NP EN

नेपाल न्यायोचित राष्ट्रिय हितका पक्षमा छः प्रधानमन्त्री

७ माघ (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको बताउनुभएको छ । 

नेकपा (एमाले) परराष्ट्र मामिला विभागद्वारा आज आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद सम्वाद’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष ओलीले साना र ठुला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभिमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने जनाउनुभयो ।
‘हामी हाम्रो राष्ट्रिय हितका कुरा गरिरहँदा विश्व शान्ति र मानवीय हितलाई पनि सँगै राखेर हेर्ने गर्छौं । संयुक्त राष्ट्रसङ्घको वडापत्र, पञ्चशील र असंलग्नताका सिद्धान्तबाट हामी निर्देशित छौँ । हामी पारस्परिक लाभ र सहअस्तित्वमा विश्वास गर्छौं’, प्रधानमन्त्री ओलीले भन्नुभयो– हाम्रा कोही शत्रु छैनन्, सबै हाम्रा मित्र हुन् भन्ने भावका साथ हामीले वैदेशिक सम्बन्ध कायम गर्छौं । भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम हामी गर्दैनौँ । राष्ट्रिय हितको रक्षा गर्न भूराजनीतिक परिस्थितिलाई हामी सन्तुलितरूपमा सामना गर्न सक्छौँ । छिमेकी देशसँग उत्ताउलो नभईकन खुलस्त र मित्रतापूर्णरूपमा आफ्ना जायज कुरा राख्नुपर्छ । जिब्रो लट्पट्याएर नबुझिने गरी कूटनीतिक सम्वाद गर्नुपर्छ भन्ने छैन । बुझिने गरी सम्वाद गर्नुपर्छ । त्यसरी कुरा गर्दा अर्को पक्षले पनि आफ्नो धारणा बनाउन सहजता महसुस गर्न सक्छ ।
उहाँले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित नभएको र सानो देश हौँ भन्ने हिनताभाव पाल्नुपर्ने आवश्यकता पनि नरहेको धारणा व्यक्त गर्नुभयो । 
प्रधानमन्त्री ओलीले राष्ट्रिय हितभन्दा सत्ता स्वार्थ र स–साना कुराहरूलाई महत्व दिने प्रवृत्ति गलत भएको उल्लेख गर्दै नेपालले आर्थिक, सांस्कृतिक र कूटनीतिक हितलाई ध्यान दिएर विश्वसनीय र जिम्मेवाररूपमा आफूलाई प्रस्तुत गर्ने बताउनुभयो । 
प्रधानमन्त्री ओलीले संसद्मा हरेक विषयमा विस्तृत अध्ययन र तयारीका साथ प्रस्तुत हुन र संसदलाई जिउँदो जाग्दो बनाउन सांसदहरूलाई सुझाव दिनुभयो । 
कार्यक्रममा नेकपा (एमाले)का सचिव तथा संसदीय विभाग प्रमुख योगेश भट्टराईले बदलिँदो विश्व राजनीति, विश्व सम्बन्ध, छिमेक सम्बन्धका साथै छिमेकीका छिमेक नीति कस्ता छन् भन्ने बारेमा सांसदहरू जानकार हुनुपर्ने बताउनुभयो । 
उहाँले नेपालले भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्दै राष्ट्रिय हित प्रबद्र्धन गर्नुपर्ने आजको चुनौती भएको धारणा व्यक्त गर्नुुभयो । 
कार्यक्रममा विश्व व्यवस्थामा नेपालको परराष्ट्र नीति, बदँलिदो भू–राजनीतिक परिवेश, जलवायु राजनीति र कूटनीतिजस्ता विषयमा परराष्ट्र मामिला विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले विश्वको आर्थिक कूटनीतिको बदलिँदो स्वरुप र नेपालको आर्थिक कूटनीतिका बारेमा प्रकाश पार्नुभएको थियो । 
उहाँले आर्थिक कूटनीति के हो ? भन्ने बारेमा जानकारी गराउनुका साथै विआरआई, एमसीसी कस्ता परियोजना हुन्, यिनका विशेषता के हुन् ? जस्ता विषयमा प्रस्ट्याउनुभएको थियो । डा. खतिवडाले उच्च आर्थिक बृद्धिविना समाजवादको आधार तयार नहुने र विकास नगरी समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पनि पूरा नहुने हुँदा वैदेशिक सहायता अनुदान मात्र नभई आवश्यकतानुसार ऋण लिएर पनि विकासका काम अगाडि बढाउनुपर्ने धारणा प्रस्तुत गर्नुभयो । 
उहाँले एमसीसी एकपटकको सहायता परियोजना भएको र विआरआई बृहत सहकार्य परियोजना भएको स्पष्ट गर्नुभयो । 
पूर्व राजदूत डा. नारद भारद्वाजले परराष्ट्र नीतिको महत्वपूर्ण अङ्ग आर्थिक कूटनीति भएकाले नेपालले वैदेशिक लगानी आकर्षित गर्न आफ्नो पनि सामथ्र्य निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले बदलिँदो विश्व राजनीतिलाई सदुपयोग  गरी यसलाई आर्थिक समृद्धिको उत्तोलक कसरी बनाउन सकिन्छ भन्नेबारेमा ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । 
त्यसैगरी नेकपा (एमाले) परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनालले बदलिँदो विश्व व्यवस्था र नेपाल विषयमा कार्यपत्र प्रस्तुत गर्दै दुई छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्नु नै नेपालका लागि विदेश नीतिको प्रमुख विषय हुने धारणा राख्नुभयो ।
उहाँले विदेश सम्बन्धका सन्दर्भमा भन्नुपर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री रहँदाका अघिल्ला दुई कार्यकाल नेपाली स्वाभिमान र राष्ट्रिय आत्मसम्मानको पुनस्र्थापनाको काल भएको आफ्नो विश्लेषण रहेको बताउनुभयो । 
कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल लगायत नेताहरूका साथै सांसदहरूको सहभागिता रहेको थियो । पार्टीका सचिव तथा परराष्ट्र मामिला विभाग प्रमुख रघुबीर महासेठको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण विभाग सचिव तथा सांसद डा. अन्जान शाक्यले गर्नुभएको थियो ।   

सम्बन्धित