३१ असोज (२०८२), ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटीको दशौं पूर्ण बैठक अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत ‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीतिसम्बन्धी विशेष प्रस्ताव’ महत्वपूर्ण छलफल गरेर सुझावसहित सर्वसम्मतिले पारित गर्दै सम्पन्न भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता र महासचिव शंकर पोखरेलको सञ्चालनमा यही २०८२ असोज २९, ३० र ३१ गते तीनदिनसम्म ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बसेको बैठकले पार्टीको ११औं राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने निर्णय गरेको छ । साथै, बैठकले विभिन्न समसामयिक महत्वपूर्ण प्रस्तावहरू समेत पारित गरेको छ ।
बैठकको आरम्भ र समापनमा अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको थियो । अध्यक्ष ओलीले भन्नुभएको छ– पार्टी नीति, विधि र निर्णयले चल्छ, बाहुबलले चल्दैन । म सदैव पार्टीको एकताको पक्षमा छु । सबै साथीहरूलाई हार्दिकताका साथ एकताबद्ध भएर अगाडि जानुपर्ने कुरामा जोड दिन्छु । आजको सङ्कटको समाधान गर्न, लोकतन्त्रको रक्षा गर्न, संविधानलाई लिकमा लान पनि प्रतिनिधिसभाको पुनस्र्थापना आजको हाम्रो मुख्य माग हुनुपर्दछ । अहिले तोकिएको निर्वाचन देखाउने दाँत मात्र हो । सरकार व्यवहारतः निर्वाचनको पक्षमा छैन ।
बैठकमा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी, केन्द्रीय सचिवालय, केन्द्रीय पदाधिकारीले आफ्नो सुझावसहितको मन्तव्य राख्नुभएको थियो । यसक्रममा बैठकमा केन्द्रीय कमिटीका २३३ जना, प्रदेश कमिटीका अध्यक्ष आठ जना, पोलिटब्युरोका ४६ जना, स्थायी कमिटीका २१ जना, केन्द्रीय निकायका तीनजना र पदाधिकारी १७ जनाले सुझावसहितको मन्तव्य राख्नुभएको थियो ।
बैठकमा चारवटै आयोगका अध्यक्षहरू क्रमशः अनुशासन आयोगका अध्यक्ष केशव वडाल, सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोरा, लेखा परीक्षण आयोगका अध्यक्ष डा. पुष्प कँडेलले आफ्नो मन्तव्यसहित सुझाव राख्नुभएको थियो ।
बैठकले समसामयिक प्रस्तावहरू पारित गरेको छ । जुन देहाय बमोजिम रहेका छन्ः
प्रस्तावमा भनिएको छ–भदौ २३ र २४ गते मुलुकमा घटित घटनाक्रम र त्यसपछि उत्पन्न असामान्य परिस्थितिबारे अध्यक्षबाट प्रस्तुत विशेष राजनीतिक प्रस्तावमार्फत् सङ्क्षिप्त विश्लेषण गरिसकिएको छ र बैठकले त्यसको लोकतान्त्रिक निकासका लागि सामान्य मार्गचित्र पनि प्रस्तुत गरिसकेको छ । यसैमाथि आधारित रहेर केन्द्रीय कमिटीको यो बैठक देहायका विषयहरूमा आफ्नो दृष्टिकोण प्रस्तावका रूपमा प्रस्तुत गर्दछ ।
