NP EN

जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सिङ्गो पार्टी परिचालित हुनुपर्छः  प्रधानमन्त्री

३० मङ्सिर (२०८१), काठमाडौं  । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्न पार्टीपङ्तीर्तालाई आग्रह गर्नुभएको छ ।
पार्टीको केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको परिस्थितिमा परिवर्तन ल्याउने गरी सिङ्गो पार्टीपङ्ती परिचालित हुनुपर्नेमा जोड दिनुभयो ।
चिनियाँ कम्युनिष्ट पार्टीको सङ्घर्ष, सफलता र हाल चीनको तीब्र आर्थिक विकासलाई दृष्टान्तका रूपमा प्रस्तुत गर्दै अध्यक्ष ओलीले सबै कुरामा तयार भएर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन लाग्नुपर्ने बताउनुभयो । 
पार्टीभित्र वैचारिक स्पष्टता र एकता कायम गरेर समाजवादको यात्रामा अग्रसर हुनुपर्ने बताउँदै उहाँले कार्यशालामा सहभागी हरेक सदस्यले यसको सन्देश आम जनसमुदायमा सम्प्रेषण गर्न आग्रह गर्नुभयो । 
चिनियाँ कम्युनिट पार्टीले केही पनि नभएको ठाउँबाट राज्यसत्तामा पुगेर श्रेष्ठता हासिल गर्दै अहिले चीनलाई आर्थिकरूपमा महाशक्ति राष्ट्र बनाएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ओलीले त्यहाँ पार्टी नेतृत्वलाई कुनै पनि नेताले विरोध नगर्ने गरेको स्मरण गराउनुभयो । चीनले अन्य समाजवादी मुलुकको नक्कल नगरी आफ्नै विशेषताको समाजवादको यात्रा थालेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एमालेले पनि नेपालमा समाजवाद स्थापनाको लक्ष्यमा आफूलाई अग्रसर गराउँदै  आएको जनाउनुभयो । 
पार्टीका नेताकार्यकर्ताले आजको माक्र्सवाद के हो र हाम्रो गन्तव्य के हो भन्ने बुझ्नुपर्ने बताउँदै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै हाम्रा गन्तव्य र नेपाली पाराको समाजवाद हो भन्नुभयो । 
यो गन्तव्यमा पुग्ने भौतिक तागत जनता हुन् र गन्तव्य पनि जनता केन्द्रित हो भन्ने कुरा जनतालाई सहमत गराउनु नै अहिलेको महत्वपूर्ण काम भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । 
नेकपा (एमाले) आफ्नै शक्तिमा भर पर्ने र भरपर्दो सहकार्य गर्ने पार्टी भएको बताउँदै आफ्नो शक्ति सुदृढ बनाउन सदस्यता विस्तार  र जनतामा भिजेर आधार तयार गर्न निर्देशन दिनुभयो । 
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले भन्नुभयो– हाम्रो पार्टी केवल राजनीति गर्न जन्मेको होइन । समाजवाद र राष्ट्रवादको महान् उद्देश्य बोकेर देश बनाउन र सकारात्मक परिवर्तन ल्याउन जन्मेको पार्टी हो । यसले सामाजिक परिस्थितिलाई उच्चतम रूप दिन सुरुवातदेखि नै लाग्दै आएको छ ।
जनताले सजिलोसँग खान, लाउन, बस्न पाउने तथा छोराछोरी पढाउन पाउने, बिरामी हुँदा उपचार गर्न पाउने आधारभूत आवश्यकताको परिपूर्ति तथा राजनीतिक अधिकार पाउनुपर्ने भन्ने उद्देश्यले कम्युनिष्ट पार्टीको स्थापना भएको चर्चा गर्दै उहाँले भन्नुभयो– राजनीतिक अधिकार प्राप्त भएको छ, अब स्थिरता र स्थायित्व कायम गरेर आर्थिक उत्पादन र समृद्धिमा लाग्नुपर्ने छ ।
इतिहासकालदेखि पार्टीमा वैचारिक स्पष्टता र एकता हुन नसक्दा वाञ्छित उपलब्धि हासिल हुन नसकेको बताउँदै उहाँले विगतमा पार्टीभित्र बिमति जनाउने तर सही बाटो के हो भनेर पहिल्याउन नसक्ने प्रवृत्ति देखापर्दै आएको स्पष्ट गर्नुभयो ।
प्रतिक्रियावादीले कम्युनिष्ट पार्टीलाई विभाजन गराएर राज गर्ने नीति लिए पनि पुष्पलालले पार्टी एकताको प्रयास गरेको स्मरण गर्दै अध्यक्ष ओलीले आफूलाई जे लाग्यो त्यही सही भन्ने प्रवृत्तिबाट मुक्त भई सही कुरा अपनाउने र त्यसमा अडिग रहने इमान्दारिता नेता–कार्यकर्तामा आवश्यक हुने बताउनुभयो । 
शनिबार सुरु भएको कार्यशालामा पार्टीका सबै प्रदेश र जिल्ला कमिटीका  अध्यक्ष, सचिव, सङ्गठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई महिला, जनसङ्गठनका केन्द्रीय अध्यक्ष÷महासचिव र महानगर÷उपमहानगरकाका पार्टीबाट निर्वाचित प्रमुख÷उपप्रमुहरूको सहभागिता रहेको छ ।

सम्बन्धित