NP EN

काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालको सहकार्य कायम राख्न निर्देशन

३० साउन (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सहकार्यलाई कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको काठमाडौं विश्वविद्यालयको ९७औं सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पतालबीचको बेमेल आपसमा बसेर समाधान गर्न निर्देशन दिनुभएको हो । 
धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्थाबीच विवाद र अन्योल उत्पन्न भएको थियो । 
‘विश्वविद्यालयले तत्कालै नयाँ अस्पताल खोल्न र त्यसका लागि सरकारले लगानी गर्न नसक्ने भएकाले धुलिखेल अस्पतालसँगको सम्बन्ध र सहकार्यलाई कम्तीमा पाँच बर्ष राखिनुपर्छ’, प्रधानमन्त्रीले भन्नुभयो– त्यस अवधिभित्र विश्वविद्यलायले आफ्नै अस्पताल खोल्ने गरी तयारी गर्ने छ । यो लगायत नीतिगत विषयमा आगामी भदौभित्र विश्वविद्यालयको अर्काे सिनेट बैठक गरेर निर्णय गरिने छ । त्यही बैठकमा अन्य चुनौती र कठिनाइका विषयवस्तुलाई पनि छलफलमा राखिनेछ । 
सभामा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले विश्वविद्यालयले अस्पतालसँगको सम्बन्ध एकाएक तोड्न नमिल्ने विचार राखेपछि प्रधानमन्त्री ओलीले यस विषयमा उपकुलपति डा भोला थापालाई स्पष्ट पार्न समय दिनुभएको थियो । 
पूर्व उपकुलपति डा. सुरेशराज शर्मासहितको राय लिएर कुलपति तथा प्रधानमन्त्री ओलीले हाल दुवै संस्थाको सम्बन्ध कायम राख्न आवश्यक ठान्नुभएको हो ।
प्रधानमन्त्री ओलीले सिट क्षमता अनुसार विश्वविद्यलायमा विद्यार्थी भर्ना हुने अवस्था ल्याउन पनि सुझाव दिनुभयो । 
नेपाल सरकारको गत आर्थिक वर्षमा अनुमानभन्दा २४ प्रतिशतले राजस्व कम उठेको र खर्च डरलाग्दो गरी बढेकाले चाहेर पनि सरकारले विश्वविद्यालयलाई थप अनुदान दिन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । 
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईको उपस्थितिमा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युतप्रसाद वाग्लेबाट प्रस्तुत रु चार अर्ब ३० करोड ९० लाख बजेट पारित भएको छ । 
यस्तै सभाले आगामी २९औं दीक्षान्तका लागि विभिन्न सङ्कायबाट दीक्षित हुने दुई हजार ३१४ विद्यार्थीको ग्रेसलिष्ट पारित गरेको छ ।

सम्बन्धित