NP EN

केन्द्रीय सचिवालयको ४४औं बैठकः भदौमा विधान महाधिवेशन गर्ने निर्णय

८ माघ (२०८१), काठमाडौं । नेकपा (एमाले) को विधान महाधिवेशन आगामी २०८२ साल भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरी सनराईज हलमा आयोजना गरिने भएको छ । 
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज साँझ बसेको केन्द्रीय सचिवालयको ४४औं बैठकले विधान महाधिवेशन गर्ने निर्णय गरेको हो । 
बैठकले वडाकेन्द्रित तीनमहिने संगठनात्मक कामलाई प्रभावकारी बनाउने, विभिन्न प्रदेश कमिटीमा भएको सदस्यको मनोनयनलाई अनुमोदन गर्ने निर्णय गरेको छ । 
बैठकले वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने निर्णय गरेको छ । 
बैठकले गरेका निर्णयहरू यस प्रकार छन्ः
१.माघ, फागुन र चैत्र महिनामा वडा केन्द्रित अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्ने । अभियानमा सम्पूर्ण पार्टीपङ्क्तिको परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने ।
२.अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेका प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने ।
३.पार्टीको विधान महाधिवेशन २०८२ साल भाद्र २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदावरी सनराईज हलमा आयोजना गर्ने ।
४.वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने ।

सम्बन्धित