१. मुलुकमा पछिल्लो अवधिमा विकसित असामान्य परिस्थितिका सम्बन्धमा नेकपा (एमाले) संवेदनशील, चिन्तित र गम्भीर छ । राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, शान्ति, विकास र समृद्धिको बाटो नै अनिश्चित भविष्य एवं सङ्कटको दिशातिर उन्मुख भइरहेको वर्तमान अवस्थामा केन्द्रीय कमिटीको यो बैठक मुलुकलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा फर्काउन सक्रिय भूमिका खेल्ने सङ्कल्प गर्दछ । त्यसका लागि सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध र अविचलित दृढताका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
२. सामाजिक सञ्जालको निर्बाध सञ्चालन, भ्रष्टाचारको विरोध र सुशासन लगायत विभिन्न माग राखेर न्भल–श् युवाहरूले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबाट नेकपा (एमाले) स्तब्ध छ । घटनामा परी जीवन गुमाउनु हुने युवाहरू एवं कत्र्तव्य पालनाको सिलसिलामा अराजक समूहहरूद्वारा बर्बर हत्या गरिनुभएका सुरक्षाकर्मी र नागरिकहरूप्रति पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्र्दै आफन्तको वियोगमा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
३. नवयुवाहरूले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनभित्र घुुसपैठ र दुरुत्साहन मार्फत् जसरी निहत्था युवाहरूको हत्या हुने स्थिति सिर्जना गरियो, यो सामान्य सुरक्षा कमजोरी मात्रै होइन भन्ने पार्टीको निष्कर्ष छ । तथ्यहरूले भदौ २३ गते कुनै न कुनै दुखद घटना घटाएर भदौ २४ गते देश दहन गर्ने सुनियोजित तयारी भइरहेको थियो भन्ने पुष्टि गर्छन् । यस घटनाको स्वतन्त्र, निष्पक्ष र गम्भीर छानबिन हुनुपर्छ, सबै तथ्यहरू बाहिर ल्याइनुपर्छ र संलग्न दोषीहरूलाई कार्बाही गरिनुपर्छ भन्ने माग गर्दछ ।
४. भदौ २४ गते सुनियोजित र शृङ्खलाबद्ध रूपमा गरिएको देश दहनको आपराधिक कृत्यको नेकपा (एमाले) निन्दा र भत्र्सना गर्दछ । राष्ट्रपति भवन, ऐतिहासिक सिंहदरबार, सङ्घीय संसद, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, सयौँ प्रहरी कार्यालय, अख्तियार लगायत संवैधानिक निकाय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, प्रदेशसभा र मुख्यमन्त्री कार्यालय लगायत प्रादेशिक संरचना, विभिन्न पालिका भवन र अन्य सरकारी कार्यालयमा आगजनी र ध्वस्त पार्ने गतिविधि कुनै स्वतःस्फूर्त घटना थिएन । बहुमूल्य र दुर्लभ अभिलेख, दस्ताबेज र लिखतहरू जलाएर खरानी बनाइएकोे छ । विभिन्न मिडिया हाउस, होटल, डिपार्टमेन्टल स्टोर, केबुल कार, गाडीका शोरुम, ब्याङ्क लगायत उद्योगी व्यवसायीहरूका खर्बौं मूल्यका सार्वजनिक र निजी सम्पत्ति सखाप पारिएको छ । राजनीतिक दलका कार्यालय, लोकतान्त्रिक आन्दोलनका अग्रणी नेताहरूका सालिक, स्मारक र आश्रम एवं नेता कार्यकर्ताका निजी सम्पत्तिमा आगजनी, तोडफोड तथा लुटपाट गरिएको छ । ठुलो मात्रामा प्रहरीका हतियार, गोेलीगठ्ठा र लजिस्टिक लुटिएको छ । जेल तोडेर १३ हजार भन्दा बढी कैदीबन्दीहरू भगाइएको छ । निर्दोष मान्छेहरूलाई घरभित्र जिउँदै जलाइएको छ । यी आपराधिक घटनाहरूको उद्देश्य एकै साथ मुलुकको लोकतान्त्रिक संरचना ध्वस्त पार्ने, अर्थतन्त्रको मेरुदण्ड भाँच्ने, समाजमा भय र त्रासको वातावरण बनाउँदै नागरिकहरूलाई निरिह तुल्याउने र क्रमशः असफल राष्ट्रतिर धकेल्ने हो भन्ने स्पष्ट छ । देशलाई माया गर्ने कुनै पनि नवयुवाबाट यस्तो काम हुन सक्छ भन्ने नेकपा (एमाले) लाई लाग्दैन र यो जेन्जीहरूबाट भएको होइन भन्नेमा पार्टी विश्वस्त छ । देशलाई दशकौँ पछाडि धकेल्ने यस अपराधको गहिरो, सूक्ष्म र निष्पक्ष छानबिन हुनुपर्छ, बाहिर देखिएका र पर्दाभित्रका अपराधीहरू समेतलाई कडा कानुनी कार्बाही गरिनुपर्छ भन्ने यो बैठक माग गर्दछ ।
५. यति गम्भीर, सुनियोजित र विभिन्न शक्ति केन्द्रहरू संलग्न घटनाको छानबिनका लागि सोही अनुरुपको दक्षता, विज्ञता र निष्पक्षता आवश्यक पर्दछ । तर सरकारले गठन गरेको छानबिन आयोगमा रहेका कतिपय व्यक्तिहरूको दुराग्रह, दूषित सोच र मनशाय सार्वजनिक भइसकेको छ । कुनै तथ्यले पुष्टि नगरे पनि निश्चित राजनीतिक नेताहरूलाई आरोपित गर्ने पूर्व योजना बोकेका व्यक्तिहरूबाट यति गम्भीर घटनाको यथार्थ बाहिर आउँछ भन्ने हामीलाई विश्वास छैन । तसर्थ, केन्द्रीय कमिटीको यो बैठक सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र र निष्पक्ष छानबिन समिति बनाउनुपर्छ भन्ने मान्यता राख्दछ । नागरिक स्तरबाट पनि यसको स्वतन्त्र छानबिन होस् भन्ने हाम्रो आग्रह छ । हाम्रो पार्टी आफै पनि समग्र घटनाहरूको सूचना र तथ्यहरू सङ्कलन गर्ने, तिनको विश्लेषण गर्ने र उपयुक्त समयमा विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
६. मुलुकको प्रमुख राजनीतिक पार्टी र लोकतन्त्रको प्राप्ति एवं रक्षाका लागि अग्रपङ्क्तिमा उभिएको पार्टी हुनुको नाताले नेकपा (एमाले) ताजा जनादेश लिने, आवधिक रूपमा जनअनुमोदित हुने र निर्वाचनको प्रतिष्पर्धामा सहभागी हुँदै जनादेश प्राप्त हुँदा सरकार सञ्चालन गर्ने एवं त्यसो नहुँदा जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने मान्यतामा अविचलित छ ।
तर निर्वाचनको कार्यादेश प्राप्त गरेको वर्तमान सरकार निर्वाचनको वातावरण बनाउनेतिर होइन, अनिर्वाचित सत्ता लम्ब्याउने दिशामा उद्यत् देखिन्छ । निर्वाचनको मूल पक्षका रूपमा दलहरूसँग सम्वाद, परामर्श र सहकार्य त परै छाडौँ, सम्पर्क समेत गर्न चाहिरहेको छैन । उल्टै निषेध र मुठभेडको बाटोमा हिँडिरहेको छ । नेताहरूलाई स्थान हद तोक्ने, राहदानी रद्द गर्ने, शान्तिपूर्ण कार्यक्रमलाई निषेध गर्ने, मिडिया ट्रायल गर्दै चरित्र हत्या गर्ने काम गरिरहेको छ । पार्टीहरूका र खास गरी हाम्रो पार्टीका अध्यक्षमाथि झुठा आरोपमा मुद्दा चलाउन र जसरी भए पनि गिरफ्तार गर्ने दुष्प्रयाशमा सरकार लागिरहेकै छ । सरकारको संरक्षणमा रहेका सन्देहास्पद पात्रहरू खुलेआम राजनीतिक नेताहरूमाथि भौतिक हमलाका