NP EN

खाद्यवस्तुको सहज आपूर्ति होस्ः प्रधानमन्त्री ओली

१६ भदौ (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं तिहारलगायत महत्वपूर्ण चाडका समयमा खाद्य वस्तुको सहज आपूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
सो मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिनुभएको हो । 
प्रधानमन्त्री ओलीले खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, मानवीयता र व्यवसायिकताभन्दा नाफा र स्वार्थ मात्रै देख्ने प्रवृत्तिसँग सम्झौता नहुने स्पष्ट गर्नुभयो । 
उहाँले भन्नुभयो– चिनीलगायत सामानमा कालोबजारी गरेर बढी नाफा लिने प्रवृत्ति हुनसक्छ, त्यस्तो गर्ने व्यापारीलाई व्यापार गर्न नदिएर साल्ट ट्रेडिङलाई जिम्मेवारी दिन सकिन्छ । यस्ता विषयमा कुनै सम्झौता हुँदैन । कुनै भनसुन चल्दैन । 
उद्योगमन्त्री दामोदर भण्डारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरूसहितको छलफलमा प्रधानमन्त्री ओलीले समग्रमा आयात घटाउन र निर्यात बढाउन तथा  विषादीयुक्त खाद्य पदार्थ आयात–निर्यात नगर्न आग्रह गर्नुभयो । 
उहाँले नेपालमा फलाम, युरेनियम आदि खानीजन्य पदार्थको उत्खनन्को  क्रम चले पनि तिनलाई कच्चा पदार्थमा बिक्री वितरण नगरी उद्योग सञ्चालन र सामग्री उत्पादनमा प्राथमिकता दिन आग्रह गर्नुभयो । 
प्रधानमन्त्री ओलीले जोखिमयुक्त स्थानमा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल आयल निगमको भण्डारण र थानकोटको डिपोलाई बस्ती कम भएको स्थानमा स्थानन्तरण गर्न निर्देशन दिनुभयो । 
उहाँले दैलेखको पेट्रोलियम पदार्थको उत्खनन् कार्य छिटो सक्न आग्रह गर्दै पुँजीपतिलाई नाफा हुन्छ भन्दैमा मानवीय स्वास्थ्य र मुलुकको छविमा प्रतिकूल असर पर्ने गाँजा खेतीजस्ता काममा धेरै नहौसिन सुुझाउनुुभयो ।
यसअघि प्रधानमन्त्री ओलीले सोही मन्त्रालयको उद्योग क्षेत्रसँग सम्बन्धित विषयमा ब्रिफिङ लिनुभएको थियो ।

 

सम्बन्धित