NP EN

क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खोलिने

८ असोज (२०८१), न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न सङ्गठनले सो क्यालिफोर्नियामा महावाणिज्यदूतावास खोल्न माग गरेपछि प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
अमेरिकाको पश्चिमी क्षेत्रमा पर्ने सो राज्यमा करिब एक लाख नेपाली रहेका र हाल नेपालको महावाणिज्यदूतावास रहेका ठाउँहरू न्युयोर्क वा वासिङ्टन डिसीमा पुगेर सेवा लिन टाढा पर्ने भएकाले क्यालिफोर्नियाको सन फ्रान्सिस्को सहरमा कन्सुलर कार्यालय खोल्न नेपाली जनसम्पर्क समिति, नेपाली एशोसियसन अफ नर्देन क्यालिफोर्नियालगायत संस्थाबाट माग गरिएको थियो ।
महावाणिज्यदूतावास स्थापना भएमा राहदानी नवीकरणलगायत नेपाली समुदायले भोग्नुपरेका समस्याको धेरै हदसम्म सम्बोधन हुने भएकाले ती संस्थाहरूले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न आग्रह रहेका हुन् ।
प्रधानमन्त्री ओलीले उक्त मागप्रति आफू सकारात्मक रहेको बताउँदै नेपाल सरकारले यसबारे छिट्टै निर्णय गर्ने विश्वास दिलाउनुभयो । 
प्रधानमन्त्रीले भन्नुभयो– तपाईंहरू ढुक्क भएर जानुहोस् । क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने विषयमा हामीले सोच बनाइसकेका छौं ।
क्यालिफोर्निया राज्य विज्ञान र प्रविधिको हबका साथै सिलिकन भ्यालीसमेत भएकाले त्यसबाट नेपाल र नेपालीहरूले व्यापारिक तथा प्रविधिगत लाभ लिनसक्ने मागपत्रमा उल्लेख गरिएको छ । 
शिष्टताको परिचय दिन आग्रह
प्रवासी नेपाली समुदायका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई राष्ट्रसङ्घको सहभागिता र अमेरिका भ्रमण सफलताको कामना गर्दै नेपालको समृद्धि र विकासका लागि प्रवासमा रहेका नेपालीले पनि भूमिका खेल्ने जनाएका थिए । उनीहरूले दोहोरो नागरिकताका समस्या र नेपालको संविधान संशोधनका सवालबारे पनि विचारविमर्श गरेका थिए । 
प्रधानमन्त्री ओलीले नेपालीहरू जहाँ रहे पनि शिष्ट र मर्यादित हुनुपर्नेमा जोड दिँदै गैरआवासीय नेपाली सङ्घभित्र पनि विवाद भइरहने स्थिति अन्त्य हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो– नेपालीहरू जहाँ भए पनि यस्तै हो भन्ने प्रभाव पार्नु हुँदैन । साना स्वार्थले बुझ्दै नबुझी नराम्रा व्यवहार गर्न पुग्छन्, तिनीहरूलाई सम्झाइबुझाइ गरेर सही मार्गमा ल्याउनु हाम्रो दायित्व हो ।
एकपटकको नेपाली सधैंका लागि नेपाली हुने मान्यतासहित काम गर्न आग्रह गर्दै राजनीतिक अधिकार प्रयोग गर्नुपरेमा प्रवासको नागरिकता निस्क्रिय पारेर गर्न सकिने उहाँले बताउनुभयो ।
राजनीतिक प्रसङ्गमा सहभागीको जिज्ञासामा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्यमान्यता, सङ्घीयता, गणतन्त्र र मुलुकको सार्वभौमसत्ताको रक्षाजस्ता विषयमा संविधान संशोधनमा हेरफेर नहुने भन्दै संविधानलाई परिस्कृत बनाउने क्रममा संशोधन आवश्यक पर्ने बताउनुभयो । 
उहाँले संविधान संशोधनको विषयमा दलहरूबीच आपसी छलफल गरी सहमतिका आधारमा गरिने स्पष्ट गर्नुभयो ।
टेक्ससमा पनि महावाणिज्यदूतावास खोल्न माग
यसैगरी नेपाली सोसाइटी अफ टेक्सस र नेप्लिज अर्गनाइजेशन अफ टेक्सस एण्ड साउदेन युनाइटेड स्टेट्सले प्रधानमन्त्री ओलीलाई भेटेर टेक्ससमा पनि नेपाली महावाणिज्यदूतावास खोल्न माग गरेका छन् । ती संस्थाले त्यहाँ कन्सुलर कार्यालय खोल्नका लागि निःशुल्क कार्यालय उपलब्ध गराउने अवगत गराएका छन् । प्रधानमन्त्री ओलीले त्यसबारे आवश्यक छलफल गर्ने बताउनुभएको थियो ।
नेपालमा क्यानाडाको दूतावास खोल्न पहल गर्न आग्रह
यसैगरी क्यानडामा रहेका नेपाली समुदायका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई भेटेर नेपालमा क्यानाडाको दूतावास खोल्न पहल गर्न आग्रह गरेका छन् । हाल भारतमा गएर नेपालीले क्यानाडाको प्रवेशाज्ञा लिनुपर्नेलगायत समस्या रहेकाले नेपालमा दूतावास खोल्नु आवश्यक भएको हुँदा त्यसका लागि पहल गर्न उनीहरूको आग्रह थियो ।

सम्बन्धित