६ माघ (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिनुभएको छ ।
यही २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गराउने निर्वाचन आयोगको कार्यतालिका बमोजिम अध्यक्ष ओलीले आफू अघिल्ला निर्वाचनहरूमा निर्वाचित हुँदै आएको झापा– ५ बाट उम्मेदवार बन्नुभएको हो ।
अध्यक्ष ओलीलाई नेकपा (एमाले)ले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ भने प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ ।
नेकपा (एमाले)ले यस निर्वाचनलाई हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोडका रूपमा लिनुका साथै संविधान र लोकतन्त्रको पक्षमा प्रतिगमनविरूद्धको जनमत संग्रहका रूपमा लिएको छ ।
यसै सन्देशका साथ, अध्यक्ष ओलीले आफ्नो उम्मेदवारी दर्ता गराउनुअघि जेनजी आन्दोलनका नाममा विध्वंशकारीहरूबाट जलाइएका झापाका सरकारी तथा व्यक्तिगत घरलगायत भौतिक संरचनाहरूको निरीक्षण र पीडितहरूसँग भेट गरेर आफ्नो निर्वाचन अभियान आरम्भ गर्नुभएको छ ।
अवलोकनक्रममा अध्यक्ष ओलीले जेनजी आन्दोलनको आवरणमा मुलुकको प्रमुख संरचनामा आगजनी र तोडफोड गरिएको संरचना आफूहरूले बनाउने बताउनुभयो ।
देशको संरचना जलाएर÷भत्काएर÷तोडफोड गरेर नयाँ नेपाल नबन्ने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले इलाका प्रहरी कार्यालय दमक, दमक नगरपालिका कार्यालय, दमक नगर प्रमुख रामकुमार थापाको निवास तथा स्थानीय बुद्धि थापाको घरको अवलोकन गर्दै जलाएर र भत्काएर मुलुक बनाउने सपना देख्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो– जलाउन र भत्काउन सजिलो छ तर बनाउन धेरै गाह्रो छ ।
यसपाली नेकपा (एमाले)ले अगाडि सारेको सिङ्गो उम्मेद्वार सङ्ख्या मध्ये ५४.५४ प्रतिशत नयाँ अनुहार रहेका छन् ।
मधेस र सुदूरपश्चिममा ५०÷५० प्रतिशत र कोशीमा ५३.५७ प्रतिशत उम्मेद्वार नयाँ हुनुहुन्छ । सबैभन्दा धेरै नयाँ उम्मेद्वार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२.३० प्रतिशत हुनुहुन्छ । बागमती र गण्डकीमा यो सङ्ख्या क्रमशः ६०.६० प्रतिशत र ६१.११ प्रतिशत रहेको छ ।
निर्वाचनका लागि देशभर सबै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दर्तापछि पार्टीद्वारा केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष तथा निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापा ‘बादल’ले यो निर्वाचन सामान्य निर्वाचन नभई लोकतन्त्रको रक्षाका साथै देश बनाउने र जलाउनेबीचको विजय र पराजयको विशेष निर्वाचन भएको बताउनुभयो ।
नेकपा (एमाले) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, संवैधानिक सर्वोच्चता, कानुनी शासन, मानवअधिकारको संरक्षण र प्रवद्र्धन, सामाजिक न्यायसहितको समृद्धिका लागि नेकपा (एमाले) को नेतृत्वमा तय भएका राष्ट्रिय लक्ष्य र आकाङ्क्षा हासिल गर्न नेकपा (एमाले)बाट प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरेका उम्मेदवारहरूलाई आफ्नो अमूल्य मतदान गरी विजयी गराउन अपिल गरेको छ ।
