१४ पुस (२०८१), काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललाई पार्टी प्रवेश गराउनुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज अपरान्ह आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जेसीजमा आजै पदावधि सकिएका पोखरेललाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो । कार्यक्रममा अध्यक्ष ओलीले ‘मिस हेरिटेज इन्टरनेशन’ विजेता विभा बस्नेत, युवाहरू गायत्री विसी, शिवानी गौतम र अश्विनी खरेललाई पनि खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरूको साझा उद्देश्य भएको बताउनुभएको छ । उहाँले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरूको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मानिसलाई सङ्गतले विगार्ने हुँदा अहिले छलि र मायाजालका कुरा गरेर युवालाई भड्काउन भइरहेको प्रयासबाट जोगिनु आवश्यक रहेको बताउनुभयो । ‘नेकपा (एमाले)को एकमात्र उद्देश्य देशलाई सुन्दर, समृद्ध र सुसभ्य तथा जनतालाई खुसी र सुखी बनाउनु रहेकाले एमालेमा प्रवेश गर्नेहरूले कहिल्यै पश्चाताप गर्नुपर्ने छैन’, अध्यक्ष ओलीले भन्नुभयो ।
‘एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको सङ्गतमा लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईंहरूको एमालेमा आउने छनोट सही छ । तपाईंहरू नमुना हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– प्रवेशको माध्यमबाट पार्टीमा समाहित भएकाहरू सबै मिलेर हामी साझा उद्देश्यका परिवार भएका छौं । हामीले नेपाल प्रतिभाहरूको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरू ब्रेक गर्नु छ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ ।
प्रधानमन्त्री ओलीले आफूहरूलाई प्रभाव छोड्नपर्ने नभई कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवन यापन गर्न पनि आग्रह गर्नुभयो । उहाँले एमाले कर्मवीरहरूको पार्टी भएको बताउनुभयो ।
कार्यक्रममा नवप्रवेशी प्रतिभाशाली युवा पोखरेलले आफूले किन एमाले नै रोजेको भन्नेबारेमा संक्षेपमा बोल्दै युवाको भविष्य र देशको विकास गर्ने पार्टीका रूपमा एमालेलाई ठानेको बताउनुभयो । समाजमा रहेको विसङ्गति र विभिन्न खराव पक्षलाई खरो रुपमा चिर्ने पार्टी पनि एमाले हो भन्ने आफ्नो ठम्याई रहेको उहाँको भनाइ छ । पोखरेलले देश बनाउनका लागि युवा जनशक्ति मेरुदण्डका रूपमा रहेकाले युवामा रहेको देश बन्दैन भन्ने नकारात्मक भाष्य चिर्ने काममा आफू लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अर्का नवप्रवेशी बस्नेतले दूरदर्शी सोच भएका नेता ओली र उहाँ अध्यक्ष रहनुभएको पार्टी एमालेले देश बनाउने सङ्कल्प बोकेको हुँदा यस अभियानमा समाहित भएको बताउनुभयो ।
कार्यक्रममा पार्टीका उपमहासचिव विष्णुप्रसाद रिमाल, स्थायी कमिटी सदस्य तथा केन्द्रीय सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाललगायत नेताहरू पनि उपस्थित हुनुहुन्थ्यो ।