NP EN

अर्थतन्त्रमा सकारात्मक नतिजा देखा पर्न थालेका छन्ः प्रधानमन्त्री

६ भदौ(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखापर्न थालेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पूँजीगत खर्चमा वृद्धि भएको जनाउनुभयो ।
घरजग्गा कारोवार क्रमशः बृद्धि हुँदै गएको र पूँजीबजारमा उल्लेखनीय सुधार आएको छ भने निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिका कारण यो सकारात्मक सङ्केत देखिएको उहाँले स्पष्ट गर्नुभयो । 
प्रधानमन्त्रीले भन्नुभयो– सरकारले जनतामा रहेको निराशा हटाउँदै राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानैपर्ने छ । राजनीतिमा अस्थिरता र जनतामा निराशा राखेर हामी ती काम पूरा गर्न सक्दैनौं । ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस मिल्नुपर्ने कारण यही हो ।
भ्रष्टाचारजन्य गतिविधिलाई निर्मूल पार्न हामीले लिएको शून्य सहनशीलताको नीति मौखिक प्रतिबद्धता या देखावटी होइन । हामीले भ्रष्टाचार नियन्त्रण गर्ने कामलाई क्षणिक प्रचारबाजीको विषय बनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया अपनाएरै टुङ्गोमा पुर्याउनुपर्छ । भ्रष्टाचार नियन्त्रण होहल्लाको विषयमात्रै बन्नु हुँदैन, कानुनी अनुसन्धान र नतिजामुखी हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौं ।  
संविधान समयानुकूल परिमार्जन गर्न सकिने
संविधान संशोधनसम्बन्धी सांसदहरूका प्रश्नको जवाफ दिँदै उहाँले कार्यान्वयनको अनुभव र जनताको इच्छा, आकाङ्क्षा र राष्ट्रको आवश्यकताका आधारमा राजनीतिक दलहरूको सहमतिमा संविधानमा समयानुकूल परिमार्जन गर्न सकिने स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो– संविधान संशोधन नै गर्न नसकिने दस्तावेज होइन । वर्तमान संविधानको प्रयोग गर्दै जाँदा प्राप्त भएको अनुभव र जनताको इच्छा, आकाङ्क्षा र राष्ट्रको आवश्यकताको आधारमा राजनीतिक दलहरूको सहमतिमा संविधानमा समयानुकूल परिमार्जन गर्न सकिने छ । 
संविधानमा संशोधन हामीले आठ वर्षसम्म यसको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा हुने हो । त्यसमा सरकारको मात्रै होइन, सम्मानित संसद्को पनि आँट चाहिन्छ । यो विषय एउटाको आँट अर्काेले हेर्ने विषय होइन, सबै मिलेर आँट गर्ने विषय हो । 
डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उद्योग चलाएरै उठाइने छ
प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनका बक्यौता एक रुपियाँ पनि नछाडेर उठाउने स्पष्ट गर्नुभयो । 
प्रधानमन्त्रीले भन्नुभयो– बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्न गरेर होइन चलाएर उठाइन्छ । विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ । यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइने छ ।
सामाजिक सञ्जालमा झुठा र अर्थहीन प्रचार
उहाँले सरकार र प्राधिकरणबीच कुनै मतभेद नभएको पनि स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको उल्लेख गर्दै विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुठो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो– उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, त्यहाँ रोजगारी पाएकाको रोजगारी बन्द हुन्छ, उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, व्यापार घाटा बढ्छ । बक्यौता उठाउन पनि त उद्योग चलाउनैपर्छ । औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुठो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु । खपतअनुसारको महसुल उठाएरै छोडिन्छ ।
प्रधानमन्त्री ओलीले नेपालको राजनीतिका खास खास मोडमा राजनीतिक परिवर्तनका लागि प्रमुख राजनीतिक दलहरूबीच सहकार्य हुँदै आएको स्मरण गर्दै राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न र जनतामा निराशा बढेको बेला आशा जगाउन राष्ट्रिय शक्तिहरू मिलेर अघि बढ्नुपर्ने आवश्यकताले प्रमुख राजनीतिक दल एक ठाउँमा उभिएको स्पष्ट गर्नुभयो । 
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरूको सञ्चालन गर्ने, यथाशीघ्र कीर्तिपुरको रङ्गशाला निर्माण गर्ने, खेलाडीहरूलाई प्रोत्साहन गर्ने, सरकारको सामाजिक दायित्वअन्तर्गत सडक बालबालिकामुक्त नेपाल बनाउने, मौद्रिक तथा वित्तीय नीतिमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने, बेरोजगारी कम गर्ने,  निर्माण भएका संरचनाहरूको पूर्ण उपयोग गर्ने जस्ता कार्यहरू सरकारले अघि बढाएको प्रधानमन्त्रीले जानकारी गराउनुभयो । 
‘भ्रष्टाचारजन्य गतिविधिलाई निर्मूल पार्न हामीले लिएको यसप्रतिको शून्य सहनशीलताको नीति मौखिक प्रतिवद्धता या देखावटी होइन । हामीले भ्रष्टाचार नियन्त्रण गर्ने कामलाई क्षणिक प्रचारबाजीको विषय बनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया अपनाएरै टुङ्गोमा पुर्याउनुपर्छ । भ्रष्टाचार नियन्त्रण होहल्लाको विषयमात्रै बन्नु हुँदैन, कानुनी अनुसन्धान र नतिजामुखी हुनुपर्छ,’ प्रधानमन्त्रीले भन्नुभयो– यस विषयमा मैले यस भन्दा पहिले पनि सम्मानित सदनमा आफ्नो धारणा राखिसकेको छु । अब माननीय मन्त्रीज्यूहरूसँग गरिने कार्यसम्पादन सम्झौतामा समेत यस विषयलाई स्पष्टरूपमा समावेश गर्ने तयारी गरिएको छ । भ्रष्टाचार नियन्त्रण कार्यमा कठोर रूपमा उत्रिन सम्पूर्ण नियमनकारी निकायहरूसँग समन्वय र सहजीकरण गरिने छ । 
रोजगारी सिर्जनाको वातावरणका लागि काम शुरू
कृषि, उद्योग, पर्यटन र ऊर्जा जस्ता नेपालको अर्थतन्त्रका महत्वपूर्ण क्षेत्रहरूमा उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नेगरी कार्ययोजना तर्जुमा गर्न सबै सम्बन्धित मन्त्रालयहरूसँग बसेर योजना बनाइएको बताउँदै प्रधानमन्त्री ओलीले आर्थिक वृद्धिका गतिविधिहरूमा सर्वसाधारण जनता संलग्न हुने वातावरण सिर्जना गरी रोजगारीका अवसरहरू खडा गर्ने वातावरण तयार गर्न सरकारले काम शुरू गरिसकेको जानकारी गराउनुभयो । 

सम्बन्धित