NP EN

एसइईमा ७० प्रतिशत उत्तीर्ण हुने गरी अनलाइन कक्षा सञ्चालन गर्ने प्रधानमन्त्रीको  घोषणा

१४ भदौ(२०८१), धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गर्नुभएको छ ।
धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको अवगत गराउनुुभयो । 
प्रधानमन्त्रीले भन्नुभयो– पचास प्रतिशतको हाराहारीमा मात्रै एसइईमा उत्तीर्ण हुनुु विद्यार्थीमाथिको चरम अन्याय हो । यस्तो अवस्थालाई अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि भनिसकेको छुु । बढी नम्बर दिएर नभई  विद्यार्थीले आफै राम्रो लेखेर धेरै उत्तीर्ण गराउने गरी हामीले काम थालिसकेका छौं । अहिलेको सरकार किन बनेको रहेछ भन्ने कुरा परिणाममा देखाउने गरी हामी काम गर्नेछौं ।
उहाँले सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने पनि स्पष्ट गर्नुभयो । 
गत वर्ष अनलाइन कक्षा दिएका कारण झापाबाट विद्यार्थीकोहरूको नतिजामा सुधार आएको उल्लेख गर्दै यस अभ्यासलाई देशभर विस्तार गरिने प्रधानमन्त्रीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विभिन्न सङ्कायमा दीक्षित विद्यार्थीलाई आफूूले प्राप्त गरेको ज्ञान–सीपलाई सही सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न आग्रह गर्नुभयो । 
उहाँले भन्नुभयो– अब तपाईंहरू संसारका जुुनसुकै कुुनामा गएर पनि आफ्नो क्षमता प्रदर्शन गर्न सक्नुुहुन्छ । तपाईंहरूका लागि संसार खुल्ला छ । तपाईंहरूलाई अभिभावकको लगानी र स्नेहको प्रतिफलका रूपमा यो सफलता प्राप्त गर्नुभएको छ, त्यसलाई सही सदुुपयोग गर्नुस्, सेवाभावको सुयोग्य नागरिक बन्नुस् । 
समारोहमा प्रधानमन्त्री ओलीले स्नातकोत्तर तहमा स्कुल अफ आर्टस्मा ४ सिजिपिए ल्याउने मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साईन्सबाट स्नातक तहमा ४ सिजिपिए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गर्नुभयो भने स्नातक तहमा मनिपाल कलेज अफ मेडिकल साइन्स पोखराका स्वीकार दाहाललाई भाइस–चान्सलर स्वर्णपदक, विराट मेडिकल कलेज विराटनगरकी रस्मिता पौडेललाई न्हुछेरत्न तुलाधर स्वर्णपदक, स्कुल अफ मेडिकल साइन्सेजमा अर्जुन दासलाई रमेशप्रसाद सिंह स्वर्णपदक र  स्कुल अफ एजुकेशनको रनिषा पौडेललाई महेशनाथ पराजुली स्वर्णपदक प्रदान गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईलगायत उपस्थित कार्यक्रममा विदेशी विद्यार्थीसहित दुई हजार ३१४ विद्यार्थी दीक्षित भएका थिए ।

हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ
यसैबीच आजै प्रधानमन्त्री ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको  ‘हाइड्रोजन कार’ र ‘रिफ्युलिङ’ प्रणालीको  शुभारम्भ गर्नुभयो । 
विश्वविद्यालयको २९ औं दीक्षान्तअघि  सो ‘हाइड्रोजन कार’ र ‘रिफ्युलिङ’ प्रणालीको शुभारम्भ भएको हो ।
कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी  नेपाल ल्याइएको हो । 
प्रधानमन्त्री ओलीले सङ्क्षिप्त मन्तव्य दिँदै  हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भई प्रदूषण कम गर्न सहयोग हुने बताउनुभयो ।

सम्बन्धित