लागि दुरुत्साहन गर्ने, पार्टीहरूलाई चुनावमा भाग लिन नदिने, उनीहरूले जिते परिणाम खारेज गर्ने र नेताहरूलाई विभिन्न मुद्दा लगाएर बाहिरै निस्कनै नदिने धम्की दिइरहेका छन्, तर सरकार मौन छ । प्रहरीबाट लुटिएका हजारौँ थान हतियार र गोलीगठ्ठा बाहिरै राखेर, हजारौँ कैदीहरूलाई खुलेआम हिँड्न र पुनः आपराधिक काममा लाग्न छुट दिने काम भइरहेको वर्तमान अवस्थामा राजनीतिक दलहरू कसरी निर्भयतापूर्वक जनता समक्ष जान सक्छन् ? मतदाताहरू निर्धक्कसँग मतदान केन्द्रसम्म पुग्न सक्छन् ? सरकार यी समस्याको समाधान गर्ने र निर्वाचनको आधार बनाउनेतिर होइन, मुलुकलाई बहुआयामिक सङ्कटतिर धकेल्ने उद्यत् देखिन्छ । कार्यादेश विपरीत अन्य मुुलुकहरूसँग मुलुकलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने तयारी गरिरहेको छ । राजदूतहरू फिर्ता गर्ने, नियुक्ति र बर्खासी लगायत तपसिलका विषयलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ । निर्वाचनको आधार बनाउनेतिर होइन, उल्टो बाटो हिँडिरहेको छ ।
निर्वाचन पनि हुन नसक्ने र प्रतिनिधिसभा पनि कायम नरहेको वर्तमान अवस्थाले राजनीतिक रिक्तता र अस्थिरताको भयावह अवस्था सिर्जना गर्ने हुनाले नेकपा (एमाले) केन्द्रीय कमिटीको यो बैठक असंवैधानिक र अलोकतान्त्रिक ढङ्गले विघटन गरिएको प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ भन्ने माग गर्दछ र त्यसले मात्रै मुलुकलाई लोकतन्त्रको बाटोमा फर्काउन सक्छ भन्ने स्पष्ट मान्यता राख्दछ ।
७. राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र र सामाजिक प्रबन्धहरू नै सङ्कटमा परिरहेको, नेपाली जनताले लामो सङ्घर्ष पश्चात् हासिल गरेका उपलव्धिहरू नै धरापमा परेको वर्तमान चुनौतीपूर्ण अवस्थालाई बोध गर्दै मुलुकलाई लोकतान्त्रिक बाटोमा फर्काउन संविधानका पक्षधर सबै शक्तिहरू, संसदमा रहेका दलहरू, सबै लोकतान्त्रिक र देशभक्त नागरिक तथा आम जनसमुदायलाई आपसी संवाद, सहकार्यका लागि यो बैठक आह्वान गर्दछ ।
८. मुलुकमा शान्ति सुरक्षाको अवस्था निकै नाजुक बनेको छ । ठुलो सङ्ख्यामा प्रहरीका हातहतियार र गोलीगठ्ठा लुटिएको एवं जेलबाट भागेका कैदीहरूको ठुलो सङ्ख्या अझै बाहिर रहेको अवस्थाले गर्दा जनता सन्त्रासमा छन् । सुरक्षाकर्मीहरूको मनोबल खस्किएको छ । संदिग्ध र विवादास्पद पात्रहरू सरकारी कार्यालय र व्यावसायिक प्रतिष्ठानहरूमा अनधिकृत ढङ्गले पसेर राष्ट्रसेवकहरू र व्यवसायीहरूलाई धम्क्याइरहेका छन्, कानुन हातमा लिइरहेका छन् । सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीशहरू एवं संवैधानिक अङ्गका प्रमुखहरू लगायतलाई राजिनामाका लागि धम्की दिँदै विधिको शासन, संविधानवाद र लोकतान्त्रिक पद्धतिमाथि खुलेआम हमला गरिरहेका छन् । एक किसिमको राज्यविहीनताको अवस्था सिर्जना भएको छ । सरकार यस्तो बेलामा राष्ट्रिय एकता, मेलमिलाप र सङ्क्रमणकालको व्यवस्थापन तिर होइन, थप तनाव सिर्जना गर्ने बाटोमा अग्रसर छ । नेकपा (एमाले) सबै नागरिकहरूलाई आफ्नो सुरक्षाका लागि टोलटोलमै सजग भएर टोल सुरक्षा समिति बनाउन, एकापसमा समस्या पर्दा सहयोगी बन्न, सुरक्षाकर्मीहरूको मनोबल उठाउन र अपराधीहरूको पहिचान र कार्बाहीमा सहयोग गर्न आह्वान गर्दछ ।
