम नेपाली जनताले देखिरहनु भएको छ, बुझिरहनु भएको छ, देश विकासको बाटोमा कसरी अगाडि बढ्दै छ ।
केही केही मान्छेहरूलाई विकास भयो भन्ने कुराको पनि पीर र चिन्ता छ । म कसैले पनि विकास भयो भन्ने कुरामा पीर चिन्ता नलिनका लागि आग्रह गर्न चाहन्छु । देश विकास गर्नुपर्छ, देश विकास हुँदैछ, देश विकास गरिने छ । गाउँ तहदेखि नगर तहदेखि लिएर प्रदेश र केन्द्रीय तहसम्म सबै तहबाट सङ्घीय तहदेखि तीनवटै तहका सरकारहरू विकास निर्माणका काममा केन्द्रित हुनुपर्दछ । जनताको जीवनमा परिवर्तन ल्याउने कुरामा केन्द्रित हुनुपर्दछ । विकास अगाडि बढाउने कुरामा राजनीतिक दल र जनप्रतिनिधिहरूले अगुवाई गर्नुपर्दछ । त्यसै गरेर प्रशासन, सरकारका विभिन्न निकायहरू विकास र सुशासनकेन्द्रित भएर अगाडि बढ्नुपर्दछ । यो आजको समय हो र आजको समयको माग यो हो । हामी यसअनुसार अगाडि बढ्दै गइरहेका छौं र बढ्दै जाने छौं । यसरी बढ्दै जानका लागि म सबैसँग आग्रह पनि गर्न चाहन्छु ।
हामीले कुनै पनि हालतमा आपूmमा निराशा पैदा गर्नु हुँदैन । असन्तुष्टि र निराशा होइन, हामीले आशावादिताका साथ गर्न सक्छौं, हामी आफैँले गर्न सक्छौं । यो चक्रपथ चौडा गर्यौं, फ्लाइओभर बनायौं । यी फ्लाइओभर लगायत विकास निर्माणको सफलतामा हामी चियर गर्छौं । यस्ता सफलताहरू हामी पाउँदै जान हामी काम गर्दै जानेछौं ।
म यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । यो एउटा महान् सफलता भएको छ । यस्तै सफलताहरू हामी अरु ठाउँमा पनि विस्तार गर्दै जानेछौं । विभिन्न देशका विभिन्न भागमा पुलहरू बनाउँदै गएका छौं । बाटाहरू बनाउँदै गएका छौं । प्राकृतिक विपत्ति आउने, कहीं बाढी जाने, कहीं पहिरो जाने र फेरि भत्काउने गरिरहेको छ । तर हामी हार मान्दैनौं । त्यसलाई अझ बलियो गरी बनाउँछौं र हाम्रो देशलाई सुगम देशमा परिणत गर्छौं । दुर्गम देशबाट सुगम देशमा हामीले परिणत गरिसकेका छौं ।
खानेपानीको समस्या देशभरि थियो । देशभरि डाँडाडाँडामा खोलाको पानी पम्पिङ विधिबाट हामीले पुर्याएका छौं । आज स्कुल, कलेज, अस्पतालहरू गाउँ गाउँमा पुर्याएका छौं । युनिभर्सिटीहरू आवश्यकता अनुसार सञ्चालनमा ल्याएका छौं । एम्बुलेन्स सेवा विस्तार गरिरहेका छौं र यी सबै कुराहरू पूर्वाधारका पहिलो सर्त हुन् । सञ्चार, विद्युत यी क्षेत्रहरूमा हामी काम गरिराखेका छौं । त्यसकारण म दाजुभाइ दिदीबहिनीहरू यहाँहरूलाई आग्रह गर्न चाहन्छु, देश विकासका काममा सरकारले अगुवाई गर्ने छ, यहाँहरूको साथ पाउने अपेक्षा गर्दछ । सरकार लागिरहेको छ र हाम्रो ब्युरोक्रेसीलाई म धन्यवाद भन्न चाहन्छु, ब्युरोक्रेसीका प्रयासहरू, इन्जिनियरहरू, कामदारका प्रयासहरू जुन कामदारहरूले यस काममा योगदान गर्नु भएको छ, सबै प्रकारका योगदानकर्ताहरूलाई म धन्यवाद भन्न चाहन्छु । धन्यवाद ।
(प्रधानमन्त्री ओलीले २०८२ असार ६ गते ललितपुरको ग्वार्कोमा निर्माण गरिएको फ्लाइओभरको उद्घाटन कार्यक्रममा गर्नुभएको सम्बोधन)