‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित
१९ फागुन (२०८१), काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले लोकतन्त्र प्राप्तिका लागि गर्नुभएको अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाउनुभएका सपना र गर्नुभएको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो ।
पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरूका लेख–रचनासमेत समावेश गरिएको छ । सो पुस्तक अल्केमी प्रकाशनले प्रकाशित गरेको हो ।
कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
पुस्तक लोकर्पणपछि सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरूले जस्तो सुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।
उहाँले बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रूपान्तरण गर्ने लक्ष्य लिएको नेकपा (एमाले)लाई कुनै पनि राजनीतिक घटना परिघटनाले विचलित तुल्याउन नसक्ने बताउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो– एमालेसँग जनआधारित, अनुशासित एवं समर्पित कार्यकर्ता र सदस्यहरूको विस्तारित पङ्क्ति, अनुभवी, संयमित र दृढ सङ्कल्प भएको नेतृत्व तह तथा समृद्धि हासिल गर्न मार्गदर्शनका रूपमा मौलिक सिद्धान्त छ । मुलुकको राजनीतिक, सामाजिक, आर्थिक परिवर्तन गर्न एमाले अध्यक्ष प्रधानमन्त्री ओली रहनुभएको छ । यो पार्टीको महत्वपूर्ण योगदान दिइरहेको छ ।
अध्यक्ष ओलीले एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रिक, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ गर्न खेलेको भूमिकाको उहाँले सराहना गर्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले यो पुस्तकले प्रधानमन्त्री ओलीले आफ्नो सङ्घर्षमय जीवन र राजनीतिक यात्रालाई अघि बढाउने सन्दर्भमा देख्नुभएको महान सपना, गर्नुभएको अथक सङ्घर्ष र अगाल्नु भएको विशिष्ट सङ्कल्पलाई थप उजागर गरी जनमानससम्म पुर्याउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पुस्तकले प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने लक्ष्य साकार पार्ने दिशामा थप हौसला प्रदान गर्ने उहाँको विश्वास थियो ।
’महाभूकम्पले भत्काएको संरचना पुनःनिर्माण गर्न देखाउनुभएको सक्रियता र त्यसमा प्राप्त सफलता, कोरोना महामारी नियन्त्रण तथा प्रभावितको उपचारमा देखाउनुभएको प्रभावकारी व्यवस्थापन एवं आर्थिक समृद्धि हासिल गर्न उहाँ (एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली)मा भएको हुटहुटी मैले नजिकबाट अवलोकन गरेको छु’, पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो– प्रधानमन्त्री ओलीको प्रभावकारी कार्यक्षमता र महत्वपूर्ण अनुभवको मुलुकले भरपुर उपयोग गर्नुपर्छ । अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सिर्जनशील क्षमताका धनी प्रधानमन्त्री ओली एक अब्बल एवं लोकप्रिय राजनेता हुनुभएको छ ।
अध्यक्ष ओली समाजको दिशालाई बदल्ने सामर्थ्य राख्ने नेताः महासचिव पोखरेल
कार्यक्रममा नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अध्यक्ष एवं प्रधानमन्त्री ओली एउटा अनुशासित विद्रोहीका रूपमा समाजको दिशालाई बदल्ने सामर्थ्य राख्ने व्यक्ति भएकोे बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो–अनुशासित व्रिदोहको प्रतिनिधि पात्रका रूपमा अध्यक्ष ओली हुनुहुन्छ । राजनीतिक मूल्य मान्यता र सीमामा रहेर अगाडि बढ्यो भने उपलब्धि हासिल गर्न सकिन्छ भन्ने विषय अध्यक्ष ओलीको जीवन सङ्घर्षबाट सिक्ने पाठ हो ।
अध्यक्ष ओली अध्ययन र ज्ञानको भण्डारको रूपमा रहनुभएको बताउँदै महासचिव पोखरेलले उहाँ राजनीति गर्नेहरूका बीचमा पार्टीलाई डोर्याउन सामथ्र्य राख्ने हैसियत र सदैव विचारसहितको नेता रहेको बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई प्रधानमन्त्री ओलीले आत्मसात् गरेर अगाडि बढ्नुभएको छ । सङ्गठित विचार निर्माताको रूपमा पनि हामी बुझ्न सक्छौँ । धेरै जना राजनीतिमा सफल हुन्छन् तर जिम्मेवारी पूरा गर्नमा असफल भएको देखिए पनि उहाँ भने सफल रहनुभएको छ ।
प्रधानमन्त्री ओली समृद्ध नेपाल निर्माण गर्ने दृढ इच्छाशक्ति भएको राजनेताः आचार्य
पूर्वमन्त्री नीलाम्बर आचार्यले प्रधानमन्त्री ओली ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणाकार र योजनाकार मात्र नभई समृद्ध नेपाल निर्माण गर्ने दृढ इच्छाशक्ति भएको राजनेताका रूपमा रहनुभएको बताउनुभयो । उहाँले भन्नुभयो– अहिलेका पुस्ताले केपी ओलीमा भएको आत्मबल, हरेस नखाने, खटिराख्ने आचरण र निरन्तर अध्ययन गरिराख्ने बानी सिक्नुपर्छ । राजनीतिमा त यो झन् आवश्यक छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले पुस्तक अध्ययनबाट प्रधानमन्त्री ओलीको मुटु जस्तै हृदय पनि विशाल रहेछ भन्ने महसुस भएको बताउनुभयो । कलाकार प्रकाश सपूतले विभिन्न बहाना देखाएर पछि हट्ने युवा पुस्ताको बानी व्यहोरालाई सच्याएर प्रगतिका लागि अघि बढ्न प्रधानमन्त्री ओलीको जीवन प्रेरणादायी रहेको धारणा राख्नुभयो ।
त्यस अवसरमा वरिष्ठ पत्रकार कनकमणि दीक्षित, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाललगायतले प्रधानमन्त्री ओलीको व्यक्तित्व र कृतिमाथि केन्द्रित रहेर धारणा राख्नुभएको थियो । पुस्तकका सम्पादक पत्रकार गणेश पाण्डेले समाजका विभिन्न क्षेत्रका व्यक्तिले प्रधानमन्त्री ओलीलाई हेर्ने दृष्टिकोण तथा उहाँको नेतृत्वमा मुलुकले हासिल गरेको विकास र समृद्धिका यात्रासम्बन्धी विषय अन्तर्वार्तामा केन्द्रित रहेर पुस्तक तयार गरेको बताउनुभयो ।