१२ चैत (२०८१), ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
प्रगतिशील इन्जिनियर्स एसोसियसन नेपाल (पिन)को आज यहाँ आयोजित १०औँ महाधिवेशनमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले मजवुत संरचना निर्माणमा इन्जिनियरहरूको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो– हाम्रो देशमा पहाडी संरचना भएकाले पहिरो जाने समस्या छ, इन्जिनियरले यो परिवेशलाई बुझेर भौगर्भिक अवस्थाको मूल्याङ्कन गरी सुरक्षित संरचना निर्माणमा ध्यान दिनुपर्छ, खतरायुक्त स्थानमा संरचना बनाउनु हुँदैन, कानुनी कुरामा भएका समस्या सुधार गर्न सुझाव दिनुहोला, सरकारले त्यसमा ध्यान दिने छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्न लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा प्रतिपक्षको भूमिका रचनात्मक र सकारात्मक हुनुपर्ने बताउनुभयो । विसं २०४६ पछि देशमा विकासको गति तीब्ररूपमा अगाडि बढेको र आफू प्रधानमन्त्री हुँदा भूकम्पले देश थिल्थिलिएको अवस्थामा ‘विल्ड वेटर’को नारा दिएर पुनःनिर्माणमा जुटेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो– पूर्वाधारको विकास विना विकास सम्भव छैन, पूर्वाधारको विकासले बजारको सिर्जना गर्छ, उद्यमशीलता विकास गर्छ ।
‘बलियो पूर्वाधार निर्माण गर्न इन्जिनियरहरुको योगदानका लागि धन्यवाद छ, त्यसको प्रशंसा गर्न चाहन्छु’, प्रधानमन्त्री ओलीले भन्नुभयो– विमानस्थल बनिरहेका छन्, पुल र ट्रान्समिसन लाइनहरू बनिरहेका छन्, केही पनि भएन देश खत्तम भयो भन्ने हल्ला निराधार छ ।
नयाँ शिक्षा प्रणालीले नेपालको शिक्षालाई रोजगारविहीन बनाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । नेपाली विद्यार्थी विदेश गएर अध्ययन गरेको कुराप्रति चिन्ता लिनुभन्दा पनि नेपालमा उन्नत र उद्यमशीलता प्रवद्र्धन गर्ने शिक्षा दिने प्रणालीलाई खुलापनका साथ अवसरको सिर्जना गर्ने वातावरण दिनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । उहाँले उद्यम गर्नेलाई धरौटी लिएर हैन, योजनालाई विश्वास गरेर ऋण दिएर काम गर्ने अवसर सिर्जना गर्न सक्नुपर्ने उल्लेख गर्दै १५ वर्षसम्म ऋण तिर्ने वातावरण बनाउनुुपर्छ भन्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो– व्यवसाय गरेर ऋण तिर्नसक्ने वातावरण नभएपछि व्यक्ति निराश हुन्छ, त्यस्तो हुनुहुँदैन ।
प्रगतिशील इन्जिनियर्स एसोसियसनका अध्यक्ष ईन्जिनियर डा.सुरज लामिछानेले २०४७ सालमा ‘इन्जिनियरिङ स्टडी ग्रूप’मा स्थापित भएको सङ्गठन एमाले पार्टीको जनसङ्गठनको रूपमा क्रियाशील रहेको बताउनुभयो । उहाँले प्राविधिक रूपमा पार्टीलाई सहयोग गर्ने र प्राविधिकमैत्री नीति निर्माणका लागि सहयोग गर्ने एसोसियसनको नीति रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।