NP EN

चिसोबाट बचाउने पूर्वतयारी गर्न विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह

१० मङ्सिर (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले)को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई मधेस र देशभरका जिल्लाका नागरिकलाई चिसो मौसममा ठण्डीबाट बचाउने पूर्वतयारी गर्न ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विभागका प्रमुख खिमलाल भट्टराईसहितको टोलीले आज प्रधानमन्त्रीलाई भेटेर जाडोको समयमा न्यानो कपडा र  दाउराको अभावमा मधेस, देशभरका विपन्न वस्ती र परिवारलाई बढी पीडा दिने गरेको सन्दर्भमा पूर्वतयारी गर्न आग्रह गरेको हो ।
ध्यानाकर्षणपत्रमा गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका साथै सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, दोलखा, सिन्धुलीलगायतका जिल्लामा धेरै बस्तीहरू डुबान र पहिरोमा परेकाले प्राकृतिक प्रकोपबाट उठीबास भएकाहरूलाई जाडो समयमा थप सुरक्षा प्रबन्ध गर्न राज्यका सम्बन्धित निकाय तथा संस्थाहरू लाग्नुपर्ने उल्लेख छ ।
प्रधानमन्त्री ओलीले उक्त ध्यानाकर्षणपत्रमा उल्लेखित विषय सम्बोधनका लागि गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा तत्काल पठाइने बताउँदै विपद्को पूर्व तयारी र विपद्पछिको खोज, उद्धारमा लाग्नुपर्नेमा जोड दिनुभयो । 

सम्बन्धित