NP EN

नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैनः प्रधानमन्त्री

राष्ट्रिय युवा सङ्घ, नेपालको स्वयंसेवक भेला
१३ चैत (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट गर्नुभएको छ । 
राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आज आयोजित राष्ट्रिय स्वयंसेवक भेला–२०८१ लाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मान्छेहरूले आँकलन नगरेको हुनसक्छ, देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताउनुभयो ।
‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरूले बताउन सक्छन् । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिएझैँ झम्टन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादितरूपमा परिचालन गर्नुस्, पहिलाको युथ फोर्स जस्तै । यो एउटा निःशस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरूले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।
प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै यसमा प्रधानमन्त्रीले जवाफ दिइरहनु नपर्ने स्पष्ट गर्नुभयो । 
उहाँले भन्नुभयो– प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्यो । सक्कियो, त्यही हो जवाफ । उहाँहरूलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन ।
प्रधानमन्त्री ओलीले यही चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गर्नुभयो । 
विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भन्नुभयो–यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईंहरू । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपार्ईंहरूले चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ, न आत्तिन्छौँ । धैर्यपूर्वक अगाडि बढ्छौँ ।
कार्यक्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य महेश बस्नेत, सङ्घका अध्यक्ष क्षितिज थेबेलगायतले राष्ट्रिय स्वयंसेवक अभियानको आवश्यकताबारे मन्तव्य राख्नुभएको थियो ।



सम्बन्धित