NP EN

गणतन्त्रलाई सबल बनाउन सरकार कटिबद्ध छः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बुटवलमा जागरणसभा

-एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरू असफल भए
-प्रतिगामी तत्वहरू विगतको निरङ्कुश राज सम्झिएर अहिले अराजकता मच्चाउन खोज्दै छन्
-जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तका पछि लाग्नु बेकार छ

-मान्छेको घरमा आगो लगाएर  र पसलबाट चोरेर भाग्नेहरूले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन् 
-राम्रा कामलाई ओझेल पार्न गरिएका गलत प्रचारलाई चिरेर अगाडि बढ्नुपर्छ 

 -शिक्षा ऐन चाँडै आउँछ, शिक्षकहरू आन्दोलनमा बसिरहनुपर्दैन 

२९ चैत (२०८१), रुपन्देही । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरू असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताउनुभएको छ ।
नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरूले एमालेलाई विभाजनको कोशिश गरे पनि उनीहरू असफल भएको बताउनुभयो । 
प्रधानमन्त्रीले भन्नुभयो– एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरू पार्टीमा आउनेछन् । यस देशको विकासको भाग्यरेखा हामी आफै कोर्छौं । मान्छेको घरमा आगो लगाएर  र पसलबाट चोरेर भाग्नेहरूले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन् ।
राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको बताउनुभयो । 
उहाँले विगतमा आफ्ना कुशासन र निरङ्कुशताको राज सम्झिएर प्रतिगामी तत्वहरूले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफबाह फैलाउन खोजे पनि त्यसबाट विचलित नभई समृद्धि र सुशासनको अहिलेको यात्रामा योगदान दिन सबैमा आग्रह गर्नुभयो । अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा पछि लाग्नु बेक्कार भएको जनाउँदै उहाँले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासलाई तीब्र गति दिन वर्तमान संयुक्त सरकार कटिबद्ध रहेको स्पष्ट गर्नुभयो । 
देशका ठुला दलहरू नेपाली काँग्रेस र एमालेले मुलुकलाई स्थायित्व दिन र देशलाई परिवर्तनका लागि सरकार बनाएकाले यो सरकार (गठबन्धन) आगामी निर्वाचनसम्म जाने स्पष्ट गर्दै प्रधानमन्त्रीले भन्नुभयो– यो सरकार ढल्न त के हल्लन पनि हल्लिँदैन ।
प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको पालामा लुम्बिनीमा विभिन्न राजमार्ग, अस्पताल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र, कृषि उत्पादन क्षेत्रको विकासजस्ता अनेकै विकास र प्रविधिका योजना र कार्यक्रमहरू ल्याएको स्मरण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनु नपर्ने बताउनुभयो ।
अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने खालको सरकार भएकाले शिक्षकहरू आन्दोलनमा रहिरहन नपर्नेमा उहाँले जोड दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो– समस्याहरू छन् तर सडकमा गइरहनुुपर्ने थिएन । म शिक्षकहरूलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहन्छु । तपाईंहरूले आफ्ना समस्या मात्रै नभई राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ ।
अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुुलपतिसँग आफ्नो भिडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको स्पष्ट गर्नुभयो । 
जागरण सभामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समृद्धि र सुशासनका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा भएका राम्रा कामलाई ओझेलमा पार्ने गरी गरिएका गलत प्रचारलाई चिरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले एमाले र यसको नेतृत्वले देश र जनताका पक्षमा गरेका कामबारे आफूहरू खुलस्त छलफल गर्न तयार रहेकाले विपक्षी र प्रतिगामी पक्षहरूबाट हुने गलत प्रचारको पछि नलाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सङ्घीय सरकारका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।


 

सम्बन्धित