NP EN

देश हामी आफैले बनाउनुपर्छ

केपी शर्मा ओली, प्रधानमन्त्री

माननीय सभामुख महोदय,
माननीय मुख्यमन्त्री लगायत सम्पूर्ण प्रदेशसभा सदस्यज्यूहरू !
आज मलाई अत्यन्तै खुशी लागेको छ । लुम्बिनी प्रदेशसभाले आमन्त्रण गरेर आज यस अत्यन्तै पवित्र भूमिमा, अत्यन्तै क्रियाशील र सफलताका साथ अगाडि बढिरहेको यस प्रदेशसभामा उपस्थित भएको छु र प्रदेशसभालाई सम्बोधन गर्न लागिरहेको छु । म सबै प्रदेशसभा सदस्यज्यूहरूलाई यस बैठकमा स्वागत तथा अभिवादन भन्न चाहन्छु ।
लुम्बिनी प्रदेश असाधारण भूमि हो
यो प्रदेश अत्यन्तै पवित्र भनेर मैले अघि किन भनेँभन्दा– पूर्वमा नारायणी नदी, पश्चिममा कर्णाली नदी, अत्यन्तै प्रतिष्ठित धार्मिकस्थलहरू, पुण्यस्थलहरू, विश्व मानवजातिका लागि नै शान्ति र करुणाको सन्देश फैलाउने भगवान बुद्धको  जन्मथलो भएको प्रदेश हो । यहीं भूमि भगवान बुद्धभन्दा धेरै वर्ष अगाडि शताब्दिऔं मात्रै होइन, सहश्राब्दी अगाडि यहाँ कपिलमुनि नामका महाविद्धान, महान् दार्शनिकको  जन्मभएको थियो । कपिल आश्रम यसै ठाउँमा छ, बुद्ध जन्मभूमि यसै ठाउँमा छ, लुम्बिनी यस ठाउँमा छ, रामनगर यस ठाउँमा छ । अरु यस्ता धेरै पवित्रस्थलहरू स्वर्गद्वारी यहीं छ, रेसुङ्गा अत्यन्तै ऐतिहासिकतासँग जोडिएको भूमि यहीं छ, श्रृंग ऋषिको आश्रम यहीं छ । जुन श्रृंग ऋषिलाई राजा दशरथले हात्ती लिएर लिन पठाउनु भएको थियो र उहाँले पुत्रेष्ठि यज्ञ गरेपछि राम, लक्षमण, भरत, शत्रुघन दशरथका चार सन्तान भएका थिए । अथवा राम जन्म भूमिको पृष्ठभूमि ऋषि श्रृंगको पुत्रेष्ठि यज्ञसँग जोडिएको छ । यो माण्डव्य ऋषिको तपभूमि, यो रुरु क्षेत्र, यो रिडी क्षेत्र, यो त्रिवेणी क्षेत्र, यो यस्ता अनेक धामहरू, देवघाट क्षेत्रजस्ता स्थानहरूले भरिएको ठाउँ हो । अरु यस्ता थुप्रै तीर्थस्थलहरू छन् । यस्तो पवित्र भूमि, यहाँ यस्ता सुन्दर कहानीहरू छन् । एउटा मृगिनीले आमा बाबुको टुङ्गो नभएको एउटा बच्चीलाई दूध पिलाएर हुर्काएको हुनाले उनको नाम नै रुरु भयो । मृगको नामबाट ती बच्चीको नाम रुरु भयो र रुरु क्षेत्र भयो । यहाँ भारतमा रानीताजमहल छ, यहाँ रानीतेजमहल छ । जो हामी रानीमहल भन्छौं, त्यो रानीतेजमल हो । रानी तेजकुमारीको स्मृतिमा तेजमहल बनेको थियो । यस्ता ऐतिहासिक, द्रष्टब्य, गन्तव्य यस्ता ठाउँहरू भएको यो भूमि । पर्यटनका लागि अनेक तीर्थहरूले भरिएको, अनेक प्राकृतिक वातावरणले भरिएको ठाउँ हो । तीर्थको हिसाबले होइन, स्वर्गद्वारी र रेसुङ्गा यसै गयो भने पनि बेग्लै अनुभूति हुन्छ कि म कुनै पुण्यभूमिमा टेकिरहेको छु । म कुनै पुण्यभूमिमा श्वास फेरिरहेको छु भन्ने अनुुभूति हुन्छ । यो त्यस्तो ठाउँ हो, जहाँ अनेकौं इतिहास छन् । विभिन्न जात जातिका, भाषाभाषिका, उत्पतिका, संस्कृतिका, भेषभुषाका, वाद्यवादनका, अनेक परिकारका इतिहासहरू छन् । यस ठाउँको विकासको सन्दर्भमा, पर्यटनको सन्दर्भमा यहाँहरूले मलाई आफ्ना विचारहरू राख्न यहाँ बोलाउनु भएको छ । त्यसकारण म खुशी छु । 
यहाँ गजेन्द्रमोक्षधाम छ, खोला तर्ने बित्तिकै बाल्मिकी आश्रम छ । बर्दियामा मन्दिरहरू छन् । विभिन्न थानहरू छन्, ग्रामहरू छन्, त्यसका ऐतिहासिकता छन् । यसरी जडिबुटीदेखि अन्नबालीसम्म, जैविक विविधतादेखि अनेक प्रकारका विविधताले आफैँ इकोसिस्टमलाई सबल बनाएको हिमालदेखि पहाड र तराईसमेत भएको यो असाधारण भूमि हो । 
म खुशी व्यक्त गर्न चाहन्छु, अहिले सङ्घीयता स्थापनापछि सङ्घीयता फाप्ला कि नफाप्ला ?, सङ्घीयताले उपलब्धि देला कि नदेला ?, सङ्घीयता काम लाग्ला कि नलाग्ला ? भन्ने अनेक प्रश्नहरू भइरहेका बेला यस प्रदेशले सङ्घीयताले विकास गर्न सक्छ भन्ने कुरा देखाएको छ । यस प्रदेशले करिब सात आठ वर्षभित्र राजधानी कसरी निर्माण सकिन्छ, आफ्नै सभाहलमा कसरी सभा गर्न सकिन्छ, आफ्नै मुख्यमन्त्री कार्यालय, सभामुखको निवास, कार्यालय, मन्त्रीहरूको कार्यालयदेखि लिएर यावत संरचनाहरूको निर्माण गर्न कसरी सकिन्छ भन्ने एउटा दृष्टान्त देखाएको छ । 
मैले देखेको छु, यस प्रदेशले यो  राजधानी मात्रै एउटा विकास गरेको छैन । कसैले कल्पना नगरेको जस्तो ठाउँमा, हुँदैन भन्ने ठानिएको ठाउँमा राजधानी स्थापना भएको छ । र, अब यो  निर्माण कार्य सम्पन्न हुनेहुनेतिर अगाडि बढिरहेको छ । अब केही समयभित्र यो सम्पन्न हुनेछ । तर यो सम्पन्न गरिरहँदा यसैमा मात्रै प्रदेश सरकार केन्द्रित भएको छैन । एउटा राजधानी बनाऔं, राजधानी भएपछि पुग्छ होइन, यस बीचमा यसले यातायातको सन्दर्भमा, यसै बीचमा यस प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल भव्य ढङ्गले बनेको छ । यहाँ बाटाहरू बनेका छन्, धेरै पुल बनेका छन्, बनेका बाटाहरू चौडा बनेका छन् । अहिले भर्खर पनि बाटा चौडा गर्ने सन्दर्भमा गोरुसिंगेसम्मका लागि काम सुरु भएको छ । 
