NP EN

उपत्यका मेयर्स फोरमको भेटः प्रधानमन्त्रीद्वारा समन्वयका साथ काम गर्न आग्रह

२३ साउन(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यका मेयर्स फोरमका पदाधिकारीलाई सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र सम्वादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ ।
उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले ‘को भन्दा को ठुलो’ भन्ने ढङ्गले नभई केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्नेमा जोड दिनुभयोे ।
प्रधानमन्त्रीले भन्नुभयो– जनप्रतिनिधिहरू जनताका पक्षमा काम गर्न निर्वाचित भएका हौं । त्यसैले हामीले अहङ्कार र दम्भबाट निर्देशित हुनुहुन्न । जनताप्रति शालिन र विनयशील हुनुपर्छ । हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन । सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन् ।
उक्त फोरमले नेपाल विद्युत प्राधिकरणले स्थानीय तहका नाममा आफूखुसी सडक बत्तीको बिल पठाएर बक्यौता देखाउँदा समस्या आएको लगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको थियो । 
जवाफमा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायसँग बुझेर आवश्यक सहजीकरण गर्ने  विश्वास दिलाउनुभयो । उहाँले फोहोरमैला व्यवस्थापनको दीगो समाधान गर्नुपर्नेमा पनि सरकार सजग रहेको स्पष्ट गर्नुभयो ।  
फोरमका अध्यक्ष चिरिबाबु महर्जनले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्दै पारस्परिक सम्बन्ध र सहअस्तित्वबाट सहयोग आदानप्रदान गर्दै जनतालाई सेवा दिन आफूहरू प्रतिबद्ध रहेकाले केन्द्र सरकारबाट हुुनुपर्ने सहजीकरणमा प्रधानमन्त्रीको साथ माग्नुभएको थियो ।                                                                                                                                                            
हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले  एयर डाइनेष्टीको हेलिकोप्टर आज नुवाकोटमा दुर्घटना भएकोमा दुःख व्यक्त गर्नुभएको छ ।
सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहनुभएका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका साथ नगरप्रमुखहरूसँग प्रस्तुत हुँदै भेटघाटलाई संक्षिप्त बनाउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाइ दुर्घटना हुनु दुःखद् भएको बताउनुभयो । 

सम्बन्धित