NP EN

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने होः प्रधानमन्त्री

कोशी प्रदेशसभामा विशेष सम्बोधन

२७ फागुन (२०८१), विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीब्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताउनुभएको छ । 
कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि जानकारी गराउनुभयो । 
यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उहाँले संविधानसम्मत, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो– हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहन्छौँ । गरिबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौँ । समग्र मानवीय जैविक र न्यायोजित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुछ । नागरिक सर्वोच्चता भएको यस प्रणालीमा रहेर अब हामी समृद्धिका लागि छिटो काम गर्न चाहन्छौँ । रोजगारीका अवसर सिर्जना गर्न चाहन्छौँ । त्योभन्दा पहिला हामीले उद्यमशीलतामा जोड दिनुपरेको छ । त्यसकारण देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो । संविधानबमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नुपर्छ ।
देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन गरेर विविधताबीच एकता कायम गरेर ज्ञान र गौरवको यस नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । 
उहाँले जनताको न्यायोचित आवश्यकता सहज पूर्ति हुनुपर्नेमा जोड दिँदै प्रदेश सरकारलाई विकास र सुशासनको लागि उचित नीति बनाउन सुझाव दिनुभयो । 
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुरूआतको थोरै अवधिमा धेरै काम भएको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले व्यवस्थामा परिवर्तन आयो तर अवस्थामा परिवर्तन आएन भन्ने भाष्य गलत भएको बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षालाई पूरा गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
कृषि, उद्योग, पर्यटन, सेवा, शिक्षा, स्वास्थ्य, वातावरण र रोजगारीका क्षेत्रमा सरकारले निकै सराहनीय काम गरेको र बेरोजगारी अन्त्य गर्न उद्यमशीलतामा जोड दिनुपर्ने प्रधानमन्त्रीले बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकास गर्न र जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सातवटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना रहेको जानकारी दिँदै सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई रक्षा गर्छ भन्नुभयो ।
प्रधानमन्त्री ओलीले कोशी प्रदेश ज्ञान, सभ्यता र त्यागको भूमि भएको बताउँदै सन्तुलित वातावरण र उचित पर्यावरण बनाउन कोशी प्रदेशका हिमालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
‘प्राकृतिक हिमाल र भूगोल एवं सम्पदाको धनी कोशी प्रदेश हाम्रो लागि गौरव हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो– जातजाति, धर्म, संस्कृति र कलाको धनी यो प्रदेशमा अनेक प्राकृतिक सम्पदा र धार्मिक आस्थाका धरोहर छन् ।
उहाँले दिगो विकास लक्ष्यमा नेपाल ४८ प्रतिशत प्रगति हासिल गरेको बताउनुभयो । 
‘म शान्ति, राष्ट्रिय एकता र विकासका निम्ति अडिग छु । व्यावसायिक दक्षताको कमीका कारण नेपाली श्रमिक उचित पारिश्रमिक नपाउने कारणले वैदेशिक रोजगारमा जाने गरेका छन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो– लोकतन्त्रमा नै सामाजिक न्याय र समानता हुन्छ एवं नागरिकको सर्वाेच्चता कायम हुन्छ ।
सरकार भ्रष्टाचार नियन्त्रणको बाटोमा अघि बढेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले देश बनाउने अभियानमा एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले कोशी प्रदेश सरकार सक्रियता र सक्षमताका साथ अघि बढ्नुपर्ने र यसका लागि सङ्घीय सरकार सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

 

सम्बन्धित