राजनीतिक इतिहासको हिसाबले यो प्रदेश, नेपाल अंग्रेजलाई अन्तिममा पराजित गरेको ठाउँ होे । हामीले सबै युद्ध त जित्न सकेनौं, हामीले हार्नु पनि पर्यो, हामीले आफ्नो भूभाग पनि गुमायौं । तर, उजीरसिंह, अमरसिंह, भीमसेनजस्ता लडाकुहरू तीन÷चार पुस्ता एकैसाथ लडे । उजीरसिंह भनेका अमरसिंहका नाती हुन् जस्तो लाग्छ । अमरसिंहका छोरा नयनसिंहका माइला छोराका छोरा उजीरसिंह हुन् । उनी युवा क्याप्टेन थिए । बुटवलमा रहेको जीतगढी, जितेको हुनाले जीतगढी भन्छौं । उजीरसिंह थापा एउटा बहादुर योद्धा थिए । उनको कमाण्डमा भएका अरु बहादुर योद्धा राष्ट्र बचाउने र निर्माण गर्ने कुरामा पनि त्यसैगरी यहाँका जनता लडे । विभिन्न राजारजौटाहरू थिए । पाल्पामा सेन राजाहरू थिए । थरुहटतिर थरु राजाहरू थिए । ती सबैले कमसेकम आफ्नो भूभाग जोगाएर सदैव राखे । त्यस्तो राणाशाही वा राजशाही वा त्योभन्दा अगाडिको अन्धकार युगहरूमा जहाँ राणाशासनको बेलामा बुद्ध मान्ने कोही छ भने त्यसलाई देश निकाला गर्नेदेखि लिएर सजाय गर्नेसम्म हुन्थ्यो । बुद्ध मान्न पाइँदैनथ्यो । बुद्धका उपदेश, सन्देश सुनाउन पाइँदैनथ्यो, प्रचार गर्न पाइँदैनथ्यो । सजाय हुन्थ्यो । त्यसलाई विद्रोही मानिन्थ्यो, धर्म विरोधी मानिन्थ्यो । त्यस्तो अवस्थामा पनि बुद्धको जन्मथलो यहीं हो भनेर पत्ता लगाउने कामहरू भएका थिए । यो धेरै वर्ष अगाडि लगभग २५ सय वर्ष अगाडि जसो होला, चिनियाँ यात्रीहरूले पनि अशोकले गाडेको स्तम्भ यहाँ हो भनेर १५ सय वर्षभन्दा अगाडि यहाँ भनेका थिए । उनीे चिनियाँ यात्री फाइ याङ थिए । त्यसपछि लगभग १३ सय वर्ष जसो अगाडि होला होउनसाङ विद्वानले पनि यहाँ खोज गरेका थिए । बुद्धको जन्मथलोभन्दा यति योजन पूर्वमा रामग्राम छ, त्योभन्दा यति योजन पूर्वमा गण्डकी नदी छ, गण्डकी नदीभन्दा यति योजन पूर्वमा ठोरी छ, ( ठोरी भन्नलाई उनीहरूको जिब्रोले दिंदैन, त्यसकारण उनीहरू लोरी भन्छन्, लोरी भन्ने ठाउँ छ), त्यहाँ राम र दशरथको राज्य थियो भनेर अहिलेभन्दा १६ सय वर्ष अगाडि फाइ याङले आफ्नो पुस्तकमा चिनियाँ भाषामा लेखेका छन् । जो अहिले नेपाली भाषामा अनुवाद हुँदैछ वा भइराखेको छ । अंग्रेजीमा त अनुवाद भइसकेको छ, नेपालीमा पनि अनुवाद हुँदैछ । यो त्यति पुरानो ऐतिहासिक तथ्यहरूले पुष्टि गरेको, त्यति बेलाको भग्नावशेषले पुष्टि गरेको ठाउँ हो । यो बहादुर ठाउँ हो । 
पछिल्लो समयमा शिक्षाको क्षेत्रमा संस्कृत शिक्षा १८८६ तिर षडानन्द गुरुले महोत्तरीमा संस्कृत विद्यालय खोल्नु भएको थियो । पहिलो नेपालमा खुलेको विद्यालय भनेको त्यही हो । त्यसपछि १९१० मा दरबार हाइस्कुल खुल्यो । १९३० मा पहाडमा गएर भोजपुरमा गुरु षडानन्दले संस्कृत विद्यालय खोल्नु भयो । त्यसपछि धनकुटामा गएर अर्को संस्कृत विद्यालय खोल्नु भयो । अर्घाखाँचीको खिदिम यस्तो ठाउँ हो, जहाँ पतञ्जली ऋषिले योगशास्त्र, जो शिवबाट उत्पत्ति भएको, त्यस योगलाई पछि विश्वामित्रले अगाडि बढाउनु भएको, त्यसलाई पछि कपिलमुनिले अगाडि बढाउनु भएको, कपिलमुनिले अगाडि बढाएको योगलाई अष्टाङ्ग योग भनेर, योगका आठवटा अङ्ग छन् है भनेर अष्टाङ्ग योग रचना गर्ने पतञ्जली अर्घाखाँचीका हुनुहुन्थ्यो । 
पाणिनीको व्याकरण भन्छन्, अर्घाखाँचीमा पणेना भन्ने गाउँ उहाँकै नामबाट रहेको हो । संस्कृत व्याकरण यहाँ बनेको थियो । कालीदास तनहुँमा जन्मिनु भएको थियो । अहिले व्यास नगर, हामी दमौली भन्छौं, दमौलीभन्दा सेती र मादी मिसिएपछिको ठाउँमा त्यही डुङ्गामा तार्दा उनी जन्मिएका भन्ने थियो । मैले त्यस कथालाई लम्ब्याउन चाहिनँ । व्यास यहीं जन्मिएका, यहीं हुर्किएका, यहीं शिक्षादीक्षा आर्जन गरेका थिए । यतैतिर यहीं भूमिमा शिक्षादीक्षा आर्जन गरेका थिए । पछि गण्डकीको किनार त्रिवेणी अथवा भगवान विष्णुको क्रिडास्थल, कर्मक्षेत्र पनि यहीं थियो भन्ने कुरा त्रिवेणीमा पुुग्दा गोहीले पानी खान खोज्दा हात्तीको सुड समातेर तानेपछि उनी कराउँदा कृष्णले चक्रले हानेर हात्ती बचाएको गजेन्द्रमोक्ष धाम, अहिले त्यो धाम नै बनेको छ । मैले धेरै केही भन्नु पर्ला जस्तो लाग्दैन, यो त्यस्तो ठाउँ हो । यहाँ विद्वान्, विद्वता, योगदान, सभ्यता यस कुरामा सदैव अगाडि रहेको र बढेको क्षेत्र हो । 
अब यो क्षेत्र विकासमा अगाडि बढ्दै छ । पर्यटनमा अगाडि बढ्दै छ । यो कृषिमा अगाडि बढ्दै छ, उद्योगमा अगाडि बढ्दै छ, अरु कुरामा पनि अगाडि बढ्दै छ । यहाँ अस्पतालहरू, स्वास्थ्य क्षेत्र, विश्वविद्यालय, शिक्षा क्षेत्रमा अगाडि बढ्दै छ, बाटा चौडा हुँदै छन् । सिद्धबाबा सुरुङ नपत्याएको काम यहाँ हुँदैछ । म खुशी व्यक्त गर्न चाहन्छु । 
मैले अब नेपाल सुरुङ युुगमा प्रवेश गर्यो भनेर नागढुङ्गा–नौबिसे सुरुङको उद्घाटनमा पनि भनेको थिएँ । सिद्धबाबा सुरुङ मैले नै अगाडि बढाएको योजना हो । अरु मैले धेरै योजना गरेका सुरुङ मार्गहरू छन् । जेहोस् सिद्धबाबा सुरुङ मार्गले सधैको खतराको स्थितिबाट मुक्त भएको छ । जनताले अब त्यो पीडा भोग्न पर्दैन । सधैं बस खस्ने, सधैं ठूल्ठूला दुर्घटना, ठूलो क्षति हुने त्यस अवस्थालाई हामीले अन्त्य गरेका छौं । अरु ठाउँहरूमा पनि हामी यस्ता कुरा गर्दै छौं र जनताको सुरक्षालाई ध्यानमा राखेर विकास निर्माणका काम र यातायातका काम लगायत सबै कुरालाई हामीले अगाडि बढाउँछौं । 
यस क्षेत्रका विकास निर्माणका समस्या मैले बुझेको छु, बाटाघाटाका समस्याहरू रामपुरदेखि कपुरकोट जाने रणनीतिक बाटोको सम्बन्धमा मेरो ध्यान गएको छ, म साथीहरूलाई भन्न चाहन्छु, ध्यान नगएको छैन । यहाँ यो राजधानीको निर्माण कार्यलाई पूरा गर्नेदेखि लिएर रामपुर–कपुरकोट मार्गदेखि लिएर बाटा चौडा गर्नेदेखि लिएर सिंचाइका सन्दर्भमा भेरी बबई सिंचाइ आयोजना अथवा अरु आयोजनाले पूर्वतिरको साइडमा जानुुपर्ने कुरामा निकुञ्जको कारणले भनेर रोकेको थियो । 