निहत्था युवाहरूको हत्या र देश दहनको भयावह अवस्था देखेका नवयुवाहरू लगायत धेरै नागरिकहरूमा यतिबेला अवशाद, निराशा र सन्त्रास बढिरहेको समाचार बाहिर आइरहेको छ । यस्तो अवस्थामा मनोसामाजिक परामर्श र अन्य उपायहरूद्वारा आम नागरिकहरूको मनोबललाई उच्च राख्न सम्बन्धित सङ्घसंस्था, विज्ञहरू र स्वास्थ्यकर्मीहरूलाई आह्वान गर्दछौँ ।
९. भदौ २४ गते पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली लगायत १७० भन्दा बढी पार्टी नेता कार्यकर्ताहरूको निजी निवासमा आगजनी, तोडफोड र लुटपाट भएको छ । यस क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै केन्द्रीय कमिटी सम्बद्ध कमरेडहरूको यस क्षतिमा सम–अनुभूति र ऐक्यबद्धता व्यक्त गर्दछ । कमरेडहरू यस्ता सबै प्रतिकूलतालाई सामना गर्दै उच्च मनोबलका साथ अगाडि बढ्नु हुने विश्वास व्यक्त गर्दछ ।
१०. यो बैठक भदौ २३ गते आफ्नै निवासमा साङ्घातिक आक्रमणमा पर्नुभएका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु देउवा र निवासमै जलाइनुभएकी पूर्व प्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार लगायत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । पार्टी कार्यालय लगायत निजी क्षति बेहोर्नु भएका विभिन्न राजनीतिक दल, नेता र व्यवसायीहरूप्रति दुःखमा सम–अनुभूति व्यक्त गर्दछ ।
११. सिङ्गो राष्ट्र नै असामान्य सङ्कटबाट गुज्रिरहेको यस घडीमा केन्द्रीय कमिटीको यो बैठक विगतमा नेकपा (एमाले) मा रहेर पार्टी निर्माणमा योगदान गर्नुभएका र विभिन्न कारणले अहिले पार्टी बाहिर रहनुभएका सबै कमरेडहरूलाई घर फर्किन आह्वान गर्दछ । कमरेडहरूलाई ससम्मान पार्टीमा स्वागत गर्न पार्टी तयार रहेको जानकारी पनि हामी सार्वजनिक गर्दछौँ ।
१२. नेकपा (एमाले) हमेशा सुशासन, पारदर्शिता र स्वच्छताको पक्षमा उभिँदै आएको छ । प्रश्न उठ्नासाथ सार्वजनिक ओहदाबाट राजिनामा दिएर अख्तियार प्राप्त राज्यका निकायलाई सहयोग गर्ने र अभियोजन हुनासाथ कानुनबाट सफाइ नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गर्ने हाम्रो परम्परा रहँदै आएको यथार्थ पुनः स्मरण गराउन चाहन्छौँ । भ्रष्टाचारको विरोधमा नवयुवाहरूको समेत आवाज उठिरहेको सन्दर्भमा हाम्रो पार्टी विगतमा राज्यका उच्च राजनीतिक र प्रशासनिक ओहदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्छ, चर्चामा रहेका सबै भ्रष्टाचारका विषयहरू र दोषी देखिएकाहरूलाई कानुन बमोजिम कार्बाही गरिनुपर्छ भन्ने कुरामा थप