पत्रकार सम्मेलनमा वितरित प्रेस नोटमा भनिएको छ–
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रत्येक नेपाली नागरिकको आत्मसम्मान, मर्यादा र स्वाभिमानलाई अक्षुण्ण राख्ने महान दायित्वप्रति दृढ प्रतिबद्ध रहंदै, संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार, सामाजिक न्याय तथा विश्वव्यापी रूपमा स्थापित लोकतन्त्रका आधारभूत मूल्य–मान्यताप्रति अटूट आस्था प्रकट गर्दै, स्वाधीन, समुन्नत र समाजवादउन्मुख अर्थतन्त्रको विकासमार्फत “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्ने दायित्व र जिम्मेवारीप्रति दृढ सङ्कल्प गर्दै, नेपाली नागरिकहरूले राजनीतिक, सामाजिक तथा आर्थिक रूपान्तरणका निमित्त समय–समयमा भएका विभिन्न आन्दोलनहरूमा अभिव्यक्त जनभावनाप्रति सचेत र संवेदनशील रहँदै, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता, शान्ति–सुरक्षा र अमन–चयन सुदृढ पार्ने प्रमुख दायित्व र जिममेवारीप्रति प्रतिवद्ध रहँदै देशभरका नेपाली नागरिकहरू, विशेषतः युवा वर्ग, निजी क्षेत्र, नागरिक समाज, किसान, मजदुर, विभिन्न पेशा व्यवसायमा संलग्न सबैप्रति संगठित, अनुशासित र व्यवस्थित रूपमा स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगले निर्भिक भएर आफ्नो अभिमत प्रकट गर्न हार्दिक अपिल गर्दछ । यस अवधिमा जनताको मतबाट निर्वाचित जनप्रतिनिधिमूलक संस्थामाथि गरिएको आगजनी र आक्रमण, राज्यको सम्पति र संयन्त्रमाथि पु¥याएको क्षति र विध्वंश, न्याय प्रणालीमाथि गरिएको आगजनी र ध्वंश, सुरक्षा संयन्त्र र प्रणालीमाथि पु¥याएको अतुलनीय क्षति र अपमान, कानुनी शासनको उल्लंघन र दण्डहीनतालाई प्रश्रय गर्ने, निजी क्षेत्र, सामुदायिक तथा निजी विद्यालय, संचारगृह र कर्पोरेट हाउसमा पु¥याएको क्षति नेपालको इतिहासमै कहिल्यै विर्सन नसकिने हिंसात्मक घटनामा रूपमा नेपाली समाजमा रहिरहनेछ । तसर्थ, नेकपा (एमाले) ले यस निर्वाचनलाई सामान्य आवधिक निर्वाचनको रूपमा मात्रै नहेर्न आदरणीय आममतदातासँग अपिल र अनुरोध गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, संवैधानिक सर्वोच्चता, कानुनी शासन, मानवअधिकारको संरक्षण र प्रवद्र्धन, सामाजिक न्यायसहितको समृद्धिका लागि नेकपा (एमाले) को नेतृत्वमा तय भएका राष्ट्रिय लक्ष्य र आकाङ्क्षा हासिल गर्न नेकपा (एमाले)बाट प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरेका उम्मेदवारहरूलाई आफ्नो अमूल्य मतदान गरी विजयी गराउन हार्दिक अपिल गर्दछ ।
विभिन्न बहानामा सिर्जना गरिएका हिंसाको विरुद्ध न्यायोचित शान्तिको स्थापना, अराजकताका विरुद्ध अनुशासन र सिर्जनात्मक कार्य, विध्वंशको विरूद्ध दिगो विकास र निर्माण, दण्डहीनताका विरूद्ध कानुनी शासनको पालना र प्रवद्र्धनका लागि यो निर्वाचन संविधान र लोकतन्त्रका पक्षमा हुने जनमत संग्रह हो ।
त्यसैले आउनुहोस्, यस अवसरमा नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने सबै प्रकारका षडयन्त्रहरुलाई परास्त गर्ने संकल्प गरौं र नेकपा (एमाले) लाई विजयी बनाऔं ।