अब अदालतको फैसलाले अलिकति जटिलता बनाएको छ तर त्यसलाई हामी कुनै हिसाबले फुकाउँछौं । किनभने विकासलाई ठप्प पारेर यो देशलाई बन नै बन बनाइदियो भने इकोसिस्टम मज्जाको हुन्छ होला ! तर मान्छे बिनाको इकोसिस्टमको धर्तीमा केही काम छैन । मान्छे छैन भने पृथ्वीको केही अर्थ छैन । मान्छे छैन भने पृथ्वीको काम नहुने भयो । कुनै सुन्दरतालाई कसले बुझ्छ ? विकासलाई कसले बुझ्छ ? पक्की बाटा कसलाई चाहिएको छ ? हवाई मैदान कसलाई चाहिएको छ ? अस्पताल कसलाई चाहिएको छ ? कसले गएर सुई लगाइदिन्छ, कसले औषधि बनाइदिन्छ ? मान्छे छैन भने महाविद्यालय, विद्यालय किन चाहिए ? मान्छे छैन भने के काम ? मान्छे छैन भने यस्ता भवनहरूको के काम ? सभाहलको के काम ? मान्छेलाई चाहिने हो, मान्छे छैन भने ब्रह्माण्डको काम छैन । यो सम्पूर्ण सृष्टिलाई सार्थक बनाउने मान्छेले हो । किन यो सृष्टि सार्थक छ भने यहाँ मान्छे छ । ब्रह्माण्डमा सौर्यमण्डल छ, त्यसकारण सार्थक छ, सौर्यमण्डल किन सार्थक छ भने यसका ग्रहहरूमा सूर्य पृथ्वी एउटा छ, सौर्यमण्डलका ग्रहहरूमा पृथ्वी छ, पृथ्वीमा जीवन छ, जीवनमा मानिस छ । मानव मस्तिष्क सृष्टिको सबैभन्दा स्तरीय छ, जसको ‘मेमोरी पावर’ छ । अर्को ‘इनोभेटिभ क्यारेक्टर’ छ । स्मरणशक्ति विश्लेषणात्मक र रचनात्मक चरित्र छ । दिमागका यी दुईवटा विशेषताले गर्दा मान्छे, मान्छे भएको छ । तसर्थ, मुख्यरूपमा मान्छेलाई केन्द्रमा राखेर सबै कुरा सोचिनुु पर्दछ । मान्छेको अस्तित्व, मान्छेको विकास, मान्छेको समृद्धि र मान्छेको सुखलाई केन्द्र भागमा राखेर सबै कुरा सोच्नु पर्दछ । त्यसकारण कहीं कतै बुझ्न बाँकी रहेका कुराहरू हुन सक्छन्, कहीं कतै कुनै कुराले बढी असर गरेको हुनसक्छ । त्यस्ता कुराहरूलाई सच्याएर मानव केन्द्रित विकास हुनुपर्छ । 
इकोसिस्टम चाहिन्छ, यदि इकोसिस्टम भएन भने मानव   नहुँदा के हुन्छ ? त्यसकारण मानव नभएको त्यो वञ्जर हुनु र अरु हुनुमा के फरक हुन्छ र ? त्यसकारण हाम्रो मानव केन्द्रित विकास हुनुपर्छ । त्यस हिसाबले यहाँका सिंचाइका कुराहरू वा यातायातका कुराहरू, बाटा स्तरोन्नतीका कुराहरू, शिक्षाका कुराहरू, स्वास्थ्यका कुराहरू, अस्पताल, विश्वविद्यालयका कुराहरू, विकास निर्माणका कुराहरूमा के के चाहिने छ भन्ने मैले देखेको छु । 
रानीमहल ताज महल जस्तै प्रेमको प्रतीक हो
मैले रानीतेजमहल आफैँ गएर हेरेको छु । रानीतेजमहलको रक्षा आवश्यक छ । त्यसलाई छिटै ध्यान दिन जरुरी छ, होइन भने कालीगण्डकीले तलबाट ठूलो प्वाल पारिसकेको छ, तलबाट ठूलो खाल्डो बनाइसकेको छ । त्यसले माथिको भार थामेन भने, त्यसले एकैचोटी गर्ल्याम गुर्लुम्म जान सक्छ । त्यसकारण हामीले यसको रक्षा छिटै गर्नु छ र त्यसलाई एउटा पवित्र प्रेमको प्रतीकको रूपमा लिन सक्छौं । यो पनि ताजमहल जस्तै हो, तेजमहल हो । यो रानी तेजकुमारीको स्मृतिमा बनेको । त्यहाँ मुमताजको स्मृतिमा ताजमहल बनेको थियो, यहाँ मुमताज होइन, यहाँ म्यामतेजको सम्झनामा बनेको छ, रानी तेजमहल । यसलाई हामीले संरक्षण गर्न सक्नु पर्दछ । यतापट्टी पनि केन्द्र सरकारको ध्यान छ । 
अरु यस्ता अनेक कुरामा वनको संरक्षण, वातावरणको संरक्षण, विभिन्न नदी कटानका समस्याहरू मैले बुझेको छु, देखेको छु । पहिले म यो बाटो गाडीबाट धेरैपटक हिंडेको छु । त्यसकारण मैले यहाँका समस्याहरू देखेको छु र यी समस्याहरू कसरी समाधान गर्ने भन्ने बारेमा सोचेको पनि हो । त्यसैकारण मैले यी कुराहरूमा प्रदेश सरकारलाई मद्दत पुर्याउने वा केन्द्र सरकारले आफैँ यी यस्ता काम गर्ने गरेको छु । राजमार्ग चौडा गर्ने काम यसै प्रदेशबाट सुरु गरिएको थियो । अरु थुप्रै कामहरू पनि यहींबाट भएको छ । केन्द्र सरकारले पनि १२ सैयाको अस्पताल बनाएको छैन, यहाँ प्रदेश सरकारले १२ सय बेडको अस्पताल बनाउँदै छ । कति चलाउन सकिन्छ, कति चल्छ किनभने केन्द्र सरकारले हजार बेड पुर्याउन सकेको छैन भने प्रदेश सरकारले १२ सय बेडको अस्पताल !, काठमाडौंमा चल्न सकेको छैन भने यहाँको जनसङ्ख्यामा कतिको चल्छ वा आसपासको जनसङ्ख्यालाई कति तान्छ भन्ने कुरा र त्यसको व्यवस्थापनको कुरा त्यतिकै गम्भीर छ । 
म साथीहरूलाई आग्रह गर्न चाहन्छु, यो प्रदेशले मात्रै पनि गर्न सक्दैन र केन्द्रले मात्रै पनि गर्ने कुरा होइन । किनभने हामी सङ्घीयतामा छौं र तीनवटै तहका सरकारहरू मिलेर विकास निर्माणका कामलाई सहकार्यको रूपमा अगाडि बढाउनु पर्दछ । एकअर्कालाई सहयोग गरेर, एकअर्कालाई साथ दिएर, एकअर्काका आयोजनाहरूलाई पनि साथ दिएर अगाडि बढाउनु पर्छ । 
धौवादी फलाम खानीबाट अब एकदुई बर्षमा उत्पादन सुरु हुन्छ
यो प्रदेश विद्युत उत्पादनमा धेरै अगाडि नहोला तर थुप्रै कुराहरूको उत्पादनमा अगाडि छ । खनिजहरूको सम्बन्धमा, अहिलेसम्म नेपालमा पत्ता लागेको सबैभन्दा ठूलो फलाम खानी धौवादी फलाम खानी यहीं छ । यो सानो कुरा होइन । धौवादी अब एक दुुई वर्षभित्र उत्पादनमा जान्छ र उत्पादनपछि हामी यसको प्रशोधन केन्द्र पनि स्थापना गर्छौं । हामीसँग प्रशोधित फलाम भइसकेपछि आइरन एण्ड स्टिल, कृषि औजार, ट्याक्टर, मोटरबाइक हामी सस्तो मुुल्यमा बनाउन सक्छौं । किनभने अहिले हामीसँग त्यस्तो प्रविधि पनि नहुने, त्यस्तो फलाम पनि नहुने । हामीले आफ्ना लागि चाहिने कुराहरू हामी आफैँले बनाउन सक्छौं । अब हामी इभीको समयमा गइसक्यौं । इभीको समयबाट पनि ग्रिन हाइड्रोजनको समयमा गइसक्यौं । त्यसकारण अब ग्रिन हाइड्रोजनको प्रयोगबाट चल्ने र चलाउने खालका सेफ्टी मेजरमा त्यतिकै ध्यान दिने र सँगसँगै सस्तो, टिकाउ हुने । पानीबाट अक्सिजन र हाइड्रोजन छुट्याएर हाइड्रोजनलाई कम्प्याक्ट गरेर, प्रेसर गरेर सानो ब्याट्री बनाउन सकिन्छ र सानो ब्याट्रीले कुनै पनि सवारी साधनलाई परसम्म लैजान सक्छ । 
