NP EN

जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण शुभारम्भ

२४ मङ्सिर (२०८१), झापा । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापाको गौरादह  नगरपालिका वडा नं. ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरणको आज शुभारम्भ गर्नुभएको छ ।
साबिक महारानीझोडा गाविसमा चार हजार घरधुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाई समाधानको पहल गरेपछि प्रमाणपुर्जा वितरण सुरु हुन सकेको हो ।
प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरूका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरूले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए पनि नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमति अनुसार अबको १८ महिनापछि नेपाली कांग्रेसका सभापतिलाई सत्ता हस्तान्तरण गर्ने पुनः स्मरण गराउनुभयो ।

सम्बन्धित