११ साउन (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो विश्वविद्यालयको १५औं सभामा कुलपति ओलीले देशको सिङ्गो शैक्षिक उन्नयनमा सक्दो योगदान दिने गरी काम गर्न आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले नेपालको राज्य प्रणालीको जगको इतिहाससँग जोडिएको कर्णाली प्रदेशलाई नवीन जागरण दिने गरी सो विश्वविद्यालयले काम गर्नुपर्नेमा जोड दिँदै सरकारको सम्पूर्ण ध्यान मुलुकमा सकारात्मक रुपान्तरण र विकासमा रहेको स्पष्ट गर्नुभयो ।
सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटलगायतका कार्यसूचिसम्बन्धी प्रस्तावमाथिको छलफलसत्रमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईले अध्यक्षता गर्नुभएको थियो । विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले १३१ शिक्षकको दरबन्दी स्वीकृतिका लागि आग्रह गर्नुभएको थियो ।