अब हामी उत्पादन र विकास निर्माणमा सूचना प्रविधिको प्रयोग अत्यधिक गर्छौं । उत्पादनका लागि प्रविधि, विकासका लागि प्रविधि, सुविधाका लागि प्रविधि । यसरी प्रविधिको समेत प्रयोग गरेर हामी विकास निर्माणलाई तिब्रता दिन्छौं । हाम्रा हरेक काम र हरेक उत्पादनलाई कम खर्चमा बढी आम्दानी दिने गरी, कम खर्च, बढी लाभ दिने गरी हामी प्रयोग गर्दछौं । 
देश अर्काले आएर बनाइदिँदैन
त्यसकारण म सभामुखज्यूलाई भन्न चाहन्छु र सभामुखज्यूमार्फत् सबै माननीयज्यूहरूलाई भन्न चाहन्छु कि हामीले आफ्नो मनोबललाई उच्च राखौं हामी गर्न सक्छौं भनेर । कुनै पनि देश अर्काले आएर बनाइदिंदैन । त्यत्रो चीन ४० दशक अगाडि गरिब देश थियो । अहिले तीनचार दशकमा चीनले त्यस्तो प्रगति गर्यो, त्यहाँ गरिब कोही पनि छैन, खान लगाउन नपाउने छैन, बस्ने ठाउँ नपाउने छैन, घर नभएको छैन, राम्रो जुत्ता लगाउन नसक्ने कोही छैन, जाडोमा न्यानो कपडा लगाउन नसक्ने कोही छैन, सुविधा सम्पन्न आरामदायी कपडा, आकर्षक कपडा लगाउन नसक्ने कोही छैन । कसैसँग निजी जेट होला, कसैसँग महङ्गा कार होलान्, कसैसँग साइकल होलान् । तर सबैभन्दा बढी रेल छ । सबैका लागि हवाइजहाज छन्, सबैका लागि रेल छ, सबैका लागि विद्युतीय बसहरू छन्, त्यसकारण त्यसबाट कहीँ पनि पुग्न सकिन्छ । अहिले पेकिङ्गबाट साङ्घाई जानु पर्यो भने अलिकति मात्रै समयको फरक पर्छ नत्रभने उस्तैउस्तै समयमा प्लेनले पुर्याएको समयमा रेलले पुर्याउँछ । तीब्र गतिका रेलहरू बनेका छन् । 
त्यसो भएर प्रविधिको प्रयोग गरेर हामी पनि त्यस्तै ढङ्गले आधुनिकतातर्फ छिटो अगाडि बढ्न सक्छौं । यो कुरामा हामी गर्न सक्छौं, आज त हामीसँग प्रविधि उपलब्ध छ । खाली हामीले प्रयोग गर्ने ल्याकत अलिकति विकास गर्नु पर्दछ । मोबाइल त सबैका हातमा छ । मोबाइलको कसरी प्रयोग गर्ने भन्ने कुरा मात्रै हो । मोबाइल हामीले बनाएको छैन । हामीले बनाएको इन्टरनेट छैन । हाम्रो स्याटलाइट र त्यससँग कनेक्ट भएको मोबाइल छैन । त्यसकारण एउटा कुरा बुझ्नु पर्छ कि कुनै पनि मोबाइल सुरक्षित छैन, मोबाइलमा कसैले गरेको कुरा पनि गोप्य हुँदैन । त्यो गोप्य हुँदै हुँदैन भन्ने कुरा बुझ्नु पर्छ । 
मैले र सभामुखज्यूले काठमाडौंमा आफ्ना आफ्ना मोबाइलबाट कुरा गर्यौं भने पनि त्यो सुरक्षित छैन भन्ने बुझ्नु पर्छ । हामी कहिले भाइवरमा जान्छौं, कहिले ह्वाटसपमा जान्छौं, कहिले कुन खोज्छौं । जुन सुकै पनि अर्काले बनाएको, अर्काको डेटामै जान्छ । मैले यहाँबाट मुख्यमन्त्रीज्यूलाई एसएमएस पठाएँ भने, पहिले यहाँबाट मुख्यमन्त्रीकोमा जाँदैन, त्यो सेन्टरमा जान्छ, सेन्टरमा टाइप भएर बस्छ, अनि उहाँको मोबाइलमा बल्ल आउँछ । यो सेकेण्डभन्दा कम समयमा होला सायद तर रेकर्डमा बसेको हुन्छ । आजकाल प्रविधिको धेरै विकास भएको छ । त्यसलाई हामीले ठीक ढङ्गले सदुपयोग गर्न सक्नु पर्दछ । अब विकास निर्माणका कुरामा आफूलाई खुला राखेर कुनै चिजबाट हुँदैन भन्ने कुरा होइन ।
ठूलो परिमाणमा कृषि उत्पादनमा जानु आवश्यक छ
अस्ति मैले सिन्धुली र रामेछापको जुनारको बारेमा बोलेको थिएँ । त्यहाँका किसानहरूको भनाइ के थियो भने खेती गर्नुभन्दा, अन्नबाली लगाउनुभन्दा दश गुणा बढी फाइदा जुनारले दिन्छ । त्यसमा अलिकति सरकारले सहयोग गर्दियो भने अझ राम्रो हुन्छ । मेरै नेतृत्वको सरकारका समयमा कृषिको विकासका लागि सुपरजोन, जोन, ब्लक र पकेट एरिया भनेर विभिन्न हजार विगा, पाँच सय विगा, दुई सय विगा आदि भनेर पकेट जोन गरिएको थियो । त्यो यत्तिकै गरिएको होइन । त्यसको प्रतिफल नवलपरासीले सागसब्जीमा देखाएको छ । नयाँ ढङ्गले कृषि गरेको छ । कुनै ठाउँले केमा देखाएको छ, अर्कोले अर्कोमा देखाएको छ । ठूलो परिणाममा, सगोलमा उत्पादन गर्यो भने बजारको समस्या हुँदैन । नत्र एक डोका घिरौला फलाएर त बेच्न कहाँ पठाउने ? छिमेकी कहाँ पनि घिरौला, अर्को कहाँ पनि घिरौला, कहाँ बिक्री हुन्छ ? एक डोका लिएर बुटवल जाने कुरा त आउँदैन, घोराही जाने कुरा पनि आउँदैन । यदि हामीसँग ट्रकका ट्रक भयो भने हामी काठमाडौं पठाउन सक्छौं र त्यहाँको थोक बजारमा कम्प्रमाइज गरेर बेच्न सक्छौं । कमसेकम बजार पाउँछ । तसर्थ, ठूलो परिणाममा खेती गरौं, जसले बजारको समस्या समाधान गर्छ । ठूलो मात्राको उत्पादनले बजारको समस्या समाधान गर्छ । 
अहिले हामीले सुन्छौं, डेरीमा गतिलो मान्छे परेन, जिम्मेवारखालको मान्छे परेन, त्यो सरकारी भयो, त्यसप्रति कोही जिम्मेवार नहुने, कसैलाई नोक्सान नपर्ने, सरकारको नोक्सान पर्ने, सिङ्गै देशलाई घाटा परेको व्यक्तिलाई मतलब छैन । किसानबाट दूध किन्छ– उधारोमा, बेच्छ– नगदानगदी, किसानलाई पैसा दिंदैन, अरु काममा खर्च गर्छ । यसै भएर त किसानको दूधको पैसा बाँकी रहेको हो नि । तर, यदि ठूलो परिणामको किसानहरूले दूध एक ठाउँमा जम्मा गर्यौं, धेरै गाई पाल्यौं, धेरै भैँसी पाल्यौं भने त्यहाँबाट अरु फ्याक्ट्रि खोल्न सक्छौं । हामीले दहीका, बटरका फ्याक्ट्रि खोल्न सक्छौं र अरु ठाउँमा पुर्याउन सक्छौं । चिज फ्याक्ट्रि खोल्न सक्छौं र अरु ठाउँमा पुर्याउन सक्छौं । छुर्पी फ्याक्ट्रि खोल्न सक्छौं, अरु ठाउँमा पठाउन सक्छौं । आफैँले कृषिमा र दूधमा आधारित ससाना उद्योगहरू राख्न सक्छौं । दुग्ध उत्पादनसँग सम्बन्धित उद्योगहरू खोल्न सक्छौं र किसानलाई त्यसको लाभ बढीभन्दा बढी दिन सक्छौं । यतापट्टी हामी जानु पर्छ । 
उद्योगहरूका लागि औद्योगिक क्षेत्रहरू तय भएका छन् । औद्योगिक क्षेत्रहरूमा उद्योग कसरी स्थापना गर्ने कुरामा तपाईंहरूले भन्दा बढी केन्द्र सरकारले नै सोच्नु पर्छ । किनभने बाह्य लगानी ल्याउने केन्द्र सरकारले नै हो । केन्द्र सरकारले कुन चिजमा कर कसरी छुट गर्ने, सुविधा कसरी दिने, आकर्षित कसरी गर्ने भन्ने केन्द्र सरकारले नै गर्नु पर्दछ । 
खरीद कानुन फेर्नै पर्ने, उद्योगसम्बन्धी कतिपय कानुन संशोधन गर्नु पर्ने देखेर नै हामीले अहिले अध्यादेशमार्फत् तुरुन्त सुरु गरेका हौं । तुरुन्त अध्यादेश ल्याएर काम सुरु गरेका हौं । आइटीको सेक्टरमा काम अगाडि बढाइहाल्न जरूरी छ । त्यसलाई अगाडि बढाएका हौं । अहिले २९ वटा कानुन हामीले हेरफेर गर्यौं र छ वटा अध्यादेशमा तिनीहरूलाई समेट्यौं । काम अहिले अगाडि बढेको छ । देशभरिका उद्यमी व्यवसायीहरू, तिनीहरूका सङ्गठनहरू, तिनका प्रतिनिधि र आइटी सेक्टरका युवाहरूले यो अध्यादेशलाई व्यापक स्वागत गर्नु भएको छ । आफ्नो क्षेत्रमा असाधारण परिणाममुखी काम भएका छन्, यसले नेपालमा ठूलो परिवर्तन ल्याउने छ भनेर आश्वस्त हुनुभएको छ र उहाँहरूले सरकारलाई धन्यवाद दिनुभएको छ । कहीं कतै कसैले विरोध गर्नु पर्ने भएकाले विरोध गर्नु बेग्लै कुरा हो । कसैका अरु प्रकारका सोचहरू होलान्, त्यस्ता कुराले विरोध हुनु बेग्लै कुरा हो नत्रभने यसको स्वागत भएको छ ।
केन्द्रका कानुनसँग नबाँझिनेगरी प्रदेशले कानुन बनाउनु पर्छ
म तपाईंहरूलाई धन्यवाद भन्न चाहन्छु, तपाईंहरूले धेरै कानुन यस बीचमा निर्माण गर्नु भएको छ । ६१ वटा कानुन निर्माण गर्नु भएको छ, धेरैवटा कानुन संशोधन गर्नु भएको छ । धेरैवटा नियमावली बनाउनु भएको छ । निर्देशिका बनाउनु भएको छ । कार्यविधि बनाउनु भएको छ । लगभग सवासय जति कानुनी क्षेत्रमा काम गर्नु भएको छ । यो आफ्नो क्षेत्रमा र तपाईंहरूका आफ्ना लिमिटेशन छन् । 
तपाईंहरूले उलटफेर कानुन निर्माण गर्न सक्नु हुन्न किनभने केन्द्रको कानुनसँग नबाँझिनेगरी मात्रै कानुन बनाउनु पर्छ । केन्द्रको कानुनसँग नबाँझिनेगरी बनाउँदा मूलतः केन्द्रको जस्तैजस्तै कानुन बन्छ । तपाईंहरूले खरीद ऐन सम्बन्धी केही गर्नु भयो भने केन्द्रको अहिलेसम्म मौजुदा कानुन जुन छ, त्यसैअनुसार हुन्छ । त्यसकारण केन्द्रले मुख्यरूपमा युुगान्तकारी कानुन बनाइदिनु पर्छ, जसमा हामी लागेका छौं । त्यसलाई फलो गरेर तपाईंहरूले कसरी युगान्तकारी काम गर्न/गराउन सक्नु हुन्छ, त्यसमा तपाईंहरू लाग्न सक्नुु हुन्छ र लाग्नु पर्छ । तपाईंहरूले कानुन निर्माण र कानुनको कार्यान्वयनका क्षेत्रमा होस् अथवा सभालाई सुसञ्चालन गरेर सभालाई प्रभावकारी ढङ्गले अगाडि बढाउने कुरामा होस्, हरेक कुरामा एउटा दृष्टान्तयोग्य ढङ्गले आफूलाई प्रस्तुत गर्नु भएको छ भन्ने मैले ठानेको छु, जो धेरै खुशीको कुरा हो । तसर्थ, म तपाईंहरूलाई यी सफलताहरूका लागि धन्यवाद भन्न चाहन्छु । 
म अब अलिकति देशको राजनीतिको सन्दर्भमा भन्न चाहन्छुुः विभिन्न प्रकारका हल्ला चल्न सक्छन् । नेपाली जनताले अत्यन्त लामो समयदेखि सङ्घर्ष गरेका छन् । राम्रोका लागि सङ्घर्ष गर्दा अथवा कहिले काहीं आशङ्काको भरमा नेपाली जनताले प्रताडित हुनुु परेको छ र यातना सहनु परेको छ । कसैले जीवन गुमाउनु परेको छ । यी सबै सङ्घर्षहरू र बलिदानहरूले दिएको सन्देश, त्यसले दिएको प्रेरणा, त्यसले दिएको हिम्मत, त्यसले जगाएको मनोबल र त्यसले आजको अवस्था अथवा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा छौं । आज हामी यस ठाउँमा पुगेका छौं । पर्सि ७ गते प्रजातन्त्र दिवस छ । नेपालमा सबैभन्दा ठूलो परिवर्तन २००७ सालको आन्दोलनले नै ल्याएको हो । अन्धकारयुगबाट दलीय युुगमा, राजनीति भन्न र गर्न नपाइने ठाउँमा राजनीति गर्न पाउने ठाउँमा हामी पुगेका छौं । 
मानव जातिले सुरु गरेका दुईवटा महत्वपूर्ण कुरा हुन्, राजनीतिको सन्दर्भमा र समाज व्यवस्थापनको सन्दर्भमा –एउटा राज्य व्यवस्था, त्यो भनेको राजनीति त्यहाँबाट पलायो । जब जङ्गली युुगबाट पशुपालन युगतिर अलिक समूह झुण्डतिर मान्छे गएर त्यसलाई सामाजिक रूप दिन थाल्यो, अहिलेभन्दा १५ हजार वर्ष अगाडि मान्छे जङ्गली अवस्थाबाट पशुपालनमा प्रवेश गर्यो । लगभग अहिलेभन्दा १२ हजार वर्ष अगाडि मान्छे कृषि युगमा प्रवेश गर्यो । ११/१२ हजार वर्ष अगाडि आलु उत्पादन गर्ने, गहुँ उत्पादन गर्ने जस्ता कुराहरू मान्छेले सिक्यो र कृषि युगमा, सञ्चयको युुगमा गयो । पहिले जङ्गली पशु मात्रै सञ्चय गर्ने गर्दथे । पछि अरु कुरा पनि सञ्चय गर्न थाल्यो । सञ्चय सुरु भएपछि त्यसको सुरक्षाको प्रश्न आयो, सुरक्षाको प्रश्न आएपछि राज्यको प्रश्न आयो । हितहरूको रक्षाको प्रश्न आयो । अनि राज्यका, मुखियातन्त्रका  विस्तारै विकास हुन थाले । राजनीति विभिन्न ढङ्गले विकास हुँदै गयो । समाज व्यवस्थापन ठूलो राजनीतिले मात्रै सकेन । विचारले त्यसलाई नियन्त्रण गर्न पर्यो । विचारले बाटो देखाउनुु पर्यो । मान्छेहरूलाई एक ठाउँमा विचारले ल्याउनु पर्यो । 
एउटा महाकालीको कांग्रेस मेचीको कांग्रेसलाई नचिनेको हुनसक्छ, लुम्बिनीको कांग्रेसलाई नचिनेको हुनसक्छ । लुम्बिनीको कांग्रेसले सोलुको कांग्रेसलाई चिन्दैन । लुम्बिनीको एमालेले गण्डकीको एमालेलाई चिन्दैन, गण्डकीकोले धवलागिरीकोलाई चिन्दैन । अर्कोले अर्कालाई चिन्दैन । एउटा विचार छ, त्यो विचारमा बाँधिएकालाई एमाले भन्छन्, तपाईं को ? भन्दा एमाले भनेपछि उसले चिन्यो । यो मान्छेको नाम जस्तै हो । मैले उहाँलाई (सभामुखलाई देखाउँदै) अगाडि सर्लक्कै अनुहार देखिसकेँ सबै देखिसकेँ, अनि सोध्छु म, उहाँ त मेरै अगाडि हुनुहुन्छ, तर म सोध्छु, यहाँ को हुनुभयो ? भनेर । मान्छे सर्लक्क देखिसकेँ, जन्मिएर राखेको नाम सोध्छु । मान्छे अगाडि हुँदा हुँदै यहाँको शुभ नाम के पर्यो ? भनेर सोध्छु । मान्छे सर्लक्क हुँदाहुँदै अर्को के परिचय खोजेको, यहाँ मान्छे त हुँदै हुनुहुन्छ । तर, उहाँ भएर भएन परिचय चाहियो । उहाँ भएर भएन, उहाँको नाम चाहियो । अनि यहाँको  वतन कहाँ हो, कहाँ बस्नु हुन्छ, आदि । यस्तै तपाईं को हो भन्दा म फलानो, चिनिएन । पहिले पहिले नाम भनेर चिनिदैनथ्यो अनि थर र गोत्र सोध्थ्यो । अहिले थर र गोत्र भन्दा म लुम्बिनी प्रदेशसभामा सभामुख छु भनेर परिचय दिइसक्नु भयो । फेरि म सोध्छु कुन पार्टीबाट ? अनि मात्रै चिनिन्छ । यो विचारले मान्छेलाई बाँध्ने कुरा हो । विपि कोइरालाले २०३५ सालमा बीबीसीलाई एउटा अन्तरवार्ता दिनुभएको थियो । त्यस अन्तवार्तामा विपि कोइरालाले के भन्नु भएको थियोभन्दा पहिले त नेपाल टुक्राटुक्रामा चिनिथ्यो । थरुहट भनेर चिनिन्थ्यो, तमुवान भनेर चिनिन्थ्यो, मगरात भनेर चिनिन्थ्यो, लिम्बुवान भनेर चिनिन्थ्यो, किरात भनेर चिनिन्थ्यो, यस्ता विभिन्न नामले चिनिन्थ्यो । एउटै चिज देशभरि लाने केही पनि थिएन । पार्टीहरू आइसकेपछि एउटै झण्डा मेची–महाकाली गयो । एउटै विचार मेची–महाकाली गयो । मेची–महाकालीलाई एउटै विचारले बाँध्यो, एउटै झण्डाले बाँध्यो, एउटा उद्देश्यले बाँध्यो, एउटा गन्तव्यले बाँध्यो र मान्छे एक ठाउँमा आबद्ध भए र नेपाल एउटा राष्ट्रको रूपमा चिनियो । 
राजनीतिक रूपले नेपाल एकीकरण २००७ सालपछि 
हो, पृथ्वीनारायण शाहले एकीकरण गरे । तर राजनीतिक रूपले एकीकरण भइसकेको थिएन । २००७ सालपछि एकीकरण भयो । विचारले एकीकरण गर्यो । विचारको झण्डाले एकीकरण गर्यो । सूर्य देख्ने बित्तिकै मान्छेले जानेको छ, हसिया हथौडा देख्ने बित्तिकै पनि जान्ला, चार तारे झण्डा देख्ने बित्तिकै पनि जानेको छ, अर्को कुनै झण्डा छ भने त्यो देख्ने बित्तिकै पनि जानेको छ । त्यसो भएर २००७ सालको क्रान्तिले ठूलो परिवर्तन ल्यायो । नागरिक अब रैती रहेनन्, प्रजा रहेनन्, नागरिक नागरिक भए र जनता भए । रैतीबाट नागरिकमा ल्याइयो । त्यसकारण त्यो दिन नेपालको इतिहासमा, लोकतान्त्रिक इतिहासमा सबैभन्दा ठूलो ऐतिहासिक दिन हो र त्यसभन्दा अगाडिका तमाम बलिदानहरूले सार्थकता पाएको र सबैभन्दा महत्वपूर्ण सार्थकता पाएको दिन हो । त्यसकारण हामी सबैले त्यसलाई त्यसैगरी बुझ्नु पर्छ । प्रदेशले धुमधामसँग फागुन ७ गते मनाउने छ भन्ने मैले विश्वास लिएको छुु । विद्यालय होस्, क्याम्पस होस् अथवा जहाँसुकै होस् कमसेकम फागुन ७ गतेलाई । नेपालको इतिहासमा अनेकले बलिदान दिएका छन् । हामीले थाहा नपाएका थुप्रो होलान्, थाहा पाएकोदेखि भन्ने हो भने जङ्गबहादुर कोतपर्वबाट १९०३ सालमा उनले शासन लिएपछि उनका विरुद्ध उत्रिएका बलदेव शाह बाकावीर, जो अछामका थिए, उनलाई एउटा इस्तियार जारी गर्यो कि जसले बलदेव शाह बाकावीर भन्नेलाई, उसलाई मारेर उसको टाउको मेरा अगाडि बुझाउन ल्याउनूू, म ५० हजार इनाम दिन्छु भने । त्यस बेला भन्ने हो भने कमसेकम आधा जिल्ला आउन्थ्यो त्यो ५० हजारले । त्यत्रो घोषणा गरेर उर्दी जारी गरे र जङ्गबहादुरको शासन स्थापना भएको तीन वर्षपछि १९०६ मा अछाममा टाउको काटेर झोलामा टाउको बोकेर ल्याएर राणाका अगाडि टाउको राखेर बक्सिस लिएर एकथरी मान्छे फर्किएका थिए । 
त्यसपछि विमान पण्डित भन्ने अर्का थिए, विमान पण्डित भन्ने मान्छेले विमान बनाए, विमानको आकार बनाए, इन्जिन अलिकति बनाए र अलिक उड्न उड्न खोज्ने जस्तो बनाए । त्यसमा उनलाई लागिरहन दिएको भए विमान बनाउथे । तर, विमान बनाउँदै छ रे, उडाउन मात्रै बाँकी छ भनेपछि राणाहरूले बोलाएर उनका दुईवटै हात काटिदिए ।  विमान पण्डित जसले हवाइजहाज बनाउन लाग्यो भनेर दुईवटै हात काटिदिए । त्यसपछि १९३३ मा लखन थापा, गोरखामा मलाई मनकामना भगवतीले राणालाई काट र तिमी राज गर भन्ने आदेश भएको छ, म त्यसै गर्छु, राणा काट्छु भनेपछि उनलाई राणाहरूले मारे र उनलाई पनि शहीद बनाए । यो १९३३ को कुरा हो अथवा राणा शासन आएको ३० वर्षपछि । त्यसपछि अनेक शहीदहरूको सिलसिला छंदैछ । ती इच्छाहरू, ती बलिदानहरू, ती सङ्घर्षहरू भए । 
गंगालाल श्रेष्ठ, उनी १९९४ मा त्रिचन्द्र क्याम्पसका विद्यार्थी थिए । उनले त्रिचन्द्र क्याम्पसमा १९९४ मा भर्ना भएपछि मानवअधिकार सम्बन्धी एउटा संस्था बनाएका थिए । १९९५ मा नेपालमा मानवअधिकार सम्बन्धी पहिलो भाषण दिने शहीद गंगालाल श्रेष्ठ हुन् । आमरूपमा जनता जम्मा गरेर राणा शासन अत्याचारी शासन हो, यसलाई उखेलेर फाल्नु पर्छ भनेर काठमाडौंको इन्द्रचोकमा १९९७ साल मङ्सिर १३ गते चर्को राजनीतिक भाषण गरेका थिए । यो राणाहरूलाई नउल्ट्याइ हुँदैन, शासनबाट नफ्याकि हुुँदैन, यी अत्याचारी शासकहरू हुन्, यिनलाई हटाउनु पर्छ भनेर उनले भनेका थिए । त्यसैबेला त्यहींबाट भूमिगत भएका उनी पछि गिरफ्तार भएपछि उनलाई गोली हानेर बीभत्स ढङ्गले मारेको थियो । १९९७ साल माघ १५ गतेको राती, १६ गते बिहान २ बजे उनको हत्या गरेको थियो । जेहोस्, यो सबै बलिदान, सङ्घर्ष, त्याग २००७ सालको आन्दोलनमा त्यसको विस्फोटको रूपमा आएको थियो । त्यसले नेपालमा सबैभन्दा ठूलो सामाजिक परिवर्तन ल्याएको थियो । त्यसकारण हामीले त्यसलाई मनाउनु पर्छ । हामी जन्मिएका थिएनौं होला, म पनि २००७ सालको आन्दोलनभन्दा पछि २००८ सालमा जन्मिएको हुँ । तर, त्यस आन्दोलनको प्रभाव चाहिँ नेपाली समाजमा परिसकेको थियो । 
आन्दोलनलाई  दबाउन सकिन्छ तर प्रभावलाई दबाउन सकिन्न, सङ्घर्ष दबाउन सकिन्छ तर प्रभाव दबाउन सकिन्न । उपलब्धि खोस्न सकिन्छ तर प्रभाव मेटाउन सकिंदैन । त्यसैगरी २००७ सालको सफलताको प्रभाव अगाडि बढेको थियो । 
देश बनाउने यथार्थ बाटो लिऊँ
आज हामी एउटा नयाँ अवस्थामा पुगेका छौं । यतिबेला राजनीतिक सन्दर्भ वा विचारको लडाइँलाई लिएर दन्तवजान गरिरहने बेला छैन । वास्तविक अर्थमा जानु पर्यो । वास्तविक अर्थमा विकास निर्माणका कामलाई अगाडि बढाउनु पर्यो । यो वादविवाद प्रतियोगिता होइन । वादविवाद प्रतियोगिता हाइस्कुलका बच्चाबच्चीलाई छोड्दिऊँ । हामी राजनीतिकर्मीहरूले देश बनाउने यथार्थ बाटो लिऊँं, मेरो सबै पक्षलाई पनि आग्रह छ । यहाँ सभामुख महोदयमार्फत् यस सभामा र यस सभामार्फत् म  देशभरिका सबै राजनीति पक्षहरू, पार्टीहरू, नेताहरूलाई भन्न चाहन्छु र आग्रह गर्न चाहन्छु, आवेश उत्तेजनामा होइन, कुनै सङ्कीर्ण लाभहरूका पक्षहरूलाई, हितहरूका पक्षहरूलाई हेरेर होइन, देशको विकासको आवश्यकतालाई हेरेर हामीले आज अगाडि बढ्नु छ । 
आज  देश अप्ठ्यारोमा पर्ने खतरा छ । हाम्रो अर्थतन्त्र कमजोर हुँदै गएको छ, अर्थतन्त्र कमजोर छ । अहिले भर्खर मेरो नेतृत्वमा सरकार बनेपछि यथार्थ के हो भने अलिकति अर्थतन्त्रलाई सम्हाल्न खोजेको छु । गत वर्ष २४ प्रतिशत राजस्व कम उठेको थियो । यसपटक तुलनात्मक रूपमा त्योभन्दा बढाएका छौं । तर अहिले पनि धेरै अस्तव्यस्तता, धेरै समस्याहरू छन् । जसलाई नियन्त्रण गरेर हामी अगाडि बढ्नु पर्नेछ । तसर्थ, म सबैलाई आग्रह गर्न चाहन्छु, धेरै अप्ठ्यारो परिस्थिति नभई, धेरै अप्ठ्यारोमा नपरिकन नेकपा (एमाले) र नेपाली कांग्रेस सबैभन्दा ठूला एक्लै बहुमत ल्याएर सरकार चलाउँछु भन्ने पार्टीहरू मिल्न जाँदैनथे होला । किन मिल्नु पर्यो भन्दा देशको अवस्था अप्ठ्यारो भयो, अर्थतन्त्र ओरालो लाग्यो, युवा विदेशिएका विदेशिएै भए, रोक्ने कसरी ?!, दुनियाँ आइटीमा कति अगाडि गइसक्यो, हामी अगाडि जान सकेनौं । अगाडि बढ्ने कसरी ? हामीसँग जमिन छ, किसान छन् । त्यसको फाइदा हामीले लिन सकेनौं । यति उर्वर जमिन छ । अरु कति  देशले यस्तो उर्वर जमिन पाउने हो भने कति विकास गर्दा हुन् ! तर हाम्रो देशले त्यस्तो अवसर किन पाइराखेको छैन ?, यस्ता पौरखी महान् विद्वान्, लडाकु मात्रै होइन, विद्वान् पुर्खाका सन्तान हामी, प्रकृतिले नै रोजेर हाम्रा भागमा पार्दिएको जस्तो धर्ती, किन हामी पछाडि पर्ने ? यो भइराखेको छ, यस्तो नहुनु पर्ने कुरा हो । यसलाई अगाडि बढाएर हामीले एउटा नमुनायोग्य विकसित देश बनाउनु छ । जसका अगाडि ठूला सम्भावनाहरू छन् । ती कुराहरूलाई मेट्रलाइज गर्ने, ती कुराहरू प्राप्त गर्ने हामीसँग सम्भावनाहरू छन् । तसर्थ, हामी अब विलम्व गर्न सक्दैनौं । त्यसैकारण अहिले नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर, अरु पार्टीहरूलाई पनि सामेल गरेर हामीले एउटा संयुक्त सरकार बनाएका छौं । केही पार्टीहरूलाई अझै हामीले सरकारमा मिलाउन सकेका छैनौं । तर हामी देश बनाऔं भन्ने नारामा छौं । कसले शासन गर्ने, कसलाई गर्न नदिने, को कहाँ आउने, को आउन नदिने यस्तो नीतिमा होइन । 
हामी देश बनाउने अभियानमा लागेका छौं
कतिपय साथीहरूले हल्ला गर्छन्, पार्टी फुटाउन लाग्यो आदि इत्यादी भनेर । मैले अस्ति संसदमा पनि भनेँ–यस्ता खुद्रा मसिना कुराहरूमा अल्झिने अहिलेको सरकारलाई समय छैन । न हामी कसैको पार्टी बनाइदिन लाग्छौं, न हामी कसैको पार्टी फुटाइदिन लाग्छौं । आफ्नो आफ्नो पार्टी आफूले बनाउने हो, आफूले चलाउने हो, आफूले विस्तार गर्ने हो, आफूले कमजोर पार्ने हो, आफूले बलियो बनाउने हो र जे गर्ने हो आफैँले गर्ने हो । हामी कुनै पार्टीको आन्तरिक मामलामा हस्तक्षेप पनि गर्दैनौं र फुटाउने कुनै शोख पनि छैन र हामीलाई चासो पनि छैन । हामी पार्टी फुटाउने होइन, हामी देश बनाउने अभियानमा लागेका छौं, अरु कुरामा हाम्रो चासो छैन । 
एउटा हल्ला चलेको छ, यो सरकार ढलिहाल्छ भनेर । यस्तो हल्ला नचलाए पनि हुन्थ्यो । यस्तो हल्लाले यो देश बन्दैन, यो काम लागेन भनेको भन्यै गरेर युवामा निराशा आउँछ, उनीहरू त धेरै विश्लेषण गर्न सक्दैनन् नि । तपाईंहरू देश विकासका लागि लागिरहनुु भएको छ त । सोचेजति गर्न सकिएको छैन होला, तर गर्न त खोज्नुु भएको छ नि । पहिले त त्यस कुराको कदर गर्नु पर्यो नि । तपाईंहरू लाग्नु भएको छ, यो सभाले यत्रा कानुन किन बनाएको छ, यत्रो कानुन संशोधन, यत्रो कार्यान्वयन, यति धेरै कानुन तपाईंहरूले किन बनाउनु भएको छ भने केही गरौं भनेर हो । त्यसलाई नदेख्ने, यो देशमा केही हुँदैन भनेर कुरा गरेर हुँदैन । अहिले राम्रो भइराखेको छ, राम्रो हुँदैछ । युवाहरू यहीं बसेर आफ्नो देश बनाउनु पर्छ । अर्काको देश बनाइदिएर, अर्काको देश सिगारिदिएर, कतिवटा देशमा हत्कडी लगाएर फर्काएको पनि देखियो । अरुको देश बनाउन गयो भने त्यस्तै कुनै समय आउन सक्छ । त्यसो भएर हामीले आफ्नो देश बनाउने र आफ्नो देश सिगार्ने काममा लाग्नु पर्छ, सकिन्छ, हामी सक्छौं । 
हामी यस्ता पुर्खाका सन्तान हौं, यस्ता देशका वासिन्दा  हौं, हामीले हाम्रा युवालाई, नयाँ पिँढीलाई बताउनु पर्दछ, स्कुलका, विश्वविद्यालयका, क्याम्पसका विद्यार्थीहरूलाई बताउनु पर्दछ, भर पर्ने नयाँ पिँढीमाथि, तिनीहरूलाई निराश बनाएर होइन, तिनीहरूमा आशावादिता जगाउनु पर्छ । त्यो हाम्रो नीति हो ।
तोप हाने पनि अबको १७ महिनासम्म सरकार ढल्दैन
मैले भनेँ, अब १७ महिना जति बाँकी छ कि छैन मेरो, सायद सातमहिना बितिसक्यो, अब मैले १७ महिना प्रधानमन्त्री चलाउँछु । १७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई प्रधानमन्त्रीत्व छोड्छु । यो त डिक्लियर छ । मैले आफैँ छोड्छु नि । केपी ओलीलाई हटाउनका लागि कुनै बल लगाउनुु पर्दैन, आफैँ छोड्छ बेला पुगेपछि । अर्को, बोटमै पकाउनका लागि दबाइ हाल्छन् कि हाल्दैनन्, टिपिसकेपछि केरा अथवा फलफूलमा औषधि हाल्छन् छिटो पकाउन । म त्यसरी छिटो पाक्ने खालको केरा अथवा फलफूल जस्तो त्यस्तो चिज होइन । बोटमै हाल कि निकालेर हाल त्यसबाट केही असर पर्दैन । १७ महिनालाई तोप हाने पनि सरकार ढल्दैन ल, केही गरे पनि सरकार ढल्दैन अथवा प्रधानमन्त्री ढल्दैन, सरकार त के ढल्नु छ र झण्डै दुईतिहाई छ, किन ढल्ने ? अब १७ महिनापछि केही बल गर्नु पर्दैन, आफैँ म राजीनामा दिन्छु र शेरबहादुरजीलाई सहयोग गर्छु । किनभन्दा सहज ढङ्गले मिलिमिलीकन देशको विकास गरौं । अहिले देशमा स्थिरता आएको छ । कसले के गर्ला आदि इत्यादी केही आशङ्का छैन । कांग्रेस र एमालेको बीचमा कुनै आशङ्का छैन । कतै गएर को मिल्ला भन्ने केही आशङ्का छैन । अहिले ढुक्क छ । बलिया पार्टीहरू मिलेर बलियो सरकार बनाएका छौं र स्थिरताका साथ डगमगाएको विश्वास पनि जगाएर अब अगाडि बढ्नु छ, देश र लोकतन्त्रका लागि ।
संविधान अझै समयानुकूल बनाउँदै लैजाने हो
हामीले संविधान संशोधन गर्ने भनेका छौं । संविधान संशोधन गर्ने भनेको बिगार्नलाई होइन । म कुनै वादविवादका विषयहरूमा जान इच्छा गर्दिनँ, जान चाहन्नँ । तर, संविधान मास्न खोजे भन्ने यस्तो विलकूल होइन । म साथीहरूलाई भन्न चाहन्छु, संविधान बनाउन लागेका हामीहरू हौं । सधैं बहुदलीय व्यवस्था ल्याउन लागेका हामीहरू हौं, बहुुदलीय व्यवस्थाका लागि लडेर, बहुदलीय व्यवस्थाको संविधान बनाएर अनि हामी आफैँले बनाएको संविधान, साम्प्रदायिक विद्वेषका विरुद्ध विविधतामा एकता भनेर सामाजिक न्याय र समानतामा आधारित सद्भाव, सद्भावमा आधारित राष्ट्रिय एकता र राष्ट्रिय एकताका साथ राष्ट्रनिर्माणको नाराका साथ हामी अगाडि बढेका हौं । त्यसकारण संविधान तलमाथि पर्ने कुरा होइन, हामीले बनाएको संविधान हो । हामी रक्षा गर्छौं । हामी त्यसलाई अझै समयानुकूल बनाउँदै लान्छौं । 
विकासका लागि कसरी अनुकूल हुँदै जान्छ, हामी कानुनहरूमा फेरबदल गर्दै जान्छौं । हामीले बनाएका कानुन कति छन्, कति पुराना कानुन पनि छन् । २०१२ सालमा बनेका कानुन पनि हामीले बोकेर हिंडिराखेका छौं । तिनीहरूलाई विस्थापित नै गर्नु पर्ने छ । तर बुद्धिमतापूर्ण ढङ्गले हामीले विस्थापित गर्ने छौं । तसर्थ, म साथीहरूलाई आग्रह गर्न चाहन्छु, कुनै प्रकारका भ्रममा नपरिकन आफ्नो प्रदेशको विकासमा केन्द्रित भएर सबै जाति, भाषा, धर्म संस्कृतिको सम्मान गर्ने, सबैको संरक्षणमा योगदान पुर्याउने र सबैको भलो होस् भन्ने चिताएर काम गर्ने र जातीय, धार्मिक, भाषिक कुनै हिसाबले पनि साम्प्रदायिक विद्वेष फैलिन नदिने, यी कामहरू हामीले गर्नु पर्छ कि कुनै जातीय विद्वेष नफैलियोस् । हिन्दु र मुसलमानका नाममा कुनै अप्रिय स्थिति नबनोस् । राष्ट्रिय एकता बलियो हुनेगरी कानुनहरू निर्माण, परिमार्जन, परिवर्तन र संशोधन गर्ने कुरामा ध्यान दिइरहेका छौं र ध्यान दिन्छौं । 
म साथीहरूलाई आग्रह गर्न चाहन्छु, त्यसैगरी छिटोछिटो कानुन निर्माण गर्नु भएकोमा पनि तपाईंहरूलाई धन्यवाद भन्न चाहन्छु । 
म अब धेरै समय नलिऔं, यहाँहरू सबैलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु । पछि अनुकूल समयमा विस्तृत र बुँदागत रुपमा (बुँदागत किन भनेको भन्दा लामो समय नलागोस् भन्नका लागि हो) त्यस ढङ्गले फेरि यहाँहरूसमक्ष आफूलाई प्रस्तुत गर्ने छु । अहिलेलाई सभामुख/उपसभामुखज्यूलाई धेरै धेरै धन्यवाद, मुख्यमन्त्रीज्यू, मन्त्रिपरिषद् सबैलाई धन्यवाद । सबै प्रदेशसभा सदस्यज्यूहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । तपाईंहरू सबैलाई सफलता मिलोस् । यो प्रदेशसभा एउटा नमुनाको रूपमा सफल हुन सकोस् । त्यसमा केन्द्र सरकारको पूराका पूरा साथ सहयोग रहनेछ भन्ने विश्वास पनि दिलाउन चाहन्छु । धन्यवाद । 
(सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ फागुन ५ गते लुम्बिनी प्रदेशसभालाई गर्नुभएको सम्बोधनको पूर्णपाठ) 

  

सम्बन्धित