जोड दिन चाहन्छ । राज्यका अख्तियार प्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गरुन् भन्ने आग्रह गर्दै यस कार्यमा पार्टीको सहयोग रहने विश्वास दिलाउन चाहन्छौँ । यसो गरेर मात्र एकाध व्यक्तिहरूका गल्तीका कारण सबै भ्रष्ट हुन भनेर खडा गर्न खोजिएको भाष्य चिर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ । हाम्रो पार्टीको केन्द्रीय अनुशासन आयोगले पनि यस विषयमा गंभीरतापूर्वक काम अगाडि बढाओस् भन्ने केन्द्रीय कमिटी ध्यानाकर्षण गर्दछ । उपयुक्त समयमा हामीले सरकारमा रहँदा हामीले गरेका ऐतिहासिक काम, उपलव्धि र सफलतासँगै रहन गएका कमीहरूका बारेमा गम्भीर समीक्षा गरी व्यवस्थित प्रतिवेदन श्वेतपत्रका रूपमा जनता समक्ष ल्याउने विश्वास दिलाउन चाहन्छौँ ।
१३. नेकपा (एमाले) मुलुकको विकास र समृद्धिका लागि नव युवाहरूसँग अझ सार्थक संवाद गर्न, उहाँहरूका सरोकारलाई ग्रहण गर्न, सहकार्यका साथ अगाडि बढ्न सदैव तत्पर रहेको र तदनुरुप पार्टीका संरचनाहरूमा युवा सहभागिता अभिवृद्धि गर्न एवं सरकारमा रहँदा उद्यमशीलता, सीप विकास, उत्पादन र बजार शृङ्खलाको इकोसिस्टम निर्माण गर्न, स्टार्ट–अप, नवप्रविधि मार्फत् नवप्रवर्तनको विकास लगायत क्षेत्रमा विभिन्न चालिएका कदमको पुनः स्मरण गर्न चाहन्छौँ । युवाहरूको भविष्य लोकतन्त्र, शान्ति र स्थायित्वमा मात्रै रहेको कुरामा जोड दिँदै नवयुवाहरूलाई कुनै पनि हिंसा र विध्वंशबाट अलग रहन, तपाईंहरूको शान्तिपूर्ण आन्दोलनको दोहन गरेर देशलाई दहन गर्ने अपराधीहरूको पहिचान गर्न र राजनीतिक दलहरूसँग सार्थक संवादमा आउन आह्वान गर्दछौँ । अब पुनस्र्थापना हुने संसद मार्फत् तपार्इँहरूका मागहरू संवैधानिक बाटोबाट सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
१४. भर्खरै सरकारले गम्भीर सामाजिक–आर्थिक समस्याका रूपमा रहेको भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि गठित राष्ट्रिय भूमि समस्या समाधान आयोगलाई विघटन गरेको छ । यसले आवासको मौलिक हक कार्यान्वयन हुने पर्खाइमा रहेका ३ लाखभन्दा बढी भूमिहीन सुकुम्बासीहरू र दशकौँदेखि मर्कामा रहेका अव्यवस्थित बसोबासीहरूको भविष्य अनिश्चयको भुँवरीमा धकेलिएको छ । केन्द्रीय कमिटीको बैठक सरकारको यस जनविरोधी निर्णयको विरोध गर्दछ ।
१५. ७ अक्टोबर २०२३ मा हमास लडाकुहरूद्वारा अपहरणमा परी बन्धक अवस्थामा रहनुभएका विपिन जोशी बन्धक अवस्थामै मारिनुभएको दुःखद खबर सार्वजनिक भएको छ । नेकपा (एमाले) उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । इजरायल र हमास लडाकुहरूको द्वन्द्वमा द्वन्द्वसँग कुनै सरोकार नै नरहेका नेपाली युवाको यस हत्याप्रति गहिरो क्षोभ व्यक्त गर्दछ ।
१६. यही असोज तेस्रो साता गएको भीषण वर्षा र बाढी पहिरोले इलाम लगायत विभिन्न जिल्लामा ठुलो क्षति पुर्याएको छ । इलाममा मात्रै ३९ जना व्यक्तिको ज्यान गएको छ, कैयौँ व्यक्ति घाइते भएका छन् भने हजारौँ परिवार घरबारविहीन भएका छन् । त्यति ठुलो विपद्को पूर्वतयारी मात्रै फितलो देखिएको होइन, सरकार उद्धार, राहत र पुनर्निर्माणमा पनि निकै सुस्त र गैरजिम्मेवार देखिएको छ । केन्द्रीय कमिटीको यो बैठक प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनु हुने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । इलामलाई केन्द्रित गरेर राहत र पुनर्निर्माणको ठोस कार्यक्रम ल्याउन माग गर्दछ र पार्टी पङ्क्तिलाई पीडितहरूलाई राहत र सहयोगका निम्ति आह्वान गर्दछ ।
१७. यो बैठक ओमानमा जारी छनोट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई तेस्रो पटक टि– ट्वेन्टी विश्वकप प्रतिष्पर्धामा छनोट गराउन सफल सम्पूर्ण खेलाडीहरू, नेपाल क्रिकेट एसोसियन र सम्पूर्ण खेलप्रेमीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।
१८. यो बैठक नजिकै आइरहेका तिहार, नेपाल सम्बत् ११४६ र छठको उपलक्ष्यमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ । सिङ्गै देश र धेरै नागरिकहरूको परिवारमा समेत समस्या उत्पन्न भइरहेको यस असहज अवस्थामा आइरहेका यी चाडबाडहरूले हामी सबैमा सद्भाव, शान्ति र आशा जगाउन सकोस् भन्ने अपेक्षा गर्दछ ।
१९. पोलिटब्युरो सदस्य कमरेड पुरुषोत्तम पौडेलेकी आमा, पार्टीकी सतत् सहयोगी एवं आश्रयदाता रत्नकुमारी पौडेलको यही असोज २ गते ८७ वर्षको उमेरमा दुखद निधन भएको छ । यस बीचमा केन्द्रीय सदस्य कमरेड नवीना लामाका बुबा एवं पुराना वामपन्थी अभियन्ता माणिक लामाको निधन भएको छ । त्यसैगरी केन्द्रीय सदस्य कमरेड छक्कबहादुर लामाकी आमा नाकदेरमा लामाको हालै निधन भएको छ । यो बैठक मातृवियोगमा पर्नुभएका कमरेड पुरुषोत्तम पौडेल र छक्कबहादुर लामा एवं पितृवियोगमा पर्नुभएका कमरेड नवीना लामासहित शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ ।
२०. नेकपा (एमाले) सबै खाले निरङ्कुशतन्त्र, सशस्त्र द्वन्द्वकालको कहालीलाग्दो अवस्था, सामाजिक विद्वेषका अत्यन्त प्रतिकूल घडीहरू, प्राकृतिक विपत्ति एवं नाकाबन्दी र महामारी जस्ता असामान्य चुनौतीसँग जुझ्दै यहाँसम्म आइपुगेको हो । आजको प्रतिकूल अवस्था सधैभरि रहने छैन । यस्तो विषम परिस्थितिमा पार्टी केन्द्रीय कमिटी सिङ्गो पार्टी पङ्क्तिलाई अविचलित, दृढ र एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्दछ । जनतासँग नजिकको सम्बन्ध कायम गर्दै उहाँहरूका सुझाव, टिप्पणी र आलोचना ग्रहण गर्न र जनसम्बन्धलाई सुदृढ गर्न आह्वान गर्दछ ।
२१. असहज परिस्थितिमा पार्टी केन्द्रीय कमिटीको दशौँ बैठक आयोजना गर्न सहयोग गर्नु हुने सबै स्वयंसेवक कमरेडहरू, ललितपुर जिल्ला कमिटी र मातहत पार्टी पङ्क्ति, सुरक्षाकर्मीहरू, मिडिया र रामबाग महलप्रति केन्द्रीय कमिटी धन्यवाद व्यक्त गर्दछ ।