NP EN

निर्यात बढाउने र रोजगारी बृद्धि गर्ने योजना र कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन

१२ पुस (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रुग्ण उद्योगहरूको प्रभावकारी सञ्चालन र रोजगारी वृद्धिका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्रिफिङ लिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा हालै सरकारले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका–२०८१, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन नीति–२०८१ र राष्ट्रिय स्टार्टअप उद्यम नीति–२०८१ को प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयका तर्फबाट प्रस्तुतीकरण गरिएको थियो । 
छलफलमा लामो समयदेखि बन्द र अन्योलको अवस्थामा रहेका गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट, विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौडा सिमेन्ट र कपडा उद्योग, नेपाल ओरियण्ड उद्योगलगायत उद्योगलाई सरकारको स्वामित्वमा निजी क्षेत्रको साझेदारी वा उपयुक्त ढाँचामा सञ्चालन गरी उत्पादन र रोजगारी बढाउने विषयमा छलफल भएको थियो । 
यसैगरी पेट्रोलियम पदार्थ र फलाम खानीको उत्खनन्का प्रगतिबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो । 
प्रधानमन्त्री ओलीले समृद्धिको यात्रामा लाभ पुग्ने, आयात प्रतिस्थापन गरी निर्यात बढाउने र रोजगारी अभिवृद्धि गर्ने दिशामा ठोस योजना र कार्यक्रम ल्याउन निर्देशन दिनुभयो । सो अवसरमा उद्योगमन्त्री दामोदर भण्डारी, सचिव गोविन्दबहादुर कार्की लगायत सहभागी हुनुहुन्थ्यो । 

सम्बन्धित