NP EN

द्रूतमार्ग आधुनिक विकासको नमुना हुने छः प्रधानमन्त्री

२१ साउन(२०८१), मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रूतमार्ग आधुनिक विकासको नमुना साबित हुने बताउनुभएको छ ।
नेपाली सेनाद्वारा निर्माणाधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको र अब यो विकास निर्माणको गति निरन्तर अघि बढ्ने उद्घोष गर्नुभयो । 
मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाडौं–निजगढतर्फको १.७२८ किमी लामो सुरुङ आज ‘ब्रेक थ्रु’ भएको हो । 
प्रधानमन्त्री ओलीले भन्नुभयो– विगतमा जुन रफ्तारमा विकास हुनुपर्थ्यो, त्यो हुन सकेन । अब विकासको नमुनाका रूपमा यो द्रूतमार्ग बन्ने छ  । यस मार्गलाई अघि बढाउने सन्दर्भमा देखिएका राजनीतिक र आर्थिक बाधा ब्यवधानलाई समाधान गर्न सरकार तत्पर छ ।
उहाँले नेपालमा केही भएन भन्ने भाष्य खडा गर्न खोजिए पनि द्रूतमार्गको सुरुङ निर्माणले त्यसलाई खण्डन गरेको बताउनुभयो । 
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा होस् भन्ने दृष्टिकोणले सरकारले काम गरिरहेको बताउनुभयो । डिजिटल नेपाल फ्रेमवर्क बमोजिम अप्टिकल फाइबर, फोरजी इन्टरनेट लगायतका सेवा सबै जिल्लामा पुर्याउने काम अघि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीले द्रूतमार्ग लगायतका पूर्वाधार विकासले यस्ता कार्यक्रमलाई सहयोग मिल्ने बताउनुभयो ।
द्रूतमार्ग वि.सं. २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएकाले समयमा सम्पन्न गर्न प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभयो । 
कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा नेपालका लागि चीन र दक्षिण कोरियाका